कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिस्टर्डको कार्यालय ‘घुस खाने’ अड्डाका रूपमा चिनिनु राम्रो संकेत होइन । सरकारी कार्यालय र कर्मचारीप्रति आमसर्वसाधारण नकारात्मक भइरहेका बेला घुस दिएपछि मात्रै काम फत्ते हुने परिपाटीले रजिस्टर्ड कार्यालयप्रतिको हेराइ सकारात्मक हुने कुरै भएन । जनताकै करबाट तलब खाने कर्मचारीले जनता काममा अवरोध गर्छन् भन्ने भाष्य स्थापित हुँदै गएको अहिलेको अवस्थामा घुसबिना फाइलै अघि नबढ्ने प्रवृत्तिले कम्पनी रजिस्टर्डका कर्मचारीप्रति मात्रै हैन अन्य सरकारी कर्मचारीलाई सर्वसाधारणले ‘घुस्याहा’का रूपमा बुझ्न थालेका छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा अन्य सरकारी कार्यालयको तुलनामा कम्पनी रजिस्टर्ड फरक छ । किनकि, यो कार्यालय मुलुकका लागि मेरुदण्डसरह हुन् । कम्पनीसँग सम्बन्धित सबै काम यही कार्यालयबाट हुने भएकाले मुलुकको आर्थिक अवस्थासँग यो संस्थाको पनि सम्बन्ध गाँसिएको छ । जुन संस्थाले मुलुकभरका ३ लाख बढी कम्पनीको काम गर्छ भने त्यो मुलुकमा सञ्चालिक कम्पनीलाई व्यवस्थित बनाउन पनि कार्यालयको भूमिका अहम् हुन्छ । कम्पनीलाई व्यवस्थित बनाउने बहानामा अनावश्यक झन्झट दिने काम भयो भने कम्पनी त फस्टाउँदैन नै, रजिस्टर्ड कार्यालको साख पनि जोगिँदैन । मुलुकको प्रचलित नियमअनुसार नचल्ने कम्पनीलाई कारबाही वा कानुनबमोजिमका नसिहत दिएकोमा गुनासो गर्न मिल्दैन तर, नियम सम्बद्ध चलेका संस्थाका हकमा पनि नवीकरण, दर्ता जस्ता काममा अवरोध गरिन्छ र घुस खानकै लागि फाइल अड्काइन्छ भन्ने शह्य हुँदैन ।
पछिल्लो समय धेरै सरकारी कार्यालयमा अनलाइन सिस्टमको विकास गरिएको छ । सेवाग्राहीको काम छिटोछरितो र पारदर्शी होस् भन्नकै लागि अनलाइन सिस्टमको व्यवस्था गरिएको हो । जुन सिस्टम रजिस्टर्ड कार्यालयमा पनि छ । दुःखको कुरा अनलाइनबाट सबै फर्म भरे पनि अन्तिममा फाइल सदर गर्न भौतिक उपस्थिति हुनैपर्ने नियम बनाइएको छ। सेवाग्राहीकै गुनासोलाई आधार मान्ने हो भने अन्तिममा भौतिक उपस्थिति हुनैपर्ने नियम मात्रै रिसवत लिनका लागि हो । यदि अनलाइनबाट फाइल अपलोड गर्न मिल्छ र नियमअनुसार तिर्न पर्ने शुल्क तिरेको जानकारी रजिस्टर्ड कार्यालयलाई अनलाइनबाट दिन मिल्छ भने कार्यालयले पनि सेवाग्राहीलाई अनलाइनबाटै काम फत्ते भएको प्रमाणीकरण किन नगरिदिने ? एकाध कर्मचारीले बद्मासी गरे होलान् । केहीले बद्मासी गरे भन्दैमा आमकर्मचारीलाई अभियोग लगाउन मिल्दैन तर, अहिले कतिपय सरकारी कार्यालयका सीमित कर्मचारीका आचरणका कारण आमकर्मचारीमाथि सर्वसाधारणले प्रश्न गर्ने गरेका छन् । यो वातावरण अन्त्यका लागि अब रजिस्टर्ड कार्यालयले सम्पूर्ण काम अनलाइनबाटै पूरा गर्नेमा पहल गर्नुपर्छ ।