काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार आधा घण्टाका लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।
संघीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गरेको जनाइएको छ ।
पहिलो बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए ।
सांसद विश्वकर्माले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताएका थिए । कांग्रेसको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेको थिए ।
कांग्रेसले सोही विषयलाई लिएर बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।