पोखरा । हिमालपारिको जिल्ला मुस्ताङबाट कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पहिलो जीत दिलाएको छ । मुस्ताङमा संघसहित प्रदेशसभामा समेत जीत हासिल गरेर कांग्रेसले क्लीन स्वीप गरेको छ । मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचन निर्वाचित भएका छन् । चुनावमा पराजित हुनै सबै निवर्तमान सांसद समेत हुन् भने जित्ने सबै ४० वर्ष मुनिका युवा हुन् ।
योगेश गौचनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै जीतको खाता खोलेका हुन् । गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गर्दा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो । ९ सय १४ अन्तर पारेर निर्वाचित योगेश मुस्ताङमा लामो समयसम्म एकछत्र राज गर्दै आएका रोमी गौचन थकालीका सुुपुत्र हुन् ।
तीनै सिट कांग्रेसलाई
२०७४ सालको चुनावमा भने प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १ सय ८१ मत ल्याएका थिए । कम मतान्तरले चुनाव हार्नेमा मुस्ताङ पनि पर्छ । तर, त्यो हारको बदला उनकै छोरा २९ वर्षीय योगेशले लिन सफल भएका हुन् । त्यसबेला एमालेले प्रतिनिधिसभासहित प्रदेशसभामा एकछत्र राज गरेको थियो ।
मुस्ताङ कांग्रेसमा अगुवा कार्यकर्ताको पलायन भइरहँदा कांग्रेसमा योगेशको जीतले उत्साहित बनाएको छ । हरेक जिल्लामा उम्मेदवारका लागि निकै रस्साकसी भएकोमा योगेशको प्रभावका कारण सहज टिकट मिलेको थियो ।
कांग्रेस मुस्ताङ सभापति आफ्नै बाबु रोमी भएकोले को उठ्ने भन्ने तत्कालीन समयमा निर्णय हुन सकेको थिएन । युवाहरुको आकर्षण बढ्दै गएको र युवाहरुमाझ लोकप्रिय हुँदै गएपछि अन्ततः योगेशको टिकटमा सहज मौका पाएका हुन् ।
मुस्ताङ कांग्रेसमा लामो समयमा काम गरेका प्रेम तुलाचन र उनका दाजु खगेन्द्र तुलाचन नातामा रोमीकै मामाका छोराहरु पर्दछन् । राजनीतिक विरासत बोकेको गौचन परिवार योगेशको हजुरबुवा जोगप्रसाद गौचन लामो समय प्रधानपञ्च हुनुभयो । बाबुको विरासतले छोरा वसन्त र रोमी कांग्रेस संगठनमा लागे । संसदीय निर्वाचन पटक पटक जितेर मन्त्री समेत बनेका रोमी २०७४ मा भने चुनाव हारेकोमा छोराको जीतले कांग्रेसलाई सहज बनाएको छ ।
नेविसंघबाट राजनीति सुरुआत गरेका योगेश भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका हुन् । बाबु पटक पटक सांसद एवं मन्त्री हुँदा योगेश कहिल्यै सिंहदरबार छिरेनन् । यसपालि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद हुन् । कांग्रेस लेते गाविसमा पार्टी सभापति रहेका योगेश हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।
उनी पढाइ र व्यवसायमा तल्लिन रहे । अहिले पनि उनी पोखरास्थित त्रिथुंगा ट्राभल र लेतेको कालोपानी गेस्ट हाउस चलाउँछन् । अब्बल पर्यटन व्यवसायी उनी अविवाहित हुन् । उनको यो जीतसँगै थासाङ गाउँपालिका–३ लेते कालोपानी हर्षित छ । मुस्ताङीको चाहनामा कुठाराघात नगर्ने बताउँदै निर्वाचित योशेले मतदाताको मत खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।
मुस्ताङ (क) मा नम्डु
मुस्ताङ प्रदेशसभा (क) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई २ सय ५५ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित गुरुङले १ हजार ४८ र विष्टले ७ सय ९३ मत पाएका थिए । इन्द्रधारा यसअघि प्रदेश सांसद हुन् । गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिका ४ को वडाध्क्षमा पराजित भएका थिए ।
मुस्ताङ (ख) मा विकल
प्रदेशसभा (ख) मा कांग्रेसका विकल शेरचन निर्वाचित भए । उनले निवर्तमान सांसद समेत रहेका एमालेका उम्मेदवार चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।
निर्वाचित शेरचनले २ हजार ७ सय २३ मत प्राप्त गर्दा गौचनले २ हजार ५ सय ६५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमाले मुस्ताङ कमिटी अध्यक्ष गौचन यसअघि २०७४ सालको चुनावमा समानुपातिकबाट गण्डकी प्रदेशसभा छिर्ने मौका पाएका थिए ।