बालविवाह गरेकाहरु बाल विवाहमुक्त गर्ने अभियानमा


जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–६ की कल्पना शाहीले १४ वर्षकै उमेरमा विवाह गरिन् । आमा बुवाको करकापमा बालविवाह गरेकी शोभा विवाह गरेको एक वर्षमै गर्भवती भइन् ।

कल्पना भन्छिन्, ‘त्यतिबेला बालविवाहको कानुन पनि थिएन । शिक्षाको कुरा धेरै टाढा थियो । पराई घरमा जाने छोरीलाई पढाउनु हँुदैन भन्ने चलन थियो । अशिक्षा, गरिबी, अन्धविश्वासले गर्दा परिवारको दबाबमै विवाह गरेँ । जसका कारण तीन बच्चा गुमाएँ, स्वास्थ्य कच्चा भयो । पढ्न लेख्न पाइनँ ।’

अहिलेको जस्तो हप्ता र महिनापिच्छे तालिम, कानुनका कुरा सिकाउने त्यतिबेला भएको भए बालविवाह हुन्थेन होला । ‘विगत सम्झेर ठूलो पश्चताप लाग्छ । त्यसैले अब आफ्नो गाउँघरलाई बालविवाहमुक्त बनाउन जुटेको छु, धेरै किशोरीलाई आफ्नै कथा सुनाएर समेत बालविवाह नगर्न परामर्श दिने गरेको छु,’ शोभाले भनिन् ।

त्यस्तै, कनकासुन्दरी–६ की धर्मा सार्कीले पनि १३ वर्षकै उमेरमा विवाह गरेकी हुन् । अहिले उनी ४७ वर्ष लागिन् । सानैमा विवाह गरेका कारण धर्माको पनि गर्भमै तीन बच्चा मरे ।

उनले भनिन्, ‘सानैमा विवाह गरेकाले शारीरिक रुपमा म कच्चा भएँ । पाठेघर खस्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्याबाट पीडित छु । यो सबै बालविवाहको कारण हो । अहिले त चेत खुल्यो । त्यसैले आफूले जस्तो अरुले समस्या भोग्न नपरोस् भनेर बालविवाहमुक्त गाउँ बनाउन जुटेको छु ।’

कनकासुन्दरी–६ कै राजकली कामीले पनि ११ वर्षको उमेरमा विवाह गरेकी थिइन् । माइतीको दबाबमा सानैमा विवाह गरेको सजाय अहिलेसम्म भोग्दै छिन् उनी । अहिले उनको पाठेघरमा समस्या छ । बालविवाहकै कारण शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित भएकी राजकली अहिले दलित सञ्जालको उपाध्यक्ष भएर बालविवाह रोक्ने अभियानमा छन् ।

कल्पना, धर्मा र राजकली मात्रै होइनन्, पहिला सानैमा विवाह गरेर पछि पश्चाताप गरिरहेका कनकासुन्दरीका सयौं महिला अहिले बालविवाह रोक्न जुटेका छन् । आफूले बालविवाह गर्दा भोग्नु परेका समस्या सुनाउँदै किशोरीलाई परामर्श दिन थालेका छन् ।
कनकासुन्दरी र सिंजामा सम्पन्न ‘अन्तर पुस्ता संवाद कार्यक्रममा बाबा आमाले बालविवाह रोक्न अभियान चलाउने र छोराछोरीले २० वर्ष पुगेपछि मात्रै नभई आफ्नो खुट्टामा उभिने भएपछि मात्रै विवाह गर्ने बाचा गरेका छन् ।

विगत लामो समयदेखि बालविवाह, छुई प्रथा न्यूनीकरणका ’boutमा सचेतना दिन थालेपछि पहिले स्वयं बालविवाह गरेका ग्रामिण महिलाले अहिले आफै बालविवाह रोक्न थालेको कनकासुन्दरी दलित सञ्जालकी अध्यक्ष तारा सार्कीले बताइन् ।

पहिलो चरणमा परामर्श, दोस्रो चरणमा सामूहिक बहिष्कार र तेस्रो चरणमा कानुनी उपचार खोज्ने गरी बालबिवाह मुक्त गाउँ अभियान थालिएको एकुमाया आचार्य हमालले बताइन् ।

‘विगतको तुलनामा बालविवाह न्यूनीकरण हुँदैछ,’ क्याड नेपालकी सामाजिक परिचालक अधिकृत माया महतले भनिन्, ‘हामीले सचेतना पनि दिइरहेका छौं । बालविवाह रोक्न परिवर्तनका संवाहकका रुपमा किशोरी पनि तयारी गरेका छौं । पहिले सानैमा विवाह गरेर समस्या भोगेका महिला नै बालविवाह रोक्न अग्रसर भएपछि सुधार हुने आशा छ ।’

बालविवाह अपराध हो भन्ने ग्रामीण महिला र किशोरीले बुझी सकेका छन् । क्याड नेपालले बालविवाहमुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटक पटक बालविवाहका असर,कानुनी सजाय, ढिलो विवाह गर्दाका फाइदाका ’boutमा सचेतना दिएपछि सिंजा र कनकासुन्दरीका महिला बालविवाहमुक्त गाउँ बनाउन जुटेका छन् ।

चालु आर्थिक वर्षमै सिंजा गाउँपालिकाको वडा नं २ र कनकासुन्दरीको वडा नँ ६ लाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्यअनुसार त्यहाँका स्थानीय महिला, किशोर किशोरी, क्याड नेपाल, स्थानीय सरकार अभियानमा सक्रिय भएका छन् । सन २०३० सम्म नेपाललाई बालविवाहमुक्त बनाउने सरकारको लक्ष्यलाई सफल बनाउन दूरदराजमा काम भइरहेका छन् ।

जुम्लामा अहिलेसम्म बालविवाहको एकिन सरकारी तथ्यांक छैन । स्वास्थ्य कार्यालयको दुई आर्थिक वर्षको पहिलोको तथ्यांक अनुसार जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको पाइएको थियो । जसमा कनकासुन्दरीमा ९०, सिँजामा ६८ जना किशोरी रहेका छन् । कर्णाली प्रदेशमा ५२ प्रतिशत बालबिवाह रहेको तथ्यांक छ ।

कूरीतिविरुद्ध जुर्मुराउँदै सिंजावासी

जुम्लाका आठै स्थानीय तहमा सामाजिक कूरीति बालविवाह स्थापित छ । अहिले भने यहाँका वासिन्दा सामाजिक रुपान्तरणका लागि बालविवाहलगायतका कूरीतिविरुद्ध जुर्मुराएका छन् । कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासी बालविवाहमुक्त गाउँ बनाउने अभियानमै जुटेका छन् ।

पहिले अशिक्षाका कारण बालविवाह भएपनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै विवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि गाउँमा बालविवाह रोक्ने अभियान चलाएको कनकासुन्दरी–४ का वडासदस्य सिंहराज सार्कीले बताए ।
उनले भने, ‘अहिले चेतना अभिवृद्धि हुँदै छ, हामीले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौं । आत्मसम्मानका लागि सहाकार्य (क्याड) नेपालले बालविवाह मुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ ।

क्याडले पटक पटक बालविवाहका असर, कानुनी सजाय, ढिलो विवाह गर्दाका फाइदाका ’boutमा तालिम दिएर सचेत बनाएको छ । बालविवाह रोक्न निगरानी समितिसमेत बनाइएको छ ।

बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट बन्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी–६ का लालु नेपालीले बताए । दलित समुदायमा बालविवाह बढी भएकाले कनकासुन्दरीका दलित समुदाय नै अहिले बालविवाह रोक्न अग्रसर भएको उनको भनाइ छ । कनकासुन्दरी गाउँपालिका वडा नं ४, ५ र ६ का दर्जनौ बस्तीलाई बालविवाहमुक्त बनाउन स्थानीय जुटेका छन् ।

गएको सोमबार र मंगलबार कनकासुन्दरीका ४, ५ र ६ नम्बर वडामा बालविवाह तथा छाउपडी न्यूनीकरणका लागि अन्तरसंवाद तथा अन्तक्र्रियासमेत सम्पन्न भएको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेरबहादुर रोकायाले बताए । विगतको तुलनामा छाउपढी कम भएपनि बढ्दो बालविवाहलाई रोक्न स्थानीयहरू लागिपरेको उनको भनाइ छ । उनका अनुसार क्याड नेपालले २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा बालविवाह न्यूनीकरण, छाउपडी प्रथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुर तनावग्रस्त