पोखरा । पञ्चे बाजाका साथ झाँकीसहितको -यालीमा बुद्धदेवी कुँवर आलुको मालामा भेटिइन् । उनको पहिरनमा पनि प्रस्टै विभिन्न खालका कृषि उत्पादनकै झल्को देखिन्थ्यो । उनलाई पार्वतीको स्वरूपमा सजिएर नाँच्नु पनि थियो ।
उनी मात्रै होइन, पोखरा–२५ हेमजामा आइतबार सुरु आलु महोत्सवमा त्यहाँका अधिकांश कृषक यसरी नै आलु, केरा, काउली, धनियाँ, खुर्सानी, गाजरलगायतका कृषिजन्य उत्पादनका मालामा देखिए । दृश्य हेर्दा यस्तो देखिन्थ्यो ‘अहिले आलुको माला लगाआंै बेलुका आलुकै तरकारी खाऔं’ भनेझंै सहभागी प्रस्तुत भएका थिए । पहिलोचोटि उनीहरूलाई यस्तो भावभंगीमा देख्नेहरू त अचम्मै परे ।
‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं । आलु एक परिकार अनेक’ नाराका साथ विष्णु पादुका क्लबको आयोजनामा ११औं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको हो । उद्घाटनको दिन मिलन चोकबाट कृषि झाँकीसहित महोत्सवस्थल विष्णुपादुका माविसम्म शोभा यात्रा निकालिएको थियो । यात्रामा सयौं हेमजावासीले विभिन्न कृषिउपजका मालासहित नाचगान गर्दै रमाइलो गरे ।
विगत तीन वर्ष कोरोनाका कारण रोकिएको महोत्सवलाई निरन्तरता दिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठ बताउँछन् ।
पोखराको उत्तरी क्षेत्र हेमजा आफैं पनि आलु गाउँका रूपमा परिचित छ । यहाँको १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती हुने गर्छ । सहरीकरणको तीव्र विकास भएको हेमजामा अहिले १८ सय घरधुरी छन् । कृषि पेसामा संलग्न हजारमध्ये ५ सय १० जनाले व्यावसायिक कृषि खेती गर्ने गरेको क्लबका महासचिव वसन्त श्रेष्ठले बताए ।
उनका अनुसार विगतमा यहाँ आलु खेती धेरै हुने गथ्र्यो । पछिल्लो समय तीव्र सहरीकरणका कारण जमिन खण्डीकरण हुनु, जमिन मासेर घरलगायतका संरचना ठडिनु, मल बिउ पर्याप्त नहुनुलगायतका कारण उत्पादकत्व कम हुने गरेको कृषक बताए ।
खासमा हेमजावासीले बाहिरको आलु खाँदैनन् । आफैंले उत्पादन गरेको आलुले वर्षभरि पुग्छ । महोत्सवमै करिब ४० टन आलु बिक्री गर्ने अनुमान उनीहरूको छ । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्नेगरी आलुको उत्पादनमा लाग्न सुझाव दिन्छन् । महोत्सवमा प्रतिकेजी ३५ रुपैयाँमा आलु किन्न पाइन्छ । यहाँ निर्माण गरिएको आलुको पहाड सबैको आकर्षणको केन्द्र हो ।
२०६८ सालमा किसान बहुउद्देश्यीय सहकारी संस्थाले पहिलोपटक यहाँ आलु महोत्सव गरेको थियो । त्यसपछि साविक हेमजा गाविसले महोत्सवलाई निरन्तरता दिएकोमा पछिल्ला वर्ष यता विष्णुपादुका क्लब जुमुर्याएको हो । महोत्सव स्थानीय विष्णुपादुका मावि परिसरमा आगामी ३ वैशाखसम्म चल्नेछ । महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषिउपज, बिउबिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी हुनेछन् । महोत्सवमा मनोरञ्जनका लागि दैनिक कलाकारको प्रस्तुतिसमेत हुनेछ । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले व्यावसायिक कृषि खेतीमा जोड दिए । उनले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको बताए ।
प्रदेशसभा सदस्य गणेशमान गुरुङले निर्वाहमुखी खेतीले केही नहुने स्पस्ट पार्दै महोत्सवसँगै उत्पादनमा जोडिन प्रण गर्नुपर्ने बताए । कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईंले हेमजा र आलु पर्यायजस्तै भएको बताउँदै आयोजकप्रति आभार प्रकट गरे ।






