काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले तेस्रो देशमा पुनर्वास हुनबाट छुटेका शरणार्थीहरुको समस्या समाधान गर्न सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन एक हप्ता भित्रमा सार्वजनिक गर्न सरकारसंग माग गरेको छ ।
युवा संघका उपाध्यक्ष नितेश पौडेल नेतृत्वको टोलीले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी मार्फत सो प्रतिवेदन एक हप्ता भित्र सार्वजनिक नगरीए कडा आन्दोलनमा उत्रिने चेतावी दिइएको छ ।
‘प्रतिवेदन सार्वजनिक नगरिनु र सार्वजनिक नभएको सो प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची कसरी थप गरियो ? नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर प्रतिवेदनमा किन र कसरी थपियो ? हालसम्म सो प्रतिवेदन किन सार्वजनिक गरिएन ? कर्मचारीतन्त्र देशको स्थायी सत्ता हो । कर्मचारीतन्त्रले कानूनको अधिनमा रहेर काम गर्ने हो । अनूचित दबाव र प्रभावबाट विचलित हुने र कर्तब्यबाट विमुख हुने अधिकार राष्ट्र सेवक कर्मचारीलाई हुँदैन’ संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
संघले सरकारले २९ असार २०७६ सालमा गठन गरेको कार्यदलका संयोजक गृहमन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थी तथा सो कार्यदलका सम्पूर्ण सदस्य उपर अनुसन्धान गरि मुद्दा चलाउन अख्तियार प्राप्त निकायलाई पत्राचार गर्न माग समेत गरेको छ ।
‘भोक—तीर्खा, घाम—पानी, घर—परिवार गुमाएका, भुटानी माटोमा जन्मिए, हुर्किएका देशबाट लखेटिएका, शासकको दमनले बाध्यताबस शरणार्थी बन्न पुगेका भुटानी शरणार्थीहरुको आवरणमा गैरकानूनी कार्यमा सामेल राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन उपर अनुसन्धान गरि कानून बमोजिम कारवाहि गर्न माग गर्दछ’ संघले भनेको छ ।
भुटानबाट एक लाख भन्दा बढि ल्होत्साम्पा समुदायका भुटानी नागरिक देश निकाला भई बेघरबार भएका छन् । देशबाट लखेटिएका भुटानी नागरिकहरुले नेपालमा शरण लिएर झापा जिल्लाको बेलडाँगी र शनिश्चरे शिविरमा शरणार्थी जिवन विताइरहेका छन् । भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुको पहलमा भुटानी शरणार्थीहरुलाई तेस्रो देशमा पुनर्वासको व्यवस्था गरिएको छ ।
यहि व्यवस्था अन्र्तगत अमेरिका, क्यानडा लगाएतका मुलुकमा भुटानी शरणार्थीहरुलाई पठाउने गरिएको छ । ठुलो संख्यामा अहिले पनि नेपालमा भुटानी शरणार्थीहरु शिविरमा जिवन बिताइरहेका छन् ।
युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवअधिकार, कानूनी शासन लगाएतका विषयमा निरन्तर कार्य गर्दै आइरहेको छ । जुनसुकै आवरणमा हुने अपराध रोक्न युवा संघ नेपाल सदैव क्रियाशिल रहेको छ ।
संघका उपाध्यक्ष पौडेलको नेतृत्वमा ज्ञापन पत्र बुझाउँने टोलीमा उपामहासचिव रोशन थापा, सचिव फुर्वा लामा लगायतको सहभागिता थियो ।








