अनुदान दुरुपयोगको भद्धा नमुना : २८ लाखको कागती वागवानी सुख्खा डाडोमा परिणत

गुल्मी । सरकारी रकमको दुरुपयोग हुनु हाम्रो देशमा कुनै नौलो बिषय होइन् । सरकारले दिएको अनुदानलाई व्यक्तिगत झै सम्झेर खल्ती भर्ने प्रवृत्तिले नागरिकले तिरेको करको दुरुपयोग मात्रै भएको छैन, सरकारप्रति नागरिकको वितष्णा समेत पैदा भएको छ । यसैको एउटा उदाहरण हो, गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्ग ढुंगेदेउरालीस्थित कागती वागवानी ।

नामै ढुंगे–देउराली, न मल छ, न जल । तर, यही ठाउँलाई वागबानी बनाउने भन्ने प्रस्ताव पत्याएर प्रदेश र स्थानीय सरकारले पैसा खन्याए । तर अहिले उक्त वागवानी सुख्खा डाडोमा परिणत भएको छ । ०७५ मा लुम्बिनी प्रदेश सरकारको १३ र छत्रकोट गाउँपालिकाको १५ लाख गरी कुल २८ लाख बिनियोजन भएपछि ढुंगेदेउरालीमा वागवानी निर्माणको काम अगाडी बढ्यो । पालिकाबाट बिनियोजन भएको रकमबाट काम गर्न नसकेर दुई लाख भन्दा बढी रकम मात्रै निकासा भयो ।

ढुंगेउरालीको एक सय रोपनी जग्गामा एक हजार ७५० खाडल खनियो । पहिलो चरणमा २५० र दोस्रो चरणमा एक हजार पाँच सय गरी कुल एक हजार ७५० बिरुवा लगाइयो । बिरुवा लगाएको झण्डै तीन बर्षपछि कागती फुल्ने समयमा वागवानी भने उजाड बन्दै गएको छ । मलजल नपाएर बिरुवा सुक्दै गएका छन् । अहिले पनि ५० भन्दा बढी बिरुवा जिवित छैनन् । ति पनि स्याहार नपाएर सुक्ने अवस्थामा छन् । वागवानीका कागतीलाई झार, घाँस, धाइरो र अन्य बोट–विरुवाले ढाकेको छ ।

गौचरणको लागि सार्वजनिक बनाएको जग्गा थियो

कागती लगाएको जग्गा पहिले आत्मबोध माध्यमिक विद्यालयको स्वामित्वमा थियो । पछि स्थानीयले गौचरणको लागि चन्दा उठाएर विद्यालयलाई रकम बुझाई उक्त जग्गालाई सार्वजनिक बनाए । तर अहिले उक्त जग्गामा स्थानीयले न त कागती नै देख्न पाएका छन्, न त गाई–बाख्रा नै चराउन । ‘पहिले–पहिले गाई चराउने ठाउँ थियो, तर अहिले न गाई–बाख्रा चराउन मिल्छ, न त कागतीले नै फल दिएका छन् ।’ स्थानीय जीवलाल न्यौपानेले भने, ‘सरकारी रकमको दुरुपयोग गरेका छन् ।’ विद्यालयका लागि आफुले समेत चन्दा दिएर उक्त जग्गा सार्वजनिक गराएको सम्झदै उनले गाउँका केही ठुला भन्नेहरुले विकासको नाममा विनाश गरेको आरोप लगाए ।

अर्का स्थानीय लोक बहादुर नेपालीले सुख्खा डाडोमा गाई–बाख्रा चराउँदा समेत समितिले जरिवाना तिराएको गुनासो गरे । ‘कृषिको नाममा लाखौँ रकम दुरुपयोग भएको छ, तर यस विषयमा बोल्ने कोही छैनन् ।’ उनले भने, ‘वागवानीमा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको छ ।’ स्याहार–सुसार नपाएपछि बिरुवा सुक्दै र हराउदैँ गएको नेपालीले बताए । अर्की ६० बर्षिया डिलकुमारी रानाले विरुवा लगाएपछि स्याहार–सुसार नहुँदा बिरुवा मरेर गएको बताइन् । ‘विरुवा लगाएपछि स्याहार नै भएन ।’ उनले भनिन्, ‘ढुंगेडाडो खनेर राज्यको पैसा मात्र सकियो ।’

वागवानीमा सिँचाईको लागि पोखरी बनाइएको छ । पोखरीमा पानी पनि छ । कर्मचारी बस्न आवास पनि बनाइएको छ । तर न त पोखरीको पानी बिरुवासम्म पुगेको छ, न त बनेको भवनमा कुनै कर्मचारी नै बसेका छन् ।

०७६ मा रकम दुरुपयोगको बिषय बाहिरिएपछि लुम्बिनी प्रदेशको संसदीय अनुगमन समितिले अनुगमन समेत गरेको थियो । अनुगमन समितिका तत्कालिन संयोजक एवम् गुल्मी–१ ‘ख’ का निर्वतमान सासंद कमलराज श्रेष्ठले ढुंगेदेउराली कागती खेतीको लागि उपयुक्त ठाउँ नभएको बताए । उक्त ठाउँमा स्टिमेट गरेअनुसारको विरुवा नभएको, ठाउँ पनि उपयुक्त नभएको, रकमको दुरुपयोग भएको जस्ता बुदाँ समेटेर प्रतिवेदन बुझाएको श्रेष्ठले बताए ।

समितिद्धारा कमजोरी स्वीकार

बागवानी उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गोडमेल र स्याहार नभएको बिषय स्वीकार गरे । ‘रकम अभावले कर्मचारी राख्न सकिएन, जसले गर्दा सोचेजस्तो काम भएन ।’ अध्यक्ष पौडेलले भने, ‘एउटा बिरुवालाई बार्षिक लाग्ने खर्चका आधारमा बजेट बिनियोजन गरिदिन भनेपनि त्यो सम्भव नभएकोले योजना नै अलपत्र जस्तो भयो ।’ वडाध्यक्ष रामप्रसाद कडेँलले वागवानीको संरक्षणको लागि यो बर्ष अढाई लाख बिनियोजन गरेको बताए । ‘कागतीबाट प्रतिफल पाउन सके हाम्रो गौरव हुने थियो ।’ उनले भने, ‘सकेसम्म संरक्षण गर्ने प्रयास गर्छौ ।’

तपाइको प्रतिक्रिया
(Visited 580 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भक्तपुरमा चुनावी चहल पहल बढ्यो