खगराज अधिकारी : स्ववियु सभापतिदेखी मुख्यमन्त्रीसम्म

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष दाबी पेश गरेका थिए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा प्रदेश प्रमुख समक्ष सोमबार साँझ नै पद तथा गोपनीयताका सपथ लिए । सपथ समारोह सिमलचौरस्थित प्रदेश प्रमुख निवासमा भएको हो ।

नवनियुक्त मुख्यमन्त्री अधिकारीले सोमबार नै ४ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । नियुक्तिसँगै उनले एमाले, माओवादी र राप्रपाका ३ सदस्यलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन् । जसमा माओवादी केन्द्रका हरिबहादुर चुमान (तनहुँ), राप्रपाका पन्चराम गुरुङ (स्याङ्जा) र एमालेकी सीता सुन्दास (स्याङ्जा) ले मन्त्रीमा नियुक्त भएका हुन् । उनीहरुलाई नवनियुक्त मुख्यमन्त्री अधिकारीको उपस्थितिमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट ४ मंसिरको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी पूर्व गृहमन्त्री समेत हुन् ।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३३ जनाको समर्थन छ ।
केन्द्रमा एमाले–माओवादी लगायत दलको गठबन्धनको बैठकले गण्डकीमा एमाले नेतृत्वमा पूरै ५ वर्ष काम गर्ने भागबण्डा लगाएका हुन् । गण्डकीमा तेस्रो ठूलो दल माओवादीले सभामुख प्राप्त गरेको छ ।

२०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका खगराज अधिकारी लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन्

संघीयतापछि गण्डकीमा मुख्यमन्त्री बन्ने अधिकारी तेस्रो व्यक्ति हुन् । यसअघि एमालेकै पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको नेतृत्व गरेका थिए । हाल गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भने २७ सिट छ ।

को हुन् मुख्यमन्त्री अधिकारी ?

२०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका खगराज अधिकारी लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाइ गरेका उनी २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बने । स्ववियु सभापतिलाई राजनीतिको टर्निङ प्वाइन्ट मान्छन् ।

नेपालीमा स्नातकोत्तर गरेका उनको जन्म २०१८ सालमा कास्कीको वेगनासमा भएको हो । सादा राजनीतिक जीवन, कार्यकर्तामा अत्यन्तै सरल रुपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरु विकासप्रेमी नेताको रुपमा लिने गर्दछन् ।

पञ्चायतविरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले ५ वर्ष जेल जीवन बिताएका छन् । अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखी ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए ।

एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्य र पोलिटव्युरो सदस्य समेत बने । नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा १ मतले मात्रै पराजित उनी एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनेका थिए ।
तत्कालीन गण्डकी अञ्चल कमिटीको सचिव हुँदै संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए । त्यससमय तत्कालीन एमाले संसदीय दलका नेता रहेका मनमोहन अधिकारीले उनलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । उनी २०५६ र २०६४ सालको निर्वाचनमा उम्मेदवार बने पनि पराजित भए ।

२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनेका अधिकारीले नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए । आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयको वेथिति चिर्न सफल बनेका उनी सफल स्वास्थ्यमन्त्रीको रुपमा परिचित छन् ।

नेपालको संविधान जारी भइसकेपछि २०७३ सालको प्रतिनिधि सभामा कास्की १ बाट करिब १४ हजार मतान्तरले निर्वाचित अधिकारी एमालेको संसदीय दलको प्रमुख सचेतक बनेका थिए ।

केपी ओली प्रधानमन्त्रीको पालामा उनी २ साताको लागिमा मात्र गृहमन्त्री नियुक्त भएका थिए । गएको ४ मंसिरको चुनावमा उनी कास्की क्षेत्र १(१) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्रीको बाटो खोलेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप