नागरिकता विधेयक राजपत्रमा प्रकाशित

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको हो ।

राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ।

२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ऐनमा गरिएको छ।

यसैगरी, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिका हकमा नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, बाबुको पहिचान नभएर वंशजको नागरिकता लिएको छ र बाबु विदेशी ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने व्यवस्था ऐनमा छ।

नयाँ ऐनमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ। गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालमा रहँदाको आफ्नो नागरिकता अथवा बाबु, आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ।

तपाइको प्रतिक्रिया
(Visited 630 times, 1 visits today)

epaper

ताजा समाचार

विपद्लाई मध्यनजर गर्दै झापामा सशस्त्रद्वारा सचेतनामूलक माइकिङ तथा उद्धारको तयारी