काठमाडौं । कोरोना भाइरसको आशंकामा होम कोरेन्टाइमा राखिएकालाई व्यवस्थित गर्न सरकारले निर्देशिका तयार पारेको छ । निर्देशिकामा विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा होम क्वारेन्टाइन बनाएर राख्न स्थानीय पालिकाहरुलाई आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले निर्देशिका तयार पारेर लागू गरिएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।
सरकारले जोखिमयुक्त देशबाट आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । सचिव कोइरालाले विदेशबाट आएको व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा आइसोलेसनमा बसाल्ने व्यवस्था मिलाउन स्थानीय सरकारलाई आग्रह गरे ।
‘कुनै विदेशबाट आएको व्यक्तिमा श्वासप्रश्वासमा अप्ठ्यारो भयो र ज्वारो माथिल्लो चरणमा देखिए स्वाब परीक्षणका लागि पठाउन सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गर्छु’ सचिव कोइरालाले भने, ‘हालसम्म ७ सय जनासम्मको कोरोना परीक्षण गरिसकेको छ, सरकारले २५ वटा हव अस्पताललाई फिबर क्लिनिक सञ्चालनको लागि १० लाख रुपैंयाका दरले बजेट उपलब्ध गराएको छ ।’






