सिन्धुली । कमलामाई नगरपालिकाले नगरभित्रका नागरिकलाई सहज र सुलभ मुल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्तिका लागि सुलभ घुम्ति पसल सेवा सुरु गरेको छ । नगरपालिकाले शनिबारदेखि नै उक्त सेवा सुरु गरेको जनाएको छ । अतिआवश्यक सामान खरिदको बाहनामा बाहिर नागरिकहरु निस्कन थालेपछि नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरि सेवा सुरु गरेको हो ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा शनिबार विहान सिन्धुलीमाढीमा बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको थियो । पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिइएको छ ।
उक्त बैठकले सिन्धुली अस्पतालमा १४ वटा आइसोलेसन वेड बनाउने र एपोलो अस्पतालमा थप आइसोलेसन वेड तयार गर्ने निर्णय गरेको छ । हाल अस्पतालमा ३ वटा वेड सञ्चालनमा थिए । कमलामाई नगरपालिका वडा नं. ६ राममाढीमा रहेको मोडर्न एपोलो अस्पतालमा १५ वेडको आइसोलेसन बनाउन सकिने सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मण खड्काले बताए । यस्तै नगरपालिकाले अस्पतालको आइसोलेसनका लागि ३ वटा मोनिटर तत्काल थप गर्ने समेत भएको छ ।
बैठकले सिन्धुली अस्पतालका लागि अत्यावश्यक हेमाटोलोजी एनालाईजर र अन्य सामग्रीहरु समेत नगरपालिकाले उपलब्ध गराउने निर्णय भएको कमलामाई नगरपालिकाका सूचना अधिकारी सागर कुमार ढकालले बताए । यस्तै बैठकले कुनै पनि वहानामा र कुनै पनि समय बाहिर निस्कने, संगसगै हिड्ने तथा जमघट वढाउनेलाई हदैसम्मको कारवाही गर्ने निर्णय समेत गरेको ढकालले बताए ।