कांग्रेसमा सिट बाँडफाँटः देउवा ५६, कोइराला २४ र अन्यलाई २० प्रतिशत

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता नेतृत्व गरेको मुख्य दल नेपाली कांग्रेसबाट विभिन्न ६ गुटका ९१ नेताले टिकट पाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदा डा. शेखर कोइराला नेतृत्वको इतर पक्षले असन्तुष्टि जनाउँदै विद्रोहको चेतावनी दिएपछि देउवाले बन्दसूची सच्याउँदै आयोगमा पेश मात्रै गरेनन् प्रत्यक्षतर्फको सिट भागबण्डामा पार्टीभित्रका ६ गुटलाई मिलाउँदै उम्मेदवार बनाए ।

कांग्रेसले आगामी निर्वाचनमा सत्तामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी तथा सत्ता बाहिर रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चासहितको चुनावी तालमेल गरेको छ । यी दलबीच तालमेल हुँदा पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कूल १६५ सिटमध्ये कांग्रेसले ९१ सिट पाएको हो ।

कांग्रेसको भागमा परेको सिटमा संस्थापन पक्षले ५१ जनालाई टिकट दिएको छ । यो कांग्रेसले पाएको कूल सिट संख्या ९१ को ५६ प्रतिशत हो ।

यसैगरी, इतर समूहको नेतृत्व गरेका शेखर समूहले २२ सिट पाएको छ । सो सिट संख्या कूल सिट संख्याको २४ प्रतिशत हो ।

त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले ६, प्रकाशमान सिंह समूहले ५, रामचन्द्र पौडेल समूहले ४ र शशांक कोइराला समूहले ३ सिट पाएको छ । यी चारै समूहले गरी पार्टीले प्राप्त गरेको कूल सिट संख्याको २० प्रतिशत हिस्सा पाएका छन् ।

कांग्रेसको गत १४औं महाधिवेशनबाट कांग्रेस भित्र नयाँ गुट जन्म भएको थियो । त्यसबखत इतर समूहको नेतृत्व डा. शेखरले गरेका थिए भने सिंहले पनि सभापतिको उम्मेदवार बनेर नयाँ गुट जन्माएको सन्देश दिएका थिए । उनको समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचितसमेत बनेका थिए । यसैगरी सिटौला समूहले १४औं महाधिवेशनमा सभापतिमा देउवालाई नै साथ दिएको थियो भने पौडेल र शशांक मौन बसेका थिए ।

कांग्रेस सभापति देउवाले आगामी निर्वाचनका लागि टिकट वितरण गर्दा निर्वाचनको परिणामलाई असर नपर्ने गरी सबै पक्षलाई मिलाएको संस्थापन पक्षको दाबी छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले टिकट वितरणमा सबैलाई समेट्ने गरी सबैको सहमतीमा नै सभापतिले निर्णय लिएको बताए ।

‘टिकट वितरण गर्दा सबैलाई समेट्ने गरी सबैको सहमतीमा नै सभापतिले निर्णय लिनु भएको छ, यसले निर्वाचनको परिणामलाई पनि सकरात्मक बनाउनेछ,’ कांग्रेस प्रवक्ता महतले राजधानीसँग भने ।

प्रदेश १ मा कांग्रेसले पाएको १९ सिटमा संस्थापन पक्षबाट तेह्रथुममा सीता गुरुङ, पाँचथरमा भीष्मराज आङदेम्बे, धनकुटामा सुनिल थापा, ओखलढुंगामा रामहरि खतिवडा, इलाम २ मा डम्बर खड्का, झापा ५ मा खगेन्द्र पाण्डव अधिकारी, सुनसरी २ मा सिताराम मेहता, सुनसरी ३ मा विजयकुमार गच्छदार, सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की, उदयपुर १ मा नारायण खड्काले टिकट पाएका हुन् ।

यसैगरी, शेखर समूहबाट प्रदेश १ मा प्रतिनिधि सभातर्फ सोलुखुम्बुमा बलबहादुर केसी, मोरङ १ मा डिगबहादुर लिम्बु,मोरङ ३ मा सुनिल शर्मा, मोरङ ६ मा शेखर कोइरालाले टिकट पाएका हुन् ।

सो प्रदेशमा सिटौला समूहबाट सिटौलाआफैं र देउकुमार थेबेले टिकट पाएका हुन् भने सिंह समूहबाट झापा १ मा विश्वप्रका शर्मा र मोरङ २ मा सुजाता कोइरालाले टिकट पाउँदा शशांक निकट दिपक खड्काले पनि संखुवासभामा टिकट पाएका हुन् ।

मधेस प्रदेशमा संस्थापन पक्षबाट सप्तरी ३ मा दिनेशकुमार यादव, सिरहा १ मा पद्मनाराण चौधरी, सिरहा २ मा चित्रलेखा यादव, धनुषा ४ मा महेन्द्र यादव, महोत्तरी ४ मा महेन्द्रकुमार राय यादव, सर्लाही ४ मा नागेन्द्र कुमार राय, पर्सा मा २ अजयकुमार चौरासिया, पर्सा ३ मा सुरेन्द्रप्रसाद चौधरी र पर्सा ४ मा रमेश रिजालले टिकट पाएका हुन् ।

यस्तै सो प्रदेशमा शेखर समूहबाट सप्तरी १ मा रामदेव साह, सप्तरी ४ मा तेजुलाल चौधरी, धनुषामा २ मा रामकृष्ण यादव, रौतहट २ मा फिर्दोष आलम, रौतहट ४ मा देवप्रसाद तिमिलसिनाले टिकट पाउँदा सिटौला समूहका उमाकान्त चौधरीले बारा १ बाट टिकट पाएका हुन् ।

यसैगरी, बाग्मती प्रदेशमा संस्थापन समूहबाट ललितपुर १ मा उदयशमशेर राणा, भक्तपुर २ मा दुर्लभ थापा, रसुवामा मोहन आचार्य, सिन्धुली १ मा श्यामकुमार घिमिरे, सिन्धुपाल्चोक २ मा मोहनबहादुर बस्नेत, मकवानपुर १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, चितवन १ मा विश्वनाथ पौडेल, चितवन २ मा उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् ।

त्यस्तै, शेखर समूहबाट बाग्मतीको काठमाडौं ४ मा गगन थापा, नुवाकोट २ मा अर्जुननरसिंह केसी, धादिङ २ मा रामनाथ अधिकारीले टिकट पाउँदा रामेछापमा सो समूहका कान्छाराम तामाङले टिकट पाएका छन् ।

यसैगरी, सिटौला समूहबाट बाग्मती प्रदेशको काभ्रे २ मा शीवप्रसाद हुमागाइँ, काठमाडौं ५ मा प्रदीप पौडेल, काठमाडौं ६ मा भीमसेनदास प्रधान तथा सिंह समूहबाट काठमाडौं १ मा प्रकाशमान सिंह आफैंसहित काठमाडौं ३ मा सन्तोष चालिसे र काठमाडौं १० मा राजेन्द्रकुमार केसीले टिकट पाएका हुन् ।

गण्डकी प्रदेशमा संस्थापनबाट तनहुँ २ मा शंकर भण्डारी, पर्वतमा अर्जुन जोशी, मनाङमा टेकप्रसाद गुरुङ, कास्की १ मा किशोरदत्त बराल, नवलपुर २ मा विष्णुकुमार कार्की र म्याग्दीमा खमबहादुर गर्जुवाले टिकट पाएका छनन् ।

यसैगरी, सो प्रदेशमा शेखर समूहबाट स्याङ्जा १ मा राजु थापा, स्याङजा २ मा धनराज गुरुङ, गोरखा १ मा राजेन्द्र बजगाईँले टिकट पाउँदा तनहुँ १ मा पौडेल समूहबाट रामचन्द्र पौडेल आफैंसहित पौडेल पक्षकै योगेश गौचन थकालीले मुस्ताङमा टिकट पाएका छन् । नवलपुर १ मा शशांक कोइरालाले टिकट पाएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशमा नवलपरासी २ मा देवेन्द्र कँडेल नवलपरासी १ मा विनोद चौधरी, रुपन्देही ३ मा बालकृष्ण खाण, रुपन्देही ५ मा भरतकुमार शाह, कपिलवस्तु ३ मा अभिषेकप्रताप साह, अर्घाखाँचीमा पुष्पा भुसाल, बाँके २ मा सुदिपनरसिंह राणा, बाँके ३ मा किशोरसिंह राठौर, बर्दिया १ मा अरुण प्रकाशसिंह राठौर संस्थापन समूहका उम्मेदवार हुन् ।

यसैगरी, शेखर समूहबाट सो प्रदेशमा गुल्मी १ मा चन्द्र भण्डारी, रुपन्देही ४ मा प्रमोद यादव, पाल्पा १ मा ज्ञानबहादुर गाहाले टिकट पाउँदा शशांक समूहबाट दाङ ३ मा दीपक गिरि र कपिलवस्तु २ मा पौडेल समूहका सुरेन्द्र आचार्यले टिकट पाएका हुन् ।

कर्णाली प्रदेशअन्तर्गत संस्थापनबाट मुगुमा ऐनबहादुर शाही, सुर्खेत १ मा पूर्णबहादुर खड्का तथा शेखर समूहबाट सुर्खेत २ मा हृदयराम थानी तथा दैलेख २ मा पौडेल निकट दिक्पाल शाहीले टिकट पाएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहबाट डडेल्धुरामा शेरबहादुर देउवा, अछाम २ मा पुष्प शाह, कंचनपुर २ मा एनपी साउद, कंचनपुर ३ मा रमेश लेखक, कैलाली १ मा रामजनम चौधरी, कैलाली ४ मा वीरबहादुर बलायर र कैलाली ५ मा डिल्लीराज पन्तले टिकट पाउँदा शेखर समूहबाट बाजुरामा बद्री पाण्डे, दार्चुलामा दिलेन्द्र बडूले टिकट पाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरमा गठबन्धनले सार्वजनिक ग-यो चुनावी घोषणापत्र