सुदूरपश्चिममा सेनाले हवाई सुरक्षा दिने, म्यादीसहित १८ हजार प्रहरी मैदानमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल छन्। प्रदेशका नौवटै जिल्लामा गरी तीन सय ५२ मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सोही आधारमा प्रदेशमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेशमा ६ हजार ४ सय १० प्रहरी तथा ११ हजार ५ सय ५९ म्यादी प्रहरीसहित १७ हजार नौ सय ६९ जना परिचालन गरिएको छ। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उनीहरु मतदान स्थलतिर गएका हुन् । कर्मचारीसँगै सुरक्षाकर्मी पनि मतदानस्थल पुगेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रवक्ता एसएसपी भोला रावलले बताए ।

उनका अनुसार प्रहरी कार्यालय नजिक रहेका मतदान स्थलमा शुक्रबार सुरक्षाकर्मी जानेछन् भने अन्य क्षेत्रमा बिहीबार नै प्रहरी गएका छन् । ’अस्तिबाट प्रहरी पनि हिँडेको छ । धेरै ठाउँमा पुगेको पनि छ। नजिकनजिक बाँकी छन्,’ उनले भने ।

प्रदेशभित्र ४ सय ४ मतदानस्थल संवेदनशील र ४ सय ५ सामान्य गरी वर्गीकरण गरिएको छ। नेपाल सरकारको निर्वाचन सुरक्षा रणनीति अनुसार प्रदेशमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ । तीन हजारको हाराहारीमा सशस्त्र प्रहरी र सोही संख्यामा नेपाली सेना प्रदेशमा परिचालन गरिएको छ । नेपाली सेनाले स्थलसँगै हवाई सुरक्षासमेत दिने नेपाल सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

‘मतपत्र छपाई, ढुवानी लगाएतको सुरक्षा हाम्रो हो। नेपाल प्रहरीलाई बाहिर घेराबाट सहयोग गर्ने हो। हवाई गस्ती पनि हुन्छ। निर्वाचनको एक महिना पहिलाबाटै हामी खटिएका छौँ । निर्वाचनको दिन पनि हाम्रो सुरक्षा हुन्छ। हवाई सुरक्षा पनि दिन्छौँ । रिजव फोर्स पनि हुन्छ,’ उनले भने ।

सुदूरपश्चिममा दुई हजार १४६ मतदान केन्द्र कायम गरिएकोमा अति संवेदनशील ७१०, संवेदनशील ७७८ र सामान्य ६५८ छन्। मतदान केन्द्र तथा मतदानस्थलको गत विगतको राजनीतिक अवस्था, सुरक्षा चुनौति लगायतका आधारमा संवेनदशील, अति संवेदनशील र सामान्य गरी वर्गीकरणकै आधारमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

रावलले भने, ‘सेना र सशस्त्रहरु पनि हुन्छन् । आवस्यक्ताका आधारमा सेनाले सहयोग गर्ने हो । अहिलेसम्म कुनै असुरक्षा छैन। भण्डाफोरवाला पनि सुदूरपश्चिममा देखिएका छैनन् । उम्मेदवारहरु बिचमा हुने विवादलाई हामीले हेर्नेछौँ ।’

कर्मचारीसँगै मतदानस्थलमा गएका सुरक्षाकर्मीहरु मतपेटीकासँगै फर्किनेछन्। उनीहरुले कर्मचारी, निर्वाचन सामाग्री तथा मतपेटीकाको सुरक्षा गर्नेछन्। सुरक्षा अवस्थाका आधारमा सुरक्षाकर्मी बढाउन सकिने व्यवस्थासमेत मिलाइएको छ । प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कर्मचारीसँगै सुरक्षाकर्मी पनि मतदानस्थलतिर गएका छन् ।

सुदूरपश्चिम प्रदेशमा झण्डै १८ हजार म्यादीसहित नेपाल प्रहरी परिचालन गरिएको छ । प्रदेशमा तीन हजारको हाराहारीमा सशस्त्र प्रहरी र सोही संख्यामा नेपाली सेना निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ । प्रदेशमा उम्मेदवारहरुबिचको विवाद बाहेक अन्य सुरक्षा जोखिम नरहेको दाबी गरिएको छ । प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएको छ। कर्मचारीसँगै सुरक्षाकर्मीहरु पनि मतदानस्थलतिर गएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु