रौतहट । रौतहटको क्षेत्र नं. ३ नेकपा एमालेको उमेदवारबिहिन क्षेत्र बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले टिकट ल्याएर पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि सो क्षेत्र उमेदवार बिहिन बनेको हो । एमालेले उनलाई रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधी सभाको लागि टिकट दिएपनि सो परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
एमालेले अन्तिम समयमा आएर जनता समाजवादी पार्टी (जसपा)सँग गरेको तालमेलबाट असंतुष्टि व्यक्त गर्दै आइरहेका थिए ।उनले नेकपा एमालेले जसपा जस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएकाले आफूहरु एमालेको उम्मेदवार बनेर जसपालाई सहयोग गरेर जिताउन नसक्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
आफ्नो स्वतन्त्र उम्मेदवारीको निर्णय शुभचिन्तकहलाई सुनाउँदै नेता साहले रौतहटको जनताको इतिहास सही कामको लागि जोखिम मोल्ने भएकाले एमालेको टिकट आफुसँग भएपनि स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए । ‘म परिक्षण गर्न चाहन्छु रौतहटको जनताको सहानुभूतिम प्रति कति छ भनेर’ उनले भने , ‘रौतहटका जनता के चाहन्छन् त्यो देशलाई रौतहटका जनताले मुखले होइन निर्वाचनद्धारा देखाउनेछन् । मलाई पार्टीको टिकट होइन जनताको टिकट चाहिन्छ । ’
साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए । २०७४ प्रतिनिधिसभाको निर्वाचनमा साह रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनको उम्मेदवार बन्दै विजयी भएर सासंद बनेका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनले २७ हजार ७९९ मत ल्याएका थिए भन उनका निकटम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत ल्याएका थिए । नेकपा विभाजन एमालेमै बसेका उनलाई माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै कारवाही गरेपछि उनको सासंंद पद खारेज भएको थियो ।
उनीसँगै सो क्षेत्रमा प्रदेश सभा ‘क’ मा केशव राय चौधरी र ‘ख’ मा कुन्दन कुशवाहले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । कुशवाहलाई नेकपा एमालेले टिकट दिएको थियो भने चौधरीलाई दुईदिन अघि बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा प्रवेश गराएका थिए । प्रदेश ‘क’ निर्वाचन क्षेत्र गठबन्धन पश्चात जसपाको भागमा परेपछि चौधरी नेकपा एमालेको टिकटबाट वञ्चित भएका थिए । आफुले पार्टी प्रवेश गराएका चौधरीलाई पार्टीले जसपासँगको गठबन्धन पश्चात टिकट नदिएपछि साह एमाले नेतृत्वसँग रुष्ट बनेका थिए ।
साहलाई एमालेबाटै चुनाव लड्न एमालेका केन्द्रीय नेतृत्वले आग्रह गरेपनि अन्ततः स्वतन्त्र चुनाव लड्ने निर्णयमा पुगेका थिए ।






