यो हो अस्ट्रेलिया

डच नागरिक विलियम यान्सन अस्ट्रेलियाको भूमिमा टेक्ने पहिलो युरोपियन हुन् । त्यो थियो सन् १६०६ को कुरा । डचहरूले यो विशाल भूमिलाई ‘न्यु हल्यान्ड’ नाम दिएका थिए । सन् १६८८ मा विलियम ड्याम्पियर नामका बेलायती नाविकले अस्ट्रेलियन भूमिमा पदार्पण गरेका थिए । १७७० मा अंग्रेज क्याप्टेन जेम्स कुकले रसिलो र मलिलो पूर्वी अस्ट्रेलियाको भूमि फेला पारे । कुकले त्यस जमिनलाई ‘न्यु साउथ वेल्स’ नामकरण गर्दै घोषणा गरेका थिए, ‘यो जमिन हाम्रो हो ।’ त्यस समयमा अनेकौं युरोपेली मुलुक संसार खोज्न निस्केका थिए । एसिया, अफ्रिका र अमेरिकास्थित विशाल भूमिहरूलाई कब्जा गरेको अंग्रेजी शक्तिले अस्ट्रेलियामा टेकेर यो जमिन हाम्रो हो भन्दै घोषणा गर्नु कुनै अनौठो कुरा थिएन ।

अंग्रेज नाविक म्याथु फ्लिन्डर्सको सुझावअनुसार यो भूमिले अस्ट्रेलिया (दक्षिणको देश) नाम पायो । युरोपियनहरू पुग्नुअघि यस महाद्वीपको सिंगो नाम थिएन । २ सय ५० थरी आदिवासीहरूले आआफ्नो इलाकाको छुट्टाछुट्टै नामकरण गरेका थिए । करिब ७० हजार वर्ष पुरानो जीवित सभ्यता रहेको भूमिलाई एउटा अंग्रेज क्याप्टेनले हाम्रो हो भनेर घोषणा गर्दा अस्ट्रेलिया महादेशमा त्यसको संगठित प्रतिकार गर्ने न त सरकार थियो, न त सेना नै ।

बेलायतीहरू कडा सजाय पाएका कैदीहरूलाई देशनिकाला गरेर टाढा पठाउने गर्थे । विशेष किसिमका अपराधीहरूलाई परिवार, समाज र देशबाट टाढा कुनै अज्ञात ठाउँमा लगेर बस्ती बसाल्ने गरिएको भूमिलाई ‘पिनल कोलोनी’ (बापतीहरूको बस्ती) भन्ने गरिन्थ्यो । बेलायत सरकारले सन् १७१८ देखि १७७५ सम्म करिब ५० हजार अंग्रेजलाई देशनिकाला (ब्यानिस्मेन्ट) गरेर एट्लान्टिक पारी अमेरिका पु¥याएको थियो । १७७६ मा अमेरिका स्वतन्त्र भयो । त्यहाँ कैदी पठाउन नपाएपछि बेलायतका जेलहरू भरिएर ठसाठस भए ।

त्यसै सिलसिलामा ब्रिटिस सरकारले कैदीहरूलाई अस्ट्रेलिया पठाउने निर्णय गर्यो । १७८८ मा पहिलो पल्ट करिब ८ सय कैदी बोकेका जहाजहरू न्यु साउथ वेल्सको ‘बोटानी बे’मा उत्रे । १७८८ देखि १८६८ सम्मको ८० वर्षमा जम्मा १ लाख ६४ हजार बेलायती कैदीलाई अस्ट्रेलिया पठाइएको इतिहास छ । अस्ट्रेलियामा बेलायती उपनिवेशीकरणको सुरुवात यही नै थियो । आफ्नो मातृभूमिबाट करिब २२ हजार किलोमिटर टाढा बिरानो भूमिमा निर्वासित गरिएका ‘बापतीहरूको बस्ती’ अहिले विश्वकै आकर्षणको केन्द्र भएको छ ।

यो त भयो उपनिवेशीहरूको नालीबेली । गोराहरूले ‘हाम्रो हो’ भनेर घोषणा गर्नुभन्दा करिब ७० हजार वर्षअघिदेखि नै यो विशाल महाद्वीपमा मानवको बसोबास थियो । संसारमा अन्यत्र विकसित भएका कतिपय सभ्यता कालक्रममा विलिन भएर गए । किन्तु, अस्ट्रेलिया महाद्वीपको सभ्यता भने अनवरत रूपमा अद्यापि जीवन्त छ । उपनिवेशवादी गोराहरूले ती आदिवासीलाई कहिल्यै पनि मानवको रूपमा हेरेनन् । आदिवासीको पनि भाषा, संस्कृति, साहित्य, कला र दर्शन होला भनेर वास्तासम्म भएन ।

अहिले आदिवासीहरूको संस्कृति र दर्शनलाई खोज्ने, बुझ्ने र सम्मान गर्ने क्रम सुरु भएको छ

लगातार असभ्य र जंगली भनेर हेला मात्र गरिरहने काम भयो । २ सय वर्षको औपनिवेशिक समयमा आदिवासीहरू ठूलो चपेटामा परे । उनीहरूका कतिपय भाषा र संस्कृति लोप हुँदै गए । निर्मम रूपमा मानवताको धज्जी उडाइयो । मूल निवासीहरूलाई सुरम्य हावापानी र उर्वर जमिनबाट खेद्ने क्रम अविरल चलिरह्यो । विरोध गर्नेहरूलाई निर्ममतापूर्वक मारियो । मौलिक हकको दुहाइ दिने र विश्वविद्यालयमा मानव अधिकार पढाउनेहरूको ‘मानव अधिकार’ गोरो रङमा सीमित भयो ।

सबैका लागि आफ्ना पूर्वज महान् हुन्छन् । सबैलाई आफ्नो इतिहासप्रति गौरव हुन्छ । सबैलाई आफ्नो संस्कृति, धर्म र भाषाको माया हुन्छ । सबैलाई आफ्नो मातृभूमि र माटोप्रति अनुराग हुन्छ । आदिवासीहरूलाई उनीहरूको प्यारो माटोबाट लखेटियो । सुनको प्रयोग गर्न नसिकेका उनीहरूका लागि त्यो ढुंगोसरह थियो । गोराहरू सुन सोहोर्दै गए र आदिवासीहरूलाई परपर ठेल्दै गए । खाना, निवास, कलम र वाङ्मयकै आधारमा आपूmलाई सभ्य र अरूलाई मूर्ख ठान्ने भाष्य तयार भयो । जोसँग कलम, तरबार र सञ्चार थियो, उसैको कुरा बिक्यो ।

अस्ट्रेलियन आदिवासीहरूसँग अथाह साहित्य र दर्शन थियो । तर, लिपिको आविष्कार नभएको हुँदा सबै श्रुतिमा आधारित । दपेटिएर झनै पर पु¥याइए तापनि उनीहरू आफ्नो संस्कृतिलाई त्याग्न तयार भएनन् । समय क्रममा गोराको जनसंख्या बढ्दै गयो । गोराहरू आधुनिक हतियारले लयस हुँदै गए । उता, आदिवासीहरू भने दिन प्रतिदिन कमजोर र लाचार । सन् १७८८ मा अस्ट्रेलियन आदिवासीको संख्या करिब साढे ७ लाख थियो । सोही वर्ष ८ सय कैदी र अन्य व्यक्तिसमेत करिब १ हजारबाट सुरु भएको अस्ट्रेलियाको जनसंख्या आज २ करोड ६० लाखभन्दा बढी छ । आदिवासीको संख्या भने अहिले पनि १० लाखभन्दा कमै छ ।

१९औं शताब्दीको अन्त्यदेखि २०औं शताब्दीको ७औं दशकसम्म अस्ट्रेलियन आदिवासीका बालबालिकालाई जबर्जस्ती परिवारबाट अलग गरेर चर्च र अन्य संस्थामा राख्न सुरु भयो । गोराहरूले कानुन बनाएरै त्यो अमानवीय कृत्य गरे । आदिवासीहरू आफ्नै संस्कृतिमा अडिरहे भने ‘सर्भाइभ’ गर्न नसकेर सखाप हुनेछन् भन्ने रिपोर्टको आधारमा त्यस्तो जघन्य अन्याय गरिएको थियो । करिब १ लाख बालबालिकालाई त्यसरी परिवारबाट खोसिएको अनुमान छ । ती बालबालिकालाई आफ्नो मातृभाषा बोल्न बन्देज थियो ।

आफ्नो संस्कृति अंगीकार गर्न मनाही थियो । उनीहरूलाई जबर्जस्ती क्रिस्चियन धर्म मान्न र एंग्लो अस्ट्रेलिययन संस्कृति अपनाउन बाध्य पारियो । शिल्प सिकाउने नाममा किशोरहरूलाई कृषि मजदुरी र किशोरीहरूलाई घरेलु नोकरसम्बन्धी कामको तालिम प्रदान गरियो । आदिवासी मजदुरहरू रक्सी र सुर्तिजन्य अम्मलका सिकार हुँदै गए । उनीहरू रक्सी र चुरोट ज्याला पाउँदा औधी खुसी हुन थाले ।

त्यसरी परिवारबाट अलग पारेर रुवाएको पुस्तालाई प्रोफेसर पिटर रिडले लुटिएको पुस्ता (स्टोलन जेनेरेसन) नामकरण गरेका छन् । ७० हजार वर्षदेखि बसोबास गर्दै आएका आदिवासीहरू आफ्नै भूमिमा अनागरिक बन्न पुगे । उनीहरू १९६२ सम्म मताधिकारबाट र १९६७ सम्म राहदानीबाट वञ्चित थिए । अहिले केही दशकयता उपनिवेशीहरूमा थोरै चेत खुल्दै गएको छ ।

अचेल आदिवासीको संस्कृति र दर्शनको खोजी हुन थालेको छ । श्रुतिका रूपमा हजारौं वर्षदेखि पुस्तान्तरण हुँदै आएका कथा र लोकोक्तिहरूको संकलन सुरु भएको छ । असभ्य र मूर्ख भनिएका आदिवासीहरूको जीवनप्रतिको दृष्टिकोण एवं वनस्पतिजगत् र प्रकृतिसम्बन्धी गहन दर्शन देखेर गोराहरू आश्चर्यचकित भएका छन् । पश्चिमको क्रिस्चियन दुनियाँमा एउटा ‘पुरुष ईश्वर’ र उनका पुत्रलाई केन्द्रबिन्दु बनाएर विकसित भएको पुरुषप्रधान क्रिस्चियन संस्कृतिमा नारीको कुनै स्थान थिएन । पश्चिमी दर्शनको उन्नयनमा नारीको कुनै योगदान छैन । किनकि, नारीलाई उजागर हुने मौका नै प्राप्त भएन । अस्ट्रेलियन आदिवासी संस्कृतिमा नारीको उच्च स्थान देखेर गोरी महिलाहरू विस्मित भएका छन् ।

गोराहरूले ‘हाम्रो हो’ भनेर घोषणा गर्नुभन्दा करिब ७० हजार वर्षअघिदेखि नै यो विशाल महाद्वीपमा मानवको बसोबास थियो

आदिवासी समाजमा परिवार या छिमेकमा केही काम पर्दा सहयोग गर्ने कार्यमा नारीकै प्रमुख भूमिका हुन्छ । कोही बिरामी पर्दा चिकित्सकको भूमिकामा नारी नै हुन्छिन् । कसैको मृत्यु हुँदाको दारुण शोकको बखतमा पनि नारीले नै सम्झाईबुझाई गरेर पीडाको घाउमा मलम लगाउने (हिलर)को काम गर्छिन् । आदिवासी दर्शनमा पनि पूर्वीय, युरोपीय र इजिप्सियन संस्कृतिमा जस्तै पृथ्वी–आकाश, दिन–रात, माता–पिता, प्रकृति–पुरुष, उत्थान–पतन आदिजस्ता द्वित्व जनाउने शब्दहरूको महŒव छ । सुख र दुःख जीवनका अभिन्न अंग हुन् भन्ने सहज चेतना छ ।

उनीहरू पनि हिन्दू दर्शनमा जस्तै पृथ्वीलाई आमा मान्दछन् । सुरुमा पूर्वीय सनातन दर्शनमा पनि सबै कुरा श्रुतिकै रूपमा पुस्तान्तर हुँदै आएका थिए । त्यसैकारण, वेदलाई श्रुति पनि भनिन्छ । आर्यहरू लिपिको आविष्कार गर्न सफल भएको हुँदा सबै श्रुति लिपिबद्ध भए । संस्कृत वाङ्मयको प्रचुर विकास र देशान्तरसम्म प्रसार भयो । तथापि, हिन्दू संस्कृतिमा कलियुगमा समुद्रयात्रा गर्न बन्देज लगाएर ज्ञान र सौर्यलाई कुवाको भ्यागुतो बनाइयो । उता, युरोपियनहरू भने ज्यान हत्केलामा राखेर सुख, समृद्धि र सम्पदाको खोजीमा डुंगा चढेर बहादुरीका साथ भवको खोजीमा लागे । युरोपियनहरूले भव र भाव दुवैको खोजी गरे भने पूर्वीयहरू भावमा मात्र निमग्न भए ।

सुविधायुक्त घर, पानीजहाज, उद्योगधन्दा, हवाईजहाज, आधुनिक पहिरन र खानाजस्ता भौतिक सुखका साधनले मात्र मनुष्यलाई खुसी पार्न सक्ने रहेनछ भन्ने कुरा स्वयं गोराहरूले प्रमाणित गरेका छन् । मानिस आखिर अथाह धन, जीवन र सम्पदा लुटेर पनि खुसी त हुँदो रहेनछ । आज कतिपय गोराहरू निद्राको औषधि खाएर सुत्न जान्छन् । परिवारहरू प्रायः विखण्डित छन् । मनमा चयन छैन । वैवाहिक जीवन सुखद छैन । आत्महत्याको प्रवृत्ति तीव्र छ ।

अस्ट्रेलियन आदिवासी संस्कृति र दर्शन पनि कोहीभन्दा कम थिएन । सबै कुरा बुझेका र उन्नत संस्कृति एवं वीरता बोकेका दक्षिण एसिया र चीन त पश्चिमाहरूको थिचोमिचोबाट जोगिन सकेनन् भने आफ्नै संसारमा रमाउने आदिवासी के जोगिन्थे । आज युगले केही कोल्टो फेरेको छ । १३ फेब्रुअरी २००८ का दिन अस्ट्रेलिया राष्ट्रले आपूmले गरेको अत्याचारप्रति ‘स्टोलन जेनेरेसन’सँग क्षमा माग्यो ।

अहिले आदिवासीहरूको संस्कृति र दर्शनलाई खोज्ने, बुझ्ने र सम्मान गर्ने क्रम सुरु भएको छ । संघीय सरकारदेखि ससाना कार्यालयसम्म हुने औपचारिक बैठकहरूमा देशका मूल निवासीप्रति सम्मान प्रकट गरेर कार्यक्रम सुरु गर्ने प्रचलन कायम गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 916 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साह मेयरमा निर्वाचित