मूल्यवृद्धि नियन्त्रणको आवश्यकता

दैनिक उपभोग्य खाद्यान्नको अनियन्त्रित मूल्यवृद्धिलाई यो सरकारले पनि नियन्त्रण गर्न नसक्दा आम उपभोक्ता ठूलो मारमा परेका छन् । दैनिक तरकारीको मात्र होइन, अन्य खाद्यवस्तुको पनि मूल्यवृद्धि भइरहेको छ । बजारमा अत्यावश्यक खाद्यवस्तु चामल, चिउरा, खाने तेल, घिउ, दाल, गेडागुडी, तरकारी, दूध, पानीलगायतका दैनिक उपभोग्यवस्तुको भाउ दिनप्रतिदिन बढिरहेको देखिन्छ । जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिको व्यवस्था गर्ने भनिए पनि नयाँ बनेको सरकारले समेत मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा आमउपभोक्ता नराम्रोसँग पिल्सिन पुगेका छन् ।

आमउपभोक्ताको चुल्हो महँगीका कारण प्रभावित भएको छ र यसमा सरकार मूकदर्शक बनेर हेरिरहेको प्रतीत हुन्छ । गतवर्षको तुलनामा यस वर्ष जनताहरू झन् नराम्रोसँग मूल्यवृद्धिको मारमा परेका छन् । विगतमा पाँचदेखि १० प्रतिशत मूल्यवृद्धि हुने गरेकोमा यस वर्ष खाद्यान्नमा ३० प्रतिशतसम्म मूल्यवृद्धि हुनपुग्दा पनि सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि कुनै प्रभावकारी पहल चाल्न सकेको छैन ।

दैनिक उपभोग्य वस्तुको अप्रत्याशितरूपमा मूल्यवृद्धि भएका कारण सर्वसाधारणलाई जीवनयापनमा ज्यादै समस्या परेको हो । पछिल्लो समय बजारमा विभिन्न उपभोग्य सामानको मूल्य आकासिएको छ भने जताततै विचौलियाका कारण उपभोक्ता मारमा परेका छन् । बजारमा खुलमखुला लुट मच्चिएको छ । अनुगमन गर्ने निकाय मौन छ । अनुगमन भए पनि त्यो ज्यादै कमजोर र प्रभावकारी नबनेका कारण जनताहरू कालोबजारी र महँगीको मारमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशकले बजार अनुगमन गर्दा खासै मूल्यवृद्धि नभएको बताएका छन् तर राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष भने अहिले खाद्यान्न, तरकारी, पानी, फलफूललगायतमा अस्वाभाविकरूपमा मूल्यवृद्धि भएको बताउँछन् ।

बढ्दो महँगीका कारण सबैको जीवन कष्टकर बनेको छ । डेरा गरेर बस्नेका लागि त घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च, औषधोपचार खर्च आदिले ढाड सेकेको छ । यसरी डेरा गरी बस्ने परिवारको सामान्य गर्जो टार्न चालीस हजारले पनि नपुग्ने देखिन्छ । त्यसमा पनि दिनप्रतिदिन उपभोग्य वस्तुको मूल्य बढिरहेका कारण चामल, तरकारी, दाल, तेलको जोहो गर्न पनि समस्या परेको छ । एक जनाको एकसरो कमाइमा राजधानीमा बाँच्न नसकिने अवस्था आएको धेरैको गुनासो छ । यातायात खर्च, मनोरञ्जन र लुगाफाटोसमेत त्यसमा जोड्ने हो भने ४० हजारले पनि नपुग्ने देखिन्छ ।

नेपाली जनताले आधारभूत आवश्यकता पूरा गर्न रगत पसिना बगाउँदा पनि नपुग्ने देखिन्छ

सरकारको नियन्त्रण र प्रभावकारी अनुगमन नहँुदा दिनप्रतिदिन बजार अराजक बन्दै छ । त्यस्तै, सरकारको अनुगमन नियमित र प्रभावकारी नहुँदा उपभोक्ताले ज्यादै कठिनरूपमा दिन टार्नु परेको छ । कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, बिचौलियाका कारण हरेक मालको मूल्य बढेको बढ्यै छ । गत एक महिनायता चामल, तेल, घिउ, दाल, गेडागुडी, तरकारीको मूल्य पनि व्यापकरूपमा बढेको छ । खाने तेलको मूल्य वृद्धिले त आकाश छोएको छ । काँचो तोरीको तेलमा ९०, भुटेको तोरीको तेलमा ३० सनफ्लावर तेलमा १० र भटमासको तेलमा ५ रुपैयाँसम्म बढेको छ भने घिउमा ३०० रुपैयाँसम्म बढ्न पुगेको छ ।

चामल र चिउरामा प्रतिबोरा चार सयसम्म बढ्न पुगेको छ भने चिउरा प्रतिकेजी ४० रुपैयाँसम्म बढेको छ । दाल गेडागुडीमा ४० रुपैयाँसम्म बढ्न पुगेको छ । त्यस्तै, जिरा धनियाँलगायत मसलाको पनि मूल्य वृद्धि भएको छ । जिरा पाउडर, खुर्सानी प्रतिकेजी १५०, धनियाँ दान १४०, धनियाँ पाउडर १०० र बेसार ५० रुपैयाँ प्रतिकेजी बढेको छ । गतमहिना प्रतिकेजी १४० मा पाइने बासमती चामल अहिले प्रतिकेजी १६० पुगेको छ । चामल बोरामा चारसयसम्म बढ्न पुगेको छ । समग्रमा भन्नु पर्दा नेपाली चुल्होमा अब गरिब निर्धनहरूको पहुँच सजिलै नपुग्ने देखिन्छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ता भने राहत नपाएको गुनासो गर्दछन् । उपभोक्ताहरू सरकारले बजार नियन्त्रण गर्न नसकेको बताउँछन् । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालोबजार नियन्त्रण गर्न नसक्ने हो भने विभागको स्थापना गर्नु औचिन्यहीन भएको आमउपभोक्ताको गुनासो रहेको छ । बजारमा माग र आपूर्तिका बीचमा समन्वय नहुँदा पनि बजारमा केही सामानको मूल्य आकासिएको छ । बजारमा खानेतेल, घिउ, चामल, दाल, तरकारीलगायतका सबै खाद्यान्नको मूल्य बढेको छ । गएको दुई महिनादेखि बजारमा खाद्यान्नमा मूल्य बढेकोले सर्वसाधारण ज्यादै मर्कामा परेका छन् भन्े वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराए पनि त्यसको सुनुवाइ भएको पाइन्न ।

नेपाली बजारमा दिनहुँ खाद्यान्नको मूल्य अस्वाभाविकरूपमा परिवर्तन भइरहेको पाइन्छ । त्यति मात्र होइन घन्टैपिच्छे मूल्य फरक फरक हुन्छ । कालिमाटी तरकारी बजारले पनि वस्तुको मूल्यसूची वैज्ञानिकरूपमा अद्यावधिक गरेको पाइन्न । त्यहाँको मूल्य कसैको पनि नियन्त्रणमा नभएको गुनासो आम उपभोक्ताको रहेको छ । खुद्रा व्यापारीलाई तरकारीको मूल्य के कस्तो छ भन्दा कालिमाटी बजारका बिक्रेता पनि थाहा नभएको बताउँछन् । जसका कारण मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको पाइन्छ । जसलाई तरकारी बजार आमउपभोक्ताप्रति जिम्मेवार नभएको प्रतीत हुन्छ । कालिमाटी तरकारी बजारर किसानमुखी र उपभोक्तामुखी हुन नसकेको उपभोक्ताको गुनासो छ । यसबाट प्रस्ट हुन्छ मूल्य नियन्त्रण गर्न सरकार असफल भएको छ ।

बजारमा एउटै सामानको मूल्य पनि पसलैपिच्छे फरकफरक पाइन्छ । व्यापारीले किसानको खेतबाट नै वा प्रत्यक्षरूपमा किसानसँग सामान किन्दा र बिचौलियाले बढी नाफा लिँदा उपभोक्ताले उक्त सामान खरिद गर्दा मूल्य बढी पर्नु स्वाभाविकै हो । यसबाट न उत्पादकले राम्रो मूल्य पाउँछन् न उपभोक्ताले नै छुट । बिचौलिया र व्यापारीले अनेकौं निहुँमा मूल्य बढाउँछन् । किसानको खेतबाट काउली, बन्दा, गोलभेडा ज्यादै सस्तोमा खरिद गरेर चारगुणा नाफा खाएर बिचौलियाले बेच्ने गरिएको पाइन्छ ।

जसका कारण उत्पादक कृषक सधैं मर्कामा पर्ने र बिचौलियाको नै राज हुने हुँदा सरकारले यसतर्फ ध्यान नदिने हो भने कृषक मर्कामा परेको मुलुक कहिल्यै कृषि प्रधान हुन सक्दैन । त्यसैले कृषकलाई प्रोत्साहन दिएर कृषि प्रधान देशको गरिमा कायम गर्नु पनि यो सरकारको उत्तरदायित्वभित्र पर्दछ । त्यस्तै अत्यावश्यक पानीको मूल्यले पनि आकाश छोएको छ । अधिक मुनाफा खोज्ने बिचौलियका कारण बजारमा पाइने सामान्य जार र बोतलको पानी दोब्बर महँगो भएको छ । पानी उद्योगले सप्लायर्सलाई सस्तोमा दिए पनि बिचौलियाका कारण झन्डै तेब्बर कमिसन खाँदा बोतल र जारको पानीमा उपभोक्ता ठगिएका छन् । यस प्रकारको मनोमानी हुँदा पनि सरकारले तिनीहरूलाई कारबाही गर्न सकेको छैन ।

कमजोर र अप्रभावकारी अनुगमनका कारण जनताहरू कालोबजारी र महँगीको मारमा परेका छन्

यस समयमा नेपालमा उत्पादन हुने सबै तरकारीको मूल्य कम छ भने भारतमा उत्पादन हुने तर नेपालमा उत्पादन नहुने तरकारीको भाउ बढेको छ । खासगरी नेपाली बजारमा भारतबाट आउने तरकारीहरू भिन्डी, करेला, खुर्सानी, लसुनको मूल्य बढेको छ । यी तरकारी अहिले नेपालमा उत्पादन हुने बेला भएको छैन । जसका कारण उपभोक्ताले बढीभन्दा बढी मूूल्य तिर्नुपरेको छ । जसका कारण कालिमाटी तरकारी बजार भारतीय व्यापारीकै कब्जामा रहेको झैं देखिन्छ । नेपाली बजारमा भारतीय तरकारीको आयात बढी नै हुन्छ । नेपालमा उत्पादन गरिएको तरकारीले थोरै मात्रामा मात्र आवश्यकता पूर्ति गर्दछ । नेपाली तरकारी बजारमा भारतीय तरकारी निर्यात प्रतिशत बढी मात्रामा पाइन्छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा आमजनतामा त्यसको असर परेको छ तर सम्बन्धित निकाय भने मौन बसेको छ । आज कैयन नेपालीको भान्सा प्रभावित भएको छ । गत दुई महिनाको बजार भाउ र माघको यस साताको मूल्यबीचमा ज्यादै अन्तर देखिन्छ । केही उत्पादन भारतमा पनि नभएका कारण नेपाली बजारमा त्यसको मूल्य बढेको हो । नेपाली घिउको भारतमा माग बढेका कारण पनि घिउको मूल्य वृद्धि भएको छ । त्यस्तै, भारतले मसिनो बासनादार चामल र कनिकामा मात्र निर्यात कर लगाउँदा यहाँका व्यापारीहरू भारतले कर बढाएको बहानामा चामलको भाउ बढाउन पुगेका छन् ।

गत भदौदेखि भारतले मसिनो बासनादार चामल र कनिकामा २० प्रतिशत कर लगाउन थालेको हो । भारतले उसिना र बालमती चामलमा कर लगाएको छैन, तर व्यापारीले भने नेपालमै उत्पादित चामलको पनि त्यही अनुपातमा मूल्य बढाएका छन् । खुद्रा व्यापार संघले तोकेको दरमा पनि आमउपभोक्ताले खाद्यान्न किन्न पाउन सक्ने अवस्था छैन । व्यापारीको मनलाग्दो मूल्य वृद्धिको मारमा आमउपभोक्ता पर्दै आए पनि सरकारी निकायबाट अनुगमन नहुँदा उपभोक्ता मारमा परेका हुन् ।

यस प्रकार नेपाली जनताले आधारभूत आवश्यकता पूरा गर्न रगत पसिना बगाउँदा पनि नपुग्ने देखिन्छ । एकपेट खान र एकसरो लगाउनका लागि पनि ज्यादै धौ धौ परेको छ । अत्यावश्यक खाद्य सामग्रीको उत्पादन नहुँदा अहिले नेपाली गाह्र्यस्थ जीवन कष्टकर बन्दै गएको हो । सरकारले दिनहुँ वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई रोक्दै उनीहरूलाई यहाँ नै श्रम पोख्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । विभिन्न उत्पादनमा राज्यले अनुदान दिएर उनीहरूलाई यहीँ नै प्रोत्साहन गर्नु आवश्यक देखिन्छ ।

आवश्यक तालिम, कृषि अनुदान, औषधी, जेटिए व्यवस्थापन, मलखाद, बिउबिजन, कृषिबिमाको व्यवस्था, सिँचाइ, बजार व्यवस्थापन साथै अनुगमनमा कडाइ भएमा अवश्य पनि कृषि उत्पादन बढ्ने छ । समय समयमा हुने मूल्यवृद्धिको असर आमनेपाली जनताले भोग्नुपर्ने थिएन । त्यसो गर्न अहिले बनेको यो सरकार सफल भएमा अवश्य नै नेपाली जनताले आनन्दको सास फेर्न र केही राहतको महसुस गर्न पाउने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
उम्मेदवार बन्न धरौटी, कुन पदमा कति लाग्छ ?