सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । मंगलवार गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा समा–चकेवा उत्सव सम्पन्न भएको छ ।
समा–चकेवा उत्सव प्रदर्शनीमा उत्कृष्ट हुने क्लबहरुलाई परिस्कृत समेत गरिएको छ । परिस्कृत हुने क्लबहरु नवनिर्माण युवा क्लब खडकाटोल, श्री युनाइटेड युथ क्लब खडकाटोल, श्री जनज्योती युवा क्लब चन्द्रनगर रहेका छन् ।
प्रथम हुने नव निर्माण युवा क्लब खडकाटोललाई नगद १५ हजार तथा प्रमाणपत्र, दोस्रो हुने श्री युनाइटेड युथ क्लब खडकाटोललाई नगद १० हजार तथा प्रमाण पत्र र तेस्रो हुने श्री जनज्योती युवा क्लब चन्द्रनगरलाई नगद ७ हजार तथा प्रमाण पत्र प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले तराई मधेशमा सांस्कृती पर्व जोगाउन कुनै पनि निकायबाट कार्यक्रम नभएको हुदाँ पुरानो पुस्ताहरुबाट नयाँ पुस्तामा पनि हस्तान्तरण होस भन्ने उदेश्यका साथ समा–चकेवा उत्सवको आयोजना गरी उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको बताए ।
वडा नंं. ७ का स्थानिय ललिता चौधरीले गाउँपालिकाले पहिलो पटक समा–चकेवा उत्सव गरेर उदाहरणीय कार्य गरेको बताए । गाउँपालिकाले नै थारु जातीहरुको भेष भुषा झल्किने पोषाक दिएर समा–चकेवा उत्सव आयोजना गरेको हुदाँ आफुहरु उत्सायी बनेको अर्का स्थानिय महिला चनकिया चौधरीले बताइन् । समा–चकेवा पर्व द्वितीया तिथि अर्थ छठ पश्चात पूणिर्मा तिथिसम्म मनाएर अन्त्य गर्ने चलन छ ।
चन्द्रनगरमा पनि समा–चकेवा उत्सव पश्चात नाढिमन तालमा विधिवत रुपमा माटोको विभिन्न मुर्तिहरु बिसर्जन गरी सम्पन्न गरिएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।






