सिन्धुली । अनुयायी तथा आनीहरूलाई बेपत्ता पारेको तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई खोज्दै प्रहरी टोलीले शुक्रबार बिहानैदेखि कमलामाई नगरपालिका–८ पैरेमा रहेको उनको आश्रम घेराउ गरी खानतलासी गरेको छ ।
सीआईबी, प्रदेश २ को दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको हो । तर, बम्जन आश्रममा नभेटिएपछि प्रहरीले उनका सहयोगी ज्ञानबहादुर बम्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
आश्रममा बम्जनलाई नभेटेपछि प्रहरीले बम्जनका मुख्य सहयोगी तोप्चन गुरुमार्ग गुरु ज्ञानबहादुर बम्जनलाई सोधपुछका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले बताए ।
बम्जनको आश्रममा प्रहरी करिब ६ घण्टा बसेको थियो । अहिले पनि बम्जनको आश्रम निगरानीमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले ४ बजेदेखि आश्रम घेराउ गरेको थियो । प्रहरीले आश्रमनजिकको जंगलमा लुकेको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ । बम्जन करिब २ वर्षदेखि सिन्धुली आश्रममा बस्दै आएका थिए । बम्जनविरुद्ध विभिन्न आरोपमा नुवाकोट, सिन्धुपाल्चोक, बारा, मकवानपुरलगायतका जिल्लामा मुद्दा दर्ता भएका छन् ।