लयमा फर्किंदै कांग्रेस, आक्रमक प्रचारमा एमाले, रक्षात्मक रास्वपा

चितवन । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी १० वैशाखमा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम व्यस्त छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पसेका छन् । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूले ४३ स्थलका १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा नसोचेको मत ल्याएर पछाडि परेका नेकपा एमाले र नेपाली कांग्रेसले यसपटकको निर्वाचनमा आफ्नो रणनीति बदलेका छन् । नेपाली कांग्रेसले पार्टीलाई आफ्नो लयमा फर्काएको छ भने नेकपा एमालेले आफ्नो चुनावी गतिविधिलाई आक्रमकरूपमा अगाडि बढाएको छ । ४ मंसिरमा भएको निर्वाचनमा रास्वपाका सभापति रवि लामिछानेलाई गएको मत फर्काएर जित्ने दाउमा कांग्रेस छ । नेकपा एमाले आफ्नो पुरानो विरासत फर्काउन लागिरहेको छ । चितवन–२ मा यसपटक त्रिपक्षीय भीडन्त हुने देखिएको छ । धेरै मतदाता मंसिर ४ को चुनावमा आएको मतान्तर अहिले नदोहोरिने बताइरहेका छन् ।

जोकोहीले जिते पनि धेरै मतान्तरको फरक नपर्ने विश्लेषण मतदाताले गरेका छन् । कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने दुवै स्वातन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेप्रति आक्रामक छन् । श्रेष्ठ र न्यौपाने दुवैले आफ्नो प्रतिस्पर्धी एकअर्कालाई देखाउँदै रवि लामिछानेप्रति आक्रामक बनिरहेका छन् । कांग्रेस र एमालेका दुवै उम्मेदवार एकअर्कामा नरम देखिएका छन् भने रवि लामिछानेप्रति आक्रामक बनेका छन् । विभिन्न चुनावी सभा तथा सञ्चारकर्मीसँग कांग्रेसका श्रेष्ठ र एमालेका न्यौपाने एकअर्काको आलोचना गरेको खासै सुनिएको छैन, तर दुवै उम्मेदवारले रवि लामिछानेको खरो आलोचना गरिरहेका छन् । श्रेष्ठ र न्यौपाने दुवैले मतदातासँग कसको कारणले चितवन–२ मा फेरि चुनाव हुने अवस्था आयो भन्दै लामिछानेको आलोचना गरिरहेका छन् । चितवन–२ एमालेको प्रभाव क्षेत्र हो । यहाँबाट २०७० र २०७४ सालमा एमालेका नेता कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

तर, पोखरेल तेस्रोपटक जित्ने दाउमा रहे पनि तेस्रो हुन पुगेका थिए । लयमा फर्किँदै कांग्रेस चितवनको विगतको निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन् । उनीहरूले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिह्नवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् । विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनविरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन् । उनीहरूलगायत विगतको निर्वाचनमा विद्रोह गरेका प्रायः सबै पार्टीमा एकढिक्का भएका छन् ।

यसअघिको आमनिर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि सबै नेता एक मत देखिएका छन् । कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारका पक्षमा उभिएको बताएका छन् । उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनः कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गरेका हुन् । तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा परेका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि परेका छन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले घण्टीमा भोट हालेपछि यसपटकको उपनिर्वाचनमा कांग्रेस निक्कै मेहनतका साथ लागिपरेको हो । नेपाली कांग्रेसका ज्येष्ठ क्षेत्रीय प्रतिनिधिदेखि युवा विद्यार्थीहरू घरदैलो र चुनावी कार्यक्रमा जोडिएका छन् । अघिल्लो निर्वाचनमा रुष्ट भएर अन्यत्र मतदान गरेकाहरू पार्टीको साख जोगाउन लागिपरेका छन् । उम्मेदवारलाई पार्टीका प्रतिनिधिका रूपमा जिताउन लागिपरेका छन् । स्थानीय समस्या र आमनागरिकसँग भिजेका कारण पनि जितनारायण श्रेष्ठको पक्षमा माहोल केन्द्रित भएको कांग्रेसले बताउँदै आएको छ । आक्रमक प्रचारमा एमाले एमालले आफ्नो चुनावी प्रचारलाई आक्रमकरूपमा अगाडि बढाएको छ । चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमालेले आफ्नो प्रचारलाई घरघरसम्मै लगेको छ ।

स्थानीय कार्यकर्तालाई दैनिक परिचालन गर्दै आएको एमाललेले आमजनताबीच आफ्ना एजेन्डा लगिरहेको एमाले जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार रामप्रसाद न्यौपानेले बताए । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म जनताकै बीचमा रहने गरेको बताउँदै न्यौपानेले विगतभन्दा यसपटकको प्रचारमा धेरै मेहनत गरिएको जानकारी दिए । समाजमा रहेका अनेक भ्रमहरू चिर्दै स्थायित्व र अपनत्वका लागि आफूले हरेक नागरिकसँग साक्षात्कार गर्दै आएको जानकारी दिए । जिल्ला, पालिका, वडा, टोल कमिटीलाई परिचालन गरिएको जानकारी दिँदै उनले जहाँ जसको आवश्यक हो त्यो पुग्ने र आफ्ना कुरा प्रस्टसँग राख्ने वातवारण बनाएर प्रचारमा लागिएको बताए । यसपटक एमालेको जनमत २०७४ को निर्वाचनको परिणामअनुसार प्राप्त हुनेमा आपूm ढुक्क रहेको जानकारी दिए । नेकपा एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज भएको न्यौपानेले बताए । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने लक्ष्यसहित अगाडि बढेको बताउँदै न्यौपानेले घरदैलोका क्रममा कोणसभा गर्दै आफ्नो एजेन्डा जनतालाई जानकारी गराउँदै आएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना