अञ्जन र अरुणा वर्ष खेलाडी

काठमाडौं । फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाही एनएसजेएफ बजार पल्सर स्पोटर््स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् ।

पुरुषतर्पmका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरण कुमार चेम्जोङलाई पछाडि पारे । अञ्जनले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह ‘बी’मा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । यस्तै, उनले १३औं साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध गोल गरेका थिए । उनी एनएसएलमा सर्वाेत्कृष्ट फरवार्ड घोषित भएका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटकी रुविना क्षेत्री बेलवासे र सीता राना मगर तथा एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछि पारिन् ।

अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । पुरुष र महिलामा अवार्ड विजेताले बजार पल्सर मोटरसाइल प्राप्त गरे । वर्ष उत्कृष्ट प्रशिक्षक भने फुटबलका अब्दुल्लाह अलमुताइरी घोषित भए । यो अवार्ड विजेताले पनि पल्सर मोटरसाइकल पाए । उनको प्रशिक्षणमा नेपाल माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियसिपको फाइनलमा पुगेको थियो । अब्दुल्लाहले पारा तेक्वान्दोका कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्टलाई पछि पारे । फुटबलका मनीष डाँगी युवा वर्ष खेलाडी घोषित भए ।

उनले फुटबलकै प्रीति राई, ब्याटमिन्टनकी रशिला महर्जन, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र भलिबलकी उषा भण्डारीलाई पछि पार्दै यो अवार्ड जिते । मनीषले एसियाली फुटबलको हेभिवेट राष्ट्र इराकविरुद्ध दर्शनीय गोल गरेका थिए । साथै साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनीषले सोही वर्ष मछिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका निभाएका थिए । उनले बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । स्पेसल अवार्डबाट ब्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवी मोक्तान सम्मानित भएका छन् ।

आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन बनाउन सफल तामाङ दम्पतीले विशेष अवार्डका साथै ५० हजार रुपैयाँ पाए । तामाङ दम्पती राष्ट्रिय च्याम्पियनत्रय सरादेवी, नङ्सल र रत्नजित तामाङका बुबाआमा हुन् । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन् । एथ्लेटिक्सका प्रशिक्षक रघुराज वन्तले लाइफटाइट एचिभमेन्ट अवार्ड जिते । साथै उनले पनि ५० हजार रुपैयाँ पुरस्कार पाए । २०७८ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पु¥याउने खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो ।

पलेशालाई पारा एथलिट अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्चले ओलम्पियन पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरेको छ । मञ्चले १९औं बजाज पल्स स्पोर्ट्स अवार्डअन्तर्गत पलेशालाई पारा एथलिट अवार्ड प्रदान गरेको हो । जापानको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेकी थिइन् । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन् । पलेशाले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्णपदक जितेकी थिइन् । बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजीमुनि क्याटागोरी ४४ मा स्वर्णपदक जितेकी हुन् । एसियन युथ पारामा स्वर्णपदक जित्ने उनी पहिलो नेपाली हुन् ।

उषाले जितिन् पिपुल्स च्वाइस अवार्ड
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधा जितेकी छन् । उनले फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले भोटमार्फत सो अवार्ड जितेकी हुन् । भलिबलकै उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन् । ई–सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उषा विजेता भएकी हुन् ।

उषाले सर्वाधिक ३८ दशमलव ०३२२ मत प्राप्त गर्दै अवार्ड जित्न सफल भइन् । उनका निकटतम प्रतिद्वन्द्वी फुटबलका अन्जन विष्टले ३१ दशमलव १४०३ मत पाए । क्रिकेटका आसिफ शेखले १४ दशमलव ९९७ मत, लन टेसिनकी अभिलाषा विष्टले ८ दशमलव ३२६७ र पौडीकी डुआना लामाले ७ दशमलव ५०३ मत प्राप्त गरिन् । उषा नेपालले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)बाट महिला टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता उनी महिला टोलीको महत्वपूर्ण सदस्य छिन् । नेपालले दोस्रोपटक सेन्ट्रल जोनको उपाधि जित्दा टोलीकी सदस्य छिन् । घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्ने उषाकै उच्च प्रदर्शनमा पुलिसले विभिन्न उपाधि जित्न सफल भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साकार हुँदै जित्नैपर्ने दबाब