गत वर्ष वायु प्रदूषणले आक्रान्त बनाउँदा दिल्लीमा संकटकाल घोषणा गरियो, त्यहाँको भन्दा प्रदूषणको मात्रा बढी यहाँ पनि छ । पूर्वीय दर्शनले प्रदूषणलाई नै पाप भनेको छ । यसबाट स्पष्ट हुन्छ हाम्रो स्वास्थ्यको स्थिति नाजुक छ । साँच्चै विश्वका ५० सहरमध्ये काठमाडौं प्रदूषणमा पहिलो श्रेणीमा छ । हालको अध्ययनले मात्रै नभएर विगतको अध्ययनले पनि बताएको कुरा हो यो । वातावरण विभागकै भनाइमा पनि देशमा वायु प्रदूषण उच्च छ । काठमाडौं मात्रै नभएर पूर्वको विराटनगर, पश्चिमको नेपालगन्ज पनि उस्तै छ । गत पुस २२ मा २४ घण्टाको प्रदूषण मापन गर्दा रत्नपार्कमा ४ सय ४१ यूपीजीएम पुगेको देखियो । यस्तो अंक १ सय बढी हुँदा खतराको संकेत हो भने विराटनगरमा ३ सय ६६, लपुको भैंसेपाटीमा ३ सय ३१ र जनकपुर, चितवन, हेटौंडा, दाङ, पोखराको स्थिति पनि त्यस्तै देखियो । त्यसो त मार्ग, पुस, माघमा हामीकहाँ वायु प्रदूषण बढी हुने समय नै हो तर विगतमा पानी पर्ने गर्नाले यसको असर केही कम हुन्थ्यो र यसपालि मौसम सुख्खा नै देखिएको छ ।
वायु प्रदूषणका कारण वृद्ध, बालबालिका, गर्भवती महिला बढी आक्रान्त हुने गर्छन् । दम रोग, फोक्सो, मुटु, मष्तिस्क, क्यान्सरको समस्या, दीर्घ रोगीका लागि त प्रदूषण घातक नै हो, झन् कोरोना र डिंगोपछि मानव स्वास्थ्य थप कमजोर छ । उद्योग, कल, कारखानाको धूलो, पुराना गाडी, मान्छेको भीड, खुला ढल, हाम्रो बाटोको अवस्थाले प्रदूषणको यथार्थ अवस्था देखिन्छ । चुनावी चहलपहलले, दलको सडक नाराले पनि प्रदूषण बढेको छ ।
सरकारले काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्य योजना २०७६ स्वीकृत गरेको हो । विद्युतीय गाडीमा भन्सार छुटलगायत केही सहुलियतका योजनालाई अघि सारेको हो । विभिन्न खाले प्रदूषणका कारण विश्व वातावरण बिग्रँदा मानव स्वास्थ्य भनौं आमजनजीवन संसारमै जोखिममा छ । वातावरणकै कारण मुटु रोग, स्ट्रोक, फोक्सो आदिका समस्याले बर्सेनि संसारमा ७० लाख मानिसले ज्यान गुमाइरहेका छन् । हामीले सास फेर्ने वायुमण्डलमा आँखाले देख्न नसकिने धुलाका कण हुन्छन् । विश्व स्वास्थ्य संगठनले पीएम २ः५ को मात्रा प्रतिघन मिटर २५ सम्म सामान्य मानेको छ तर संसारभरि उसले यसलाई १० मा झार्ने प्रयास पनि गरेको छ । हाम्रो सरकारी मापदण्ड ४० हो । तर, राजधानी काठमाडौं उपत्यकाको वायुको गुणस्तर स्वीकृत मापदण्डभित्र छैन । त्यसो त विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा बढीमै संसारका झन्डै ९३ प्रतिशत मानिस बाँच्न बाध्य छन् । विश्वका विभिन्न ९८ प्र्रदूषणयुक्त देशमध्ये नेपाल ८औं स्थानमा छ । विश्वकै ९५ प्रदूषित सहरमध्ये काठमाडौं सहर २२औं स्थानमा छ ।
वातावरण विभागका अनुसार वायुको गुणस्तर मापनका लागि काठमाडौं उपत्यकामा नै ७ स्थान र पोखरामा ३, पूर्वको दमक, झुम्का, धनकुटा, सिमरा, त्यस्तै सौराहा, लुम्बिनी, दाड, नेपालगन्जमा एक÷एक गरी २१ स्टेसन रहेका छन् । प्रदूषण नियन्त्रणकै लागि यूरो ४ का गाडी भिœयाउने, पाँच वर्षभित्र १० स्थानमा विद्युतीय रिक्सा सञ्चालन गर्ने, विद्युत् चार्जका लागि मोबाइल स्टेसन स्थापना गर्ने, इँटालगायत अन्य उद्योगका चिम्नीलाई प्रदूषण रहित बनाउने विभिन्न कार्य योजना पनि अघि सारेको हो, नेपालको संविधान २०७२ को धारा ३० ले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएअनुसार पत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । त्यस्तै, वातावरणीय प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबापत कानुनबमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ । विकाससम्बन्धी कार्य र वातावरणबीच सन्तुलन गरिने पनि उल्लेख छ । नेपाल आयल निगमले बेच्ने गरेको इन्धनबाट प्रदूषण कर भनी उपभोक्ताबाट लिएको अर्बौं रकम खर्च भएको छैन ।
काठमाडौं उपत्यकाका सबैजसो वितरित पानीको शुद्धता परीक्षण गर्ने हो भने प्रदूषण मिसिएको नै पाइन्छ
वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्नेहुन्छ । त्यसमध्ये वन जंगल पनि प्रमुख हो । सानैदेखि हामीले सुनेको विषय हो ‘नेपालको धन हरियो वन’ केही दशक यतादेखि हाम्रो वन सम्पदामा व्यापक कमी आएको छ । सन् १९५४ अर्थात् २०११ सालसम्म हाम्रो मुलुकको ४५ प्रतिशतभन्दा बढी भूभाग वन क्षेत्र थियो । २०३६ सालमा आइपुग्दा ४३ प्रतिशत, २०४३ सालमा आइपुग्दा ३७.४ प्रतिशत अर्थात् ४५ प्रतिशतबाट ओरालो लाग्यो । विगतमा आवास पुनर्वास वा अन्य कारणले वन फँडानी धेरै भए । भू–धरातल, माटो, हावापानीले तत्तत् क्षेत्रको वन वनस्पतिलाई प्रभाव पार्ने हुन्छ ।
पूर्वदेखि पश्चिमसम्म समानान्तर रहेको पहिले ४ कोससम्म फैलिएको तराई, भावर, चुरे, दुन पर्वतको १२ सय मिटरसम्मको उचाइमा रहेको उष्णप्रदेशीय जंगल चारकोसे वन जंगल हो, हाम्रो । यस क्षेत्रमा गर्मी बढी र वर्षा पनि बढी नै हुन्छ । यहाँका वन बुटेन मोटा, बलिया, अग्ला सदाबहार हराभरा हुन्छन् । साल, सिसौ, सिमल, खयर, ढड्डी, गोंज, सार्व आदि धैरै छन् । चुरेको माथिल्लो र मध्य भाग एवं महाभारतको तल्लो भागलाई पतझर जंगलले चिनिन्छ । १२ सय मिटरदेखि २१ सय मिटरसम्मको यसको क्षेत्र हो । यसको मथिल्लो भाग बढी चिसो हुने गर्छ, तुसारो पर्छ । धेरै पात पतिगंर झर्ने गर्छन् । कडा र नरम दुवै खालका वृक्ष छन् यहाँ साल, सल्लो, दिनदारु, ओखर, कटुस, चाँप, लाकुरी, पलाँस, पिपल, चिलाउने, गुराँस, वर, सिमल, उत्तीस, वाँस, चोप यहाँ धेरै छन् । माथि भनिएको सदावहार चारकोसे झाडीका रूखभन्दा यी कम गुणस्तरका छन् । सधैं चिसो भइरहने हिमपात भइरहने क्षेत्र हो यो । २ हजार १ सय १ देखि ३ हजार ३ सय ५० मिटरसम्मको उचाइ, महाभारतको माथिल्लो क्षेत्र, हिमाली क्षेत्रको तल्लो भाग यसमा पर्दछ । यहाँको माटो सेपिलो छ । नरम खालका रूख, सिमल, धुपी, उत्तीस, बाँस, गुराँस चिलाउने, वेतवास भोजपत्र धेरै पाइन्छन् यहाँ ।
तापक्रम अति न्यून, वर्षा पनि न्यून हुने क्षेत्र जसको उचाइ ३ हजार ३ सय ५१ मिटरदेखि ५ हजार मिटरसम्मको छ यस्तो हिमाली क्षेत्र यसमा पर्छ । बुल्क जलवायुका कारण, कडा, मोटा अनि अग्ला रूख यहाँ टिक्न सक्तैनन्, गुराँस, निगाला हल्का झाडीजस्ता रूख भने ३ हजार ६ सय मिटरको उचाइसम्म केही सप्रन्छन् । पुकीपूmल, जडीबुटी भने यस क्षेत्रमा रहने गर्छन् । ५ हजार मिटरभन्दा माथि भने हिमपात भइरहने हुनाले त्यस्ता क्षेत्रमा वन, वनस्पति हुँदैनन् । प्राकृतिक वातावरणको संरक्षण, पुनस्र्थापन र बुद्धिमतापूर्ण उपयोगमा जोड दिने, सहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसलाई बाँच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्ने मूल उद्देश्य लिएर विगतका योजना हाम्रासामु प्रस्तुत भएका थिए । त्यसो त छैठौं पञ्चवर्षीय योजना अवधिदेखि नै हाम्रो मुलुक वातावरणप्रति सचेत हुँदै आएको हो । हाम्रो मुलुकले दर्साएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दैै दिगो विकासको अवधारणालाई आत्मसात गर्दै आएको हो । वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो पहिले पनि । सहश्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेन्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिइएको हो । स्थानीयस्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, जिल्ला विकास समितिले योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्पm प्राथमिक तहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठनपाठन चालू भएर राष्ट्रियस्तरका उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका थिए ।
दम रोग, फोक्सो, मुटु, मष्तिस्क, क्यान्सरको समस्या, दीर्घ रोगीका लागि त वायुप्रदूषण घातक नै हो
काठमाडौंको धुवाँ, धुलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीको अवस्था हेर्दा जो कोहीलाई पीडा र छट्पटाहट हुन्छ । इँट्टाभट्टा कम भए पनि ढुंगा खानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या छ । ढुंगाखानीको कारण पानीको मुहान सुकेको, वनक्षेत्र अतिक्रमण भएको छ । गाउँमा पानीको मुहान सुक्नाले जनताको जीवन पीडाग्रस्त भएको छ । काठमाडौंकै मुटु मुख्य नदीमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौं थप जटिल हुनेछ । अव्यवस्थित सहरीकरण, सिमेन्टका खम्बाझैं भवन ती भवनमा रहने मानिसबाट निष्कासन भएको प्रदूषणको कारण काठमाडौंको स्रोतभूमिको पानी प्रदूषित बनेको छ । नदीमा अक्सिजन शून्य छ । हिउँदमा मात्र होइन वर्षायाममा पनि यी नदीमा अब पानी होइन ढल मात्र बग्छन् । अक्सिजन नहुँदा पनि बाँच्ने काइरोनोमिड र ओलिजोकेड जीव मात्र यहाँ बाँकी रहेको छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोग योग्य हुँदैन । सहायक नदी पनि सबै यस्तै हुने क्रममा छन् ।
८ अर्ब करोड मानिस रहेको यस विश्वमा ३५ करोड मानिस पानीको चरम संकटमा छन् । ब्राजिलपछिको विद्युतीय ऊर्जा स्रोत पानीमा दोस्रो स्थान ओगटेको नेपालमा असंख्य नदीनाला छन् । तर, पनि अत्यधिक विद्युत्को लोडसेडिङ तथा पिउने पानीको संकट यहीँ धेरै छ । काठमाडौं सहरका धारामा पानी चुहिन छोडेको छ, मेलम्ची भर्खरै झरेको व्यवस्थित नभइसकेको अवस्था छ । काठमाडौं उपत्यकाका सबैजसो वितरित पानीको शुद्धता परीक्षण गर्ने हो भने प्रदूषण मिसिएको नै पाइन्छ । विषाक्त प्रदूषणकै कारण सहरका बजारमा अत्यधिक बिक्रीवितरण हुने तरकारी एवं फलपूmलका कारण पनि यहाँका मानिसले आफ्नो आयु क्षीण गरिरहेका छन् । कृषिबालीको विविधता गुमेकाले आगामी दिनमा थप खाद्यसंकट हुने निश्चित छ ।
जैविक प्रजातिका दृष्टिले विश्वको ०.००३ र एसियाको ०.३ प्रतिशत भूभाग नेपालले ओगटेको छ । तराईको समथरक्षेत्र ६० मिदेखि सर्वोच्च शिखर सगरमाथा १९३ माइलसम्म र पूर्व पश्चिम ८ सय ८५ माइल भूभाग रहेको नेपालमा ५ किसिमको भौगोलिक वातावरण पाइन्छ । त्यस्तै, ३५ किसिमको वनक्षेत्र, १३ किसिमको हावापानीले गर्दा जैविक विविधताको प्रचुर सम्भावना पछि छ यहाँ । पूर्वको ताप्लेजुङदेखि पश्चिमसम्म लमतन्न पैmलिएको झन्डै ३ हजार किमि भूभागमा सधंै सेता हिमाल देखिन्छन् ।
दक्षिणतिर पैmलिएका समथर जमिन त्यसबीचमा पर्ने पहाड, खोला, थुम्का, उपत्यका, पतझर र कोणधारी जंगलले गर्दा मुलुकको शोभा थप रमणीय देखिएको छ । फलस्वरूप विश्वमान चित्रमै नेपाल सुन्दर रहेकाले विश्वकै लागि पर्यटकीय स्थल पनि बन्न पुगेको छ । विविध हावापानी र विविध जातिप्रजातिका जीवजन्तुको वासस्थान रहेका हाम्रो मुलुकको सौन्दर्यमा विगत केही सयम यतादेखि नकारात्मक परिदृश्य देखा पर्न थालेका छन् । ०.०८ डिग्रीका दरले तामक्रम वृद्धि हुन जानाले हिमालमा हिउँ कम भएको र समग्र नेपालमा वार्षिक ०.६ प्रतिशतले तापमान वृद्धि हुन जानाले हिमालीक्षेत्र र अन्य क्षेत्रमा गतिविधिमा असर पर्न गएको छ । बेला घर्कन लागिसकेको छ, सुन्ने कसले त अब ?






