देशमा रमिता छ

वर्षौं पहिले बुवाले बेलुकी ७ बजे रेडियो नेपालमा समाचार सुन्नुहुन्थ्यो । गाउँघरका अन्य दौंतरीसँगै बसेर चिया, चुरोट पिउँदै कान थापेर समाचार सुनेको देख्दा अच्चम लागेर आउँथ्यो । समाचार नसकुन्जेलसम्म हामीलाई बोल्न अनुमति हुँदैनथ्यो । सिंहदरबारबाट कोसौं टाढा दुर्गममा बसेर पनि देशका घटनामा सबैको गहिरो चासो हुनेगथ्र्यो । देशमा हुने बजेट भाषणदेखि मन्त्री, प्रधानमन्त्रीको छनोटमा उहाँहरूको ठूलो आशा हुनेगथ्र्यो ।

उहाँहरूको देशप्रतिको गहिरो प्रेम देखेर हामी पनि प्रोत्साहित हुने गथ्र्यौं । देशप्रति माया जागेर आउँथ्यो । उहाँहरूले कानमा रेडियो टाँस्दै समाचार सुन्न थालेको पनि कयौं वसन्त बिते तर देशले कोल्टे फेर्न सकेको छैन । आफू गाउँमै बसेर रमाइरहँदा आफ्ना सन्तानले समेत आफूसँगै गाउँमै जीवनयापन गरून् भन्ने उहाँहरूको सपना चकनाचुर भएको छ । हेर्दै जाने हो भने गाउँमा घाटसम्म लास पु¥याउने र अस्पतालसम्म बिरामीको श्वास पु¥याउने मान्छेसमेत अभाव हुँदै गएको छ ।

आजभोलि बुवाको जस्तै अवस्था भएको छ हाम्रो पनि । बिहान बेलुकी भान्छामा काम गर्दा समाचार सुनेर होस् या सहकर्मीको भेटमा होस् देशको अवस्था’bout छलफल हुने गरेको छ । देश द्वन्द्वमा फसेदेखि उम्कन सकेको छैन । द्वन्द्वमा भत्केका संरचना पुनर्निर्माण गर्न पनि देशले ठूलो धनराशि खर्चिनुप-यो । त्यसपछि पनि देशले स्थायी नेतृत्व पाउन सकेको छैन । वर्षौंदेखि एकछत्र राज गर्दै आएको नेपाली कांग्रेसदेखि वाक्क भएका जनताले माओवादी पार्टी पनि सरकारमा आएपछि केही गर्न नसक्दा ठूलो विश्वासका साथ एमालेलाई भोट दिएर पाँच वर्षका लागि चुनेर पठाए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिले गठबन्धन गरेर सरकारमा आएका पुष्पकमल दाहाललाई वाचा गरेअनुसार पद नदिएपछि दुईचोटि संसद् विघटन गरेर जनताको मनमा आघात पु¥याए । त्यतिखेर एमालेका कतिपय मन्त्री विभिन्न प्रकारका भ्रष्टाचारमा संलग्न भएका खबरबाहिर आए । जसका कारण यसपटकको चुनावमा जनताले यस्ता नेतालाई भोट नदिई सरकारबाहिर लखेटे ।

देशमा वर्षौं पुराना थोत्रा गाडी, जहाज उडिरहेका छन् जसले सयौं मानिसको अकालमा ज्यान लिइरहेका छन्

आफ्नो छवि स्वच्छ नभएको देशकै ठूलो पार्टी कांग्रेसले समेत आफैंमाथि विश्वास गर्न सकेन । फलस्वरूप माओवादी पार्टीसँग गठबन्धन गर्न पुग्यो । वर्षांैदेखि कांग्रेसलाई आफ्ना सन्तानजस्तै माया गरेका जनताले मुटु दरो पारेर गठबन्धनलाई भोट हाल्नुप¥यो । सातै प्रदेशमा सोचेअनुसार जित हासिल गरेको कांग्रेसले पदलोलुपताकै कारण गठबन्धन गरेको माओवादी पार्टीसँग कुरा मिल्न सकेन । शेरबहादुर देउवाको हठकै कारण कांग्रेसले मुख अगाडि आएको मिष्ठान्न भोजन खान पाएन, हेरेरै चित्त बुझाउनुप¥यो । यसको फाइदा उतातिर चलाख तथा छट्टु नेता केपी शर्मा ओलीले लिए ।

चुनाव अगाडि पदको कत्ति पनि इच्छा नभएको भट्याउँदै आएका प्रचण्डले प्रधानमन्त्री पाउने भएपछि गाली गरेर नथाक्ने केपी ओलिसँग गएर रातारात हात मिलाए । हुन त कुर्सी पाउनका लागि मरिमेटने दलका सबै नेताको बानी नै छ तर यसमा पनि प्रचण्डलाई एक नम्बरमै राख्न सकिन्छ । अहिले त्यही कुर्सी डगमगाएको जस्तो देखिँदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले चुनावमा लगाएको गुन तिर्नु कि एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री पद जोगाउनु भन्ने दोधार भएको देखिन्छ ।

आँखा चिम्लेर भोट दिई जिताएका रवि लामिछानेका पछिल्ला क्रियाकलाप देख्दा जनता फेरि सशंकित हुन पुगेका छन् । नेपाली जनताले भोगेका पीडा सशक्त रूपमा उठाउने रवि लामिछाने सबैका प्यारा थिए । गृहमन्त्री पदको स्वाद थाहा पाइसकेका उनलाई पनि कहिँ पदको लोप भएको त होइन भन्ने प्रश्न उठेको छ । नेपाली नागरिकता त्यागेका रविले चुनावमा उठ्नुअघि किन नेपाली नागरिकता लिएनन् भन्नेहरूको जमात पनि कम छैन । नेपालको गृहमन्त्री भइसकेका नागरिक नेपाली हुनुपर्छ कि पर्दैन भन्ने आवाज बुलन्द बनेको थियो । यद्यपि, उनले नेपाली नागरिकता पाइसकेका छन् ।

अहिले फेरि पनि नेपालको राजनीतिक अवस्था धरापमा परेको छ । देशले स्थायी सरकार पाउन सकेको छैन । नेपाली जनताले चाहेअनुसारका नेता पाउन सकेका छैनन् । राति सुतेर भोलि उठ्दा देशमा के भइसक्छ भन्ने कसैलाई थाहा छैन । कुर्सी पाउन र जोगाउनकै लागि वर्षौंदेखि कसरत भएको मात्रै देखिन्छ । देश र जनताकै लागि नेता भइदिऊँ जस्तो कसैलाई पनि लाग्दैन । कुर्सी पाए खुसी नपाए आन्दोलन भन्ने बानी बसेको छ सबैमा । यसले न त कुर्सीमा बस्नेले काम गर्न पाएका छन् न त बाहिर बस्नेले काम गर्न नै दिएका छन् । कुर्सीकै लागि नयाँ बनेको सरकारलाई कांग्रेसले समेत समर्थन गर्दा प्रतिपक्षमा बस्न बलियो पार्टी नै देखिएको छैन ।

एकातिर समर्थन गरेर पदको लोभ गरेको देखिन्छ भने अर्कोतिर प्रतिपक्ष पनि आफंै हो भन्दै त्यतातिर पनि सुविधा खान खोजेको देखिन्छ कांग्रेसले । सरकारले गरेका काममा खबरदारी गर्ने पार्टी नै नभएको जस्तो देखिन्छ अहिले । देश चलाउनेका स्वार्थका कारण नेपाली जनता हेरेको हे¥यै भएका छन् । पद पाउनकै लागि पानी बाराबारको स्थितिमा पुगेका, जताततै एकले अर्कालाई गाली गर्दै हिँड्ने केपी शर्मा ओली तथा प्रधानमन्त्री पुष्पकमल दाहालले हात मिलाएका छन् । अब झगडालुहरूले देश विकास गरेको भने हेर्न बाँकी छ ।

बाबाका पुस्ताले कानमा रेडियो टाँस्दै समाचार सुन्न थालेको कयौं वसन्त बिते पनि देशले कोल्टे फेर्न सकेको छैन

हुन त देशमा काम भए, नभएको हेर्ने फुर्सद नै कहाँ छ र अहिलेको वा नेपालमा बनेका कुनै पनि सरकारलाई । चितवन घर भएका नेता अहिले प्रधानमन्त्री भएका छन् । तर, उनकै क्षेत्रमा तरकारीले भाउ नपाएको भन्दै केही दिनअघि किसानले तरकारी सडकमा ल्याएर फ्याँकेका थिए । उखु किसानले आफ्नो श्रमको मूल्य नपाउँदा आन्दोलन गर्नुपरेको छ भने देशमा चिनी आयात भइरहेको छ । केही दिनअघि मात्रै १ सय २० रुपयाँमा गोलभेंडा, ब्रोकाउली किन्नुपरेको थियो । आयातीत उत्पादनलाई निरुत्साहित गरी स्वदेशी उत्पादन बढावा दिन सकेको भए किसानको यो अवस्था हुने थिएन । एक तथ्याकंका अनुसार आर्थिक वर्षको पुससम्म नेपालले ७ खर्ब ९२ अर्ब ६७ करोड मूल्यबराबरका वस्तु आयात गर्दा ८० अर्ब ८१ करोडको मात्रै निर्यात गरेको छ ।

देशले वस्तु निर्यातमा जोड नदिँदा चालू आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब ८६ करोड रहेको छ । भोट माग्न जाँदा ठूलाठूला आश्वासन बाँडनेहरूले काम गर्नेबेला पछि हट्नु भनेको जनतालाई धोका दिनु हो । देशमा उत्पादन भएको खाद्यान्नलाई भण्डारण गर्ने सुविधा उपलब्ध गराउन स्थानीय सरकारले समेत व्यवस्था गरिसक्नुपर्ने हो । एउटै ठाउँमा सधैंभरि भइरहने समस्या हल गर्नुको सट्टा आँखा चिम्लनुले देश विकासमा बाधा पु¥याइरहेको छ । युवाहरू निरुत्साहित हुँदै विदेश हानिइरहेका छन् । ६ महिनामा ४ लाख नेपाली युवा विदेश हानिएका छन् । उनीहरूलाई देशमै टिकाइराख्न काम गर्न ढिलो भइसकेको छ ।

केही दिनअघि अमेरिकाका एक जना १७ वर्षे किशोरले परीक्षा सकिएपछिको फुर्सदको समयमा नासामा गएर अन्तरिक्षसम्बन्धी अध्ययन गर्दा दुईवटा तारालाई एउटा नयाँ ग्रहले घुमिरहेको पत्ता लगाएका थिए । त्यसपछि उनी भाइरल नै भएका छन् । भविष्यमा नासामै काम गर्ने योजनामा रहेका छन् । यता नेपालमा भने मुगुको एउटा सामुदायिक विद्यालयमा शिक्षक अभावमा कक्षा १० का विद्यार्थीले तीनवटा विषय मात्रै पढिरहेका छन् । जबकि निजी स्कुलका विद्यार्थी बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म स्कुलमै बसेर शिक्षकको निगरानीमा तयारी गरिरहेका छन् ।

यसले निजी तथा सामुदायिक स्कुलका विद्यार्थीको सिकाइको गुणस्तरमा ठूलो खाडल ल्याइरहेको छ । त्यसैगरी धनुषाको एउटा सामुदायिक विद्यालयमा समेत ६ महिनादेखि अंग्रेजी, गणित तथा विज्ञान विषयका विषय शिक्षकको अभावमै विद्यार्थीले पढिरहेका छन् । सबै जना देश विकासमा व्यस्त भएको सुनिन्छ तर विद्यार्थीहरूको गुनासो सुनिदिने कोही पनि छैन त्यहाँ ।

देशमा वर्षौं पुराना थोत्रा गाडी, जहाज उडिरहेका छन् जसले सयौं मानिसको अकालमा ज्यान लिइरहेको छ । हाम्रा सडक धुलाम्मे तथा फोहोर छन् । न त सरकार, न जनतालाई नै यसको मतलब छ । यात्रा गर्दा घण्टौं जाममा पर्ने समस्या हट्न सकेको छैन । तैपनि सरकारले रफ्तारमा काम गरिरहेको जनाउँछ । अहिलेसम्म जोसुकै सरकारमा गए पनि जनतालाई धोका दिनुबाहेक केही भएको देखिँदैन । अझै पनि व्यक्तिगत स्वार्थभन्दा टाढा रहेर देश र जनताका लागि निःस्वार्थ काम गर्ने नेता पाउन कति समय पर्खनुपर्ने हो ?

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग