इटहरी–धरान सीमा विवाद उत्कर्षमा

इटहरी । गत आइतबार साँझ सामाजिक सञ्जालमा एउटा तस्बिर बाहिरियो । जहाँ इटहरी उपमहानगरपालिका वडा नं. २० स्थित तरहराको पानीपियामा धरान उपमहानगरले स्वागत बोर्ड राखेको दृश्य थियो । इटहरी क्षेत्रमा आफ्नो सिमाना परेको दाबी गर्दैै धरान उपमहानगरकाका नगरप्रमुख हर्क साम्पाङको निर्देशनमा बोर्ड राख्न निर्देशन दिएसँगै नगर प्रहरी र कर्मचारीले बोर्ड राखे ।

लगत्तै सोही राति युवा संघ इटहरीले सो बोर्ड उखेलेपछि अहिले दुई उपमहानगरपालिकाबीचको सीमाको विषयलाई लिएर विवाद चर्किएको छ ।

बोर्ड हटाएपछि आफूले कारबाही गर्ने बताएका धरानका नगरप्रमुख साम्पाङले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आफूले सीमा खोज्नु अधिकार भएको बताएका छन् । उनले आफ्नो क्षेत्राधिकार यकिन गर्नु कर्तव्य भएको भन्दै संघीय सरकार र नापी विभागद्वारा जारी नक्साका आधारमा पानीपिया क्षेत्रमा सीमा प्रारम्भको बोर्ड लगाएको बताएका हुन् ।

‘सरकारले लगाएको आधिकारिक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कोही कसैलाई छैन र हुनुहुँदैन, त्यसो भएको हुँदा कसुरदार पक्षलाई कानुनी कारबाहीको माग गर्दछु,’ नगरप्रमुख साम्पाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा जस्ताको त्यस्तै लगाइदिन सम्बन्धित पालिका र सम्बन्धित निकायमा माग गर्दछु ।’

आधिकारिक नक्सामा धरानको सीमा पानीपिया नै रहेको धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठको दाबी छ । उनले सेउती पुल इलाका प्रहरीको सीमा तथा सामुदायिक वन समितिले निर्धारण गरेको सीमा क्षेत्र भएकाले उपमहानगरलाई भने त्यो आधिकारिक नहुने उनले बताए ।

यता, इटहरी उपमहानगरपालिकाले सीमा विवाद झिकेर द्वन्द्व फैलाउन खोजिएको भन्दै संवादमा आउन आग्रह गरेको छ । ‘इटहरी र धरान दुई उपमहानगरपालिकाबीचको सीमासम्बन्धी विषयलाई लिएर विगत केही दिनदेखि भइरहेको क्रियाकलाप र गतिविधिबाट हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले भने, ‘आज देशको सिमाना अतिक्रमण भएको भन्ने विभिन्न माध्यमबाट आवाज उठिरहेको अवस्था छ, हामी आपसमा विभाजित भएर होइन कि एकमत र एकजुट भई देशको सीमा रक्षा गर्नुपर्नेछ ।’

युवा संघले बोर्ड उलेखेपछि धरानका नगरप्रमुख साम्पाङले कारबाहीका लागि उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही नगर्न इटहरी उपमहानगरपालिकाले माग गरेको छ । इटहरीका नगरप्रमुख पौडेलले यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई मागपत्रमार्फत बोर्ड हटाएको विषयमा युवा संघ इटहरीमा आबद्व कोही कसैलाई कारबाही नगर्न भनेका छन् । ‘यदि, कारबाही गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना धरानका नगरप्रमुख साम्पाङ र कारबाही गर्ने निकायले बेर्होनुपर्नेछ,’ मागपत्रमा भनिएको छ ।

जिल्ला प्रशासनलाई पठाएको मागपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवं सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पठाइएको छ ।

सीमा विवादलाई वार्तामार्फत समाधान गर्न इटहरीका नगरप्रमुख पौडेलले धरानका नगरप्रमुख साम्पाङलाई आग्रहसमेत गरेका छन् । ‘संवेदनशील र गम्भीर विषयलाई लिएर अन्तरपालिकाको साझा समस्या आपसी संवाद, सहमति र सहकार्यबाट गर्न इटहरी तयार छ,’ पौडेलले भने ।

२०१० सालभन्दा अगाडिबाट इटहरीकोे सीमा सेउती पुल रहेको ऐतिहासिक तथ्य रहेको उनको दाबी छ । इटहरी र धरानका नागरिकबीच कुनै पनि किसिमको कलह, द्वन्द्व, द्वैष, वैमनश्यता र मतभेद सिर्जना हुने किसिमका कार्य नगर्न÷नगराउन इटहरीका नगरप्रमुख पौडेलको आग्रह छ ।

सीमासम्बन्धी हेर्ने सम्बन्धित निकायसँगको सहकार्यमा वार्तामार्फत् समाधान गर्न आग्रह गर्दै नगरप्रमुख पौडेलले यसलाई जिम्मेवार व्यक्ति र अन्य नागरिकलाई पनि धैर्य रहन आग्रह गरेका छन् । इटहरी र धरानका वन उपभोक्ता समितिहरूले सेउती पुललाई सीमा मानेर सोहीअनुसार वनको उपभोग, रेखदेख, संरक्षण, सम्बद्र्धन गर्दै आएका भए पनि उपमहानगरले अचानक, वार्ता र संवाद नै नगरी इटहरी क्षेत्रमा सीमा प्रारम्भको बोर्ड राख्नु अस्वाभाविक भएको पौडेलले बताए ।

‘ऐतिहासिक तथ्यलाई ख्याल गर्दै यस्ता संवेदनशील र गम्भीर विषयलाई अन्तरपालिकाका साझा समस्यामा धरान नगरप्रमुखसँग बसेर छलफल गरी संवाद, सहमति र सहकार्य गर्न म तयार छु,’ इटहरी नगरप्रमुख पौडेलले भने, ‘धरान र इटहरीका नागरिकबीचमा कुनै किसिमको कलह, द्वन्द्व, द्वैष, वैमनश्यता, मतभेद, सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’

शृंखलाबद्व विवाद
इटहरी र धरानबीचको सिमाना उल्झिएको अहिले मात्र भने होइन । पानीपियाबाट करिब ५ किलोमिटर उत्तर सेउती पुल आउँछ । अहिलेसम्म इटहरी र धरानको सिमाना सोही पुलले निर्धारण गर्दै आएको छ । सेउती पुलसम्म इटहरीले नै भोगचलन गर्दै आएको छ । तर, सीमासम्बन्धी विवाद भने यसअघि नै भएको हो ।

पहिलोपटक २०६६ सालमा, दोस्रोपटक २०७४ सालमा, तेस्रोपटक २०७६ सालमा र अहिले २०८० सालमा गरी चौथोपटक विवाद आएको हो । २०७४ सालमा इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरी र धरानकी तत्कालीन कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीबीच सीमा विवादसम्बन्धी धरानमा छलफल भएको थियो । छलफलले सिमाना यकिन गर्ने सहमति गरे पनि सोपश्चान् थप पहल भने भएन ।

त्यस्तै, २०७६ सालको उपनिर्वाचनमा निर्वाचित भएका धरानका नगरप्रमुख तिलक राईको समयमा पनि सीमा विवादले ‘स्पेस’ पायो । तर, उनको कार्यकालमा पनि सीमा विवाद निष्कर्षमा पुग्न सकेन । यसपटक पनि धरानले आफ्नो क्षेत्राधिकार पर्ने भन्दै पानीपियामा बोर्ड राखेपछि सीमा विवाद उत्कर्षमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध