टीकापुर । सुदूरपश्चिममा प्रमुख राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पुरानै नेताहरुलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांस क्षेत्रमा पुरानै नेतालाई उम्मेदवार बनाएको हो ।
सुदूरपश्चिमका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र तथा ३२ प्रदेश सभामा अधिकांश पुरानै नेतालाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । चुनावी मैदानमा उत्रिएका पुराना नेतालाई यसपटकको चुनावमा साख जोगाउने चुनौती थपिएको छ । नेकपा एमालेले १६ वटा प्रतिनिधि सभा क्षेत्रमध्ये ०७४ को चुनावमा जितेका ८ जनालाई पुनःउम्मेदवार बनाएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा ०७४ मा बामगठबन्धनबाट विजयी भएका एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्ट, निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट ०७४ मा विजयी भएका नारदमुनि राना, निर्वाचन क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी, २ मा झपट रावललाई उम्मेदवार बनाएको छ ।
यस्तै ०७४ को निर्वाचनमा दार्चुलाबाट विजयी भएका गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, कञ्चनपुर २ मा नरबहादुर धामी, अछाम १ मा यज्ञ बोगटी, कञ्चनपुर १ मा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री तारा लामा तामाङ, कञ्चनपुर ३ मा निवर्तमान सांसद निरुदेवी पाल, अछाम १ मा सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपट बोहरा, बाजुरामा कर्णबहादुर थापा र डोटीमा गौरी ओलीलाई एमालेले उम्मेदवार बनाएको छ । एमालेका अन्य उम्मेदवारपनि कोही ०७४ मा प्रदेश सभा जितेका र कोही समानुपातिकबाट सांसद बनेका नेता छन् । बझाङमा अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर र कैलाली १ मा तपेन्द्र रावललाई एमालेले उम्मेदवार बनाएको छ ।
यसैगरी नेपाली कांग्रेसले गठबन्धन गर्दा सुदूरपश्चिमका ९ प्रतिनिधि सभा क्षेत्रमध्ये अधिकांसमा पुरानै नेतालाई चुनावी मैदानमा उतारेको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट ७ आँै पटक निर्वाचन लड्दैछन् । दार्चुलाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, कञ्चनपुर २ मा पूर्वमन्त्री एनपी साउँद र कञ्चनपुर ३ मा रमेश लेखकलाई उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसले कैलाली ४ मा पूर्वमन्त्री बीरबहादुर बलायर, कैलाली १ मा पूर्वमन्त्री रामजनम चौधरी, बाजुरामा सहमहामन्त्री बद्री पाण्डे, अछाम २ मा पुष्पबहादुर शाह र कैलाली ५ मा डिल्लीराज पन्तलाई कांग्रेसले चुनावी मैदानमा उतारेको छ । यी सबै पूराना अनुहार हुन् ।
सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभामा ४ निर्वाचन क्षेत्र पाएको माओवादी केन्द्रले पनि पुरानैलाई नै स्थान दिएको छ । माओवादीले कञ्चनपुर १ मा ०७४ को चुनाव जितेकी पूर्वमन्त्री बीना मगर, बैतडीमा संविधानसभा सदस्य नरेन्द्र कुँवर, कैलाली २ मा संविधानसभा सदस्य भगत बडुवाल र कैलाली ३ मा कृष्ण चौधरीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, गठबन्धनमा प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्र पाएको नेकपा एकीकृत समाजवादीले डोटीमा ०७४ एमालेबाट जितेका प्रेमबहादुर आले, अछाम १ का श्रममन्त्री शेरबहादुर कुँवर र बझाङमा पूर्वमन्त्री भानुभक्त जोशीलाई उम्मेदवार बनाएको छ ।






