प्रजातान्त्रिक समाजवादको विकसित स्वरूप खोज्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भदौको अन्तिम साता पार्टीको नीति महाधिवेशन गर्ने तयारी गरेको छ । १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व छानेको कांग्रेसले महाधिवेशन सकिएको १८ महिनापछि पार्टीको नीति महाधिवेशन गर्ने तयारी गरेको हो ।

नीति महाधिवेशन भदौमा

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भदौभित्रै पार्टीको नीति महाधिवेशन गर्नेगरी तयारी अघि बढाइएकोे जानकारी दिए । ‘भदौभित्र नीति महाधिवेशन गर्नेगरी तयारी भइरहेको छ, बजेटमाथिको छलफल सकिएपछि केन्द्रीय समिति बैठक बसेर नीति महाधिवेशनको मिति तय हुन्छ,’ कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले राजधानीसँग भने । विश्वकर्माका अनुसार बीपी कोइरालाकै पालादेखि अवलम्बन गर्दै आइरहेको प्रजातान्त्रिक समाजवादको अवधारणालाई यथावत राख्नेगरी कांग्रेस नीति महाधिवेशनमा जानेछ । ‘बीपी कोइरालाकै पालादेखिको प्रजातान्त्रिक समाजवाद छाड्दैनौं, प्रजातान्त्रिक समाजवादको नयाँ स्वरूप भने नीति महाधिवेशनबाट खोज्छौं,’ विश्वकर्माले अघि थपे ।

कांग्रेसले नीति महाधिवेशनमार्फत पार्टीको राजनीतिक तथा आर्थिक दृष्टिकोणसमेत तय गर्नेछ । यसैगरी, परराष्ट्र सम्बन्ध तथा नीति सामाजिक तथा सांस्कृतिक नीति कस्तो हुने भन्ने विषयमा समेत कांग्रेसले नीति महाधिवेशनमार्फत प्रस्ट पार्नेछ । कांग्रेसले यसअघि १३औं महाधिवेशनमा भने पार्टीको नीति र नेतृत्व एकैपटक निर्धारण गर्ने गरेको थियो । तर, २०७८ मंसिरमा सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट भने कांग्रेसले पहिले नेता चयन गर्ने नीति अवलम्बन गरेको हो ।

कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीको नीति तय गर्न छुट्टै अधिवेशन बोलाउने व्यवस्था गरिएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक २०७९ भदौयता बस्न सकेको छैन । पार्टीका महत्वपूर्ण निर्णयहरू कांग्रेसले पदाधिकारी बैठकबाट नै गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ