खनाल र नेम्वाङलाई एमाले र कांग्रेस जिल्ला सभापतिको चुनौती


इलाम । मंसिर ४ गते हुने निर्वाचनमा उच्च ओहदाका नेता विरासत खोस्न जिल्लाका दुई सभापति चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं १ देखि छैटौंपटकसम्म लगातार एमालेबाट चुनाव जितेका खनाललाई पराजित गर्न नेकपा एमाले इलामका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा छन् ।

एमाले र माओवादी केन्द्र एकीकरणपश्चात् बनेको नेकपा विभाजनपछि एमाले छाडेका खनाललाई कांग्रेस र माओवादीको समर्थन छ । खनाल गठबन्धनको साथले चुनावी मैदानमा उत्रिएका छन् भने एमालेबाटै चुनाव जितेर प्रधानमन्त्रीसम्म भइसकेका खनाललाई यसपटक हराउने रणनीतिमा बस्नेत चुनाव लड्दै छन् । खनालले एमाले छाडेपछि एकीकृत समाजवादीबाट पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन् भने बस्नेत पहिलोपटक प्रतिनिधि सभाको चुनावी मैदानमा छन् ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेबाट इलाम नगरपालिकाका नगर प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल कर्माचार्यलाई पराजित गर्दे बस्नेत विजयी बनेका थिए । बस्नेतका सामु खनाललाई चुनाव जित्न सहज देखिदैन । गत स्थानीय निर्वाचनमा माइजोगमाई गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष पदका उम्मेदवार पराजित बनेपछि कांग्रेसले भोट दिएन भन्दै गरेको गाली र जिल्ला समन्वय समिति निर्माणमा एमालेसँग भएको तालमेलका कारण खनाललाई कांग्रेसले विश्वास गर्ने वातावरण टुटेको छ ।

एमालेका उपाध्यक्ष, एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्न नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनावी मैदानमा छन् । चारपटकसम्म लगातार चुनाव जितिरहेका नेम्वाङलाई हराउने रणनीतिमा खड्का चुनावी मैदानमा उत्रिएका हुन् । गठबन्धनका कारण १ नं क्षेत्रमा खनालले टिकट पाएपश्चात् खड्का क्षेत्र नं. २ बाट चुनाव लड्न टिकट पाएका हुन् । ठेकेदार रहेका खड्का नेम्वाङलाई हराउने दाउमा उत्रिए पनि आन्तरिक गुटका कारण खड्काले कांग्रेसलाई समेट्न नसक्ने बुझिएको छ । राजनीतिमा बौद्धिक जमात नभएको र पैसाको राजनीति गरेको आरोप लाग्ने गरेका खड्काले नेम्वाङलाई पराजित गर्न त्यति सहज छैन ।

क्षेत्र नम्बर १ मा गठबन्धनबाट एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमालेका महेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बू र मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचेले मनोनयन दर्ता गरेका छन् । त्यस्तै, निमातेन्जिङ शेर्पा, नेत्रप्रसाद रेग्मी र विक्रम पाण्डेले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका सुवास चन्द्र नेम्वाङ, गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुंगा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (बिपी)का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका मणिकुमार लिम्बू (पापो), नेकपा कम्युनिस्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गरेका छन् । त्यस्तै, जुनु माखिम र दीपेश बोहोराले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।

इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिंगी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन् । त्यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर १ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

epaper

ताजा समाचार

विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका