वासिङ्टन । आक्रामक रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को.संक्रमण विश्वभर तीव्र गतिमा फैलिएको छ । मंगलबारसम्म विश्वमा कोरोना संक्रमितको संख्या करिब ४ लाख पुगेको छ । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको संक्रमणले यतिबेला युरोप र अमेरिका आक्रान्त बनेको छ भने विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ ।
पछिल्ला केही दिनदेखि अमेरिकामा कोरोना भाइरसको संक्रमण अत्यन्तै तीव्र बनेको छ । पछिल्ला दुई दिनदेखि अमेरिकामा दैनिक १० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । आइतबार र सोमबार दैनिक १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् भने मंगलबार यो समाचार तयार पार्दासम्म २ हजार ५ सय थप संक्रमित पहिचान भइसकेका छन् ।
संक्रमितको संख्या अमेरिकामा चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको छ । अमेरिकामा मंगलबारसम्म ४६ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ५ सय ८२ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
चीनमा मंगलबारसम्म ८१ हजार १ सयभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये ७३ हजार १ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ । चीनमा अब करिब ४ हजार ७ सय कोरोना संक्रमित बिरामी रहेका छन् ।
यता, इटालीमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । इटालीमा पछिल्लो २४ घन्टामा ४ हजार ८ सय नयाँ संक्रमित देखिएपछि संक्रमित हुनेको संख्या ६३ हजार ९ सय पुगिसकेको छ । इटालीमा मृत्युदर भने उच्च छ । इटालीमा सबैभन्दा बढी ६ हजार ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
यस्तै, युरोपमा इटालीपछि सबैभन्दा बढी स्पेन प्रभावित बनेको छ । स्पेनमा मंगलबार मात्रै करिब ५ हजार नयाँ संक्रमित फेला परेका छन् भने ३ सय ८५ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा कोरोना भाइरसका ३९ हजार ६ सय संक्रमित भएका छन् भने २ हजार ६ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
जर्मनीमा ३० हजार १ सय, इरानमा १४ हजार ८ सय, फ्रान्समा १९ हजार ९ सय, स्विट्जरल्यान्डमा ९ हजार १ सय, दक्षिण कोरियामा ९ हजार, बेलायतमा ६ हजार ६ सय, अस्ट्रियामा ४ हजार ८ सय, नेदरल्याड्समा ४ हजार ७ सय, बेल्जियममा ४ हजार २ सय, नर्वेमा २ हजार ६ सय, अस्ट्रेलियामा २ हजार १ सय, क्यानडामा २ हजार १ सय, पोर्चुगलमा २ हजार, स्विडेनमा २ हजार, ब्राजिलमा १ हजार ९ सय, इजरायलमा १ हजार ७ सय, मलेसियामा १ हजार ६ सय, डेनमार्कमा १ हजार ५ सय, टर्कीमा १ हजार ५ सय, चेचियामा १ हजार ३ सय, जापानमा १ हजार १ सय, आयरल्यान्डमा १ हजार १ सय जना कोरोना भाइरस संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । इरानमा १ हजार ९ सय ३४, फ्रान्समा ८ सय ६०, जर्मनीमा १ सय ३०, स्विट्जरल्यान्डमा १ सय २२, बेलायतमा ३ सय ३५, दक्षिण कोरियामा १ सय २०, नेदरल्यान्ड्समा २ सय १३, बेल्जियममा १ सय २२, जापानमा ४२, क्यानडामा २४, पोर्चुगलमा २३, स्विडेनमा ३३, ब्राजिलमा ३४, डेनमार्कमा ३२, टर्कीमा ३७, अस्ट्रियामा २५, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, इजिप्टमा १९, इराकमा २३, अल्जेरियामा १७, सन मारिनोमा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’ को संज्ञा दिएको छ । कोरोना भाइरस संक्रमणबाट अस्ट्रेलियामा ८, मलेसियामा १४, आयरल्यान्डमा ६, पोल्यान्डमा ८, ग्रिसमा १७, हङकङमा ४, भारतमा १०, पाकिस्तानमा ७, थाइल्यान्डमा ४, सिंगापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, पानामामा ६ अर्जेन्टिनामा ४, लेबनान ४, संयुक्त अरब इमिरेट्समा २, ताइवानमा २, हंग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बंगलादेशमा ३, घानामा २, सुडानमा १ जनाको मत्यु भएको छ ।
मंगलबार साँझसम्म विश्वमा ३ लाख ९३ हजार संक्रमित भइसकेका छन् भने १७ हजार १ सय ४७ जनाको मृत्यु भइसकेको छ । यसैगरी, विश्वमा १ लाख ३ हजार ४ सय जना निको भएर घर फर्किएका छन् ।






