सीता दाहालको बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान नर्भिक अस्पतालमा उनले पार्थिव शरीर त्याग गरेको घोषणा भयो । दाहालका लागि यो अत्यन्तै पीडादायक क्षण हो । जतिसुकै कठोर हृदयको व्यक्ति भए पनि वा सुदृढ मनोबल भए पनि जीवनसंगिनी गुमाउनुको पीडा असहनीय हुन्छ । दाहालको यतिबेलाको मनस्थिति वर्णन गर्न शब्दभण्डार कम हुन्छ । त्यसमाथि पछिल्लो सार्वजनिक भएका व्यवहार हेर्दा आफ्नी पत्नी सीताप्रति उनी ‘प्रचण्ड’ होइन साँच्चिकै पुष्पझैं कमलो थियो भन्ने देखिन्छ ।

दाहालले पत्नी सीताको उपचार वा हेरचाहमा ‘बदनामी’ वा आलोचनालाई पूरै बेवास्ता गर्दै अधिकतम ध्यान पु¥याएका थिए भन्नु अत्युक्ति नहोला । पुष्पकमल दाहाल एवं उनकी छोरीलगायत शोक सन्तप्त परिवारजनलाई परमात्माले धैर्य धारण गर्ने शक्ति दिउन् ।

यो मुलुकलाई माओवादीको सशस्त्र संघर्षले अकल्पनीय कष्ट दियो । मुलुकका असंख्य भौतिक संरचना नष्ट भए । साँच्चै भन्ने हो भने नेपाल राष्ट्र कैयन् वर्ष पछाडि धकेलियो । हजारौं नेपाल आमाका सन्तानले अकालमा ज्यान गुमाए । सीता दाहाल त लामो दुसाध्य रोगका कारण एउटा उमेर पुगेपछि संसारबाट बिदा भएकी हुन् । हजारौं नेपाली आमा बुबाहरू आफ्ना जवान प्रियजनको अप्रत्यासित मृत्युको खबरले आक्रान्त भए होलान् । आजपर्यन्त कति आमाबुबा, पतिपत्नी, छोराछोरी र दाजुभाइ दिदीबहिनी रोइरहेका होलान् । दाहालले यो पीडाको थोरै अनुभूति छोरी ज्ञानु र छोरा प्रकाशको निधनको बेला गरेका थिए होलान् र आज पत्नी सीतालाई गुमाउनुपर्दा गर्दै होलान् । मुलुकको भाग्य कोर्ने सौभाग्य पाउने व्यक्तिमा भित्री हृदयबाट आमजनताको यो संवेदना बुझ्ने क्षमता जाग्यो भने त्यो अत्यन्तै सकारात्मक कुरो हो । भगवान्ले प्रधानमन्त्री दाहाललाई आमनिमुखा गरिब नेपालीको संवेदना बुझ्ने असीमित शक्ति प्रदान गरून् ।

माओवादी जनयुद्धप्रति राजनीतिक रूपमा पूरै असहमत हुने हक जो कसैलाई छ । यसको हत्या हिंसा र लुटपाट आदि इत्यादि नकारात्मक पक्षलाई पकडेर घोर आलोचनामा ओर्लने स्वतन्त्रता पनि सबैलाई छ । तर, माओवादी जनयुद्धका प्रखर आलोचकले पनि यो घटना नेपालको राजनीतिक इतिहासको कहिल्यै उखेल्न नसकिने कोसेढुंगा हो भनेर मान्नुपर्ने हुन्छ । झिनो रूपमा दबिएको वा कतै कुनाकन्तरामा लुकेको अनि हदै भए प्राज्ञिक छलफलमा सीमित गणतन्त्र स्थापनाको सबैभन्दा महत्वपूर्ण कारकतत्व यही जनयुद्ध थियो भन्ने कुरो पनि स्वीकार्नै पर्नेहुन्छ । गणतन्त्र आइसकेपश्चात् देखापरेको विसंगति र विकृति’bout यथेष्ट बहस पनि हुन सक्ला । तर, गणतन्त्र आजको यथार्थ हो ।

माओवादी जनयुद्धको अर्को एउटा अत्यन्तै महत्वपूर्ण एवं युगान्तकारी पक्ष पनि छ । त्यो हो त्यसले गर्दा नेपाली समाजको अत्यन्तै पिछडिएका वर्गमा आएको आत्मविश्वास एवं जागरुकता । माओवादी जनयुद्धमा कथित अछुट भनिने दलित समुदायको ठूलो सहभागिता थियो । त्यस्तै, नेपालको अत्यन्तै विकट क्षेत्रका महिलाको पनि सहभागिता थियो । कुनै एक वा दुई ‘चम्किएका’ व्यक्तित्वको कुरा नगरौं । समग्रमा दलित समुदायलाई ‘म मानिस हुँ’ भन्ने चेतनासम्म थिएन । ‘मेरो जन्मजात काम ठूलाले लाए अह्राएको फोहोरी काम गर्ने हो’ भन्ने मानसिकतालाई स्थापित मान्यताका रूपमा बोकेका यो समुदाय आफूलाई दोस्रो तेस्रो दर्जाको नागरिकका रूपमा स्विकार्थे । साँच्चिकै भन्ने हो भने कथित ठूलासँग आँखा उठाएर हेर्नेसम्म हिम्मत पनि थिएन । त्यस्तै, अवस्था महिला र विशेषतः विकट दुर्गम क्षेत्रका महिलाको थियो । पतिको आज्ञाकारी सेविका अनि सन्तान उत्पादन मेसिन वा अझ पुरुषको इच्छा लागेको बेलाको भोगविलासको साधनका रूपमा थियो भन्दा अत्युक्ति त नहोला कि † त्यसमाथि ती महिला सामाजिक संरचनामा तल्लो दलित समुदायकी परिन् भने त ‘मुर्दा माथि कात्रो’ हुने नै भयो । जे जसरी भए पनि वा नकारात्मक उत्प्रेरणाकै कारण भए पनि दलित समुदाय र दुर्गम क्षेत्रका महिला जनयुद्धमा सामेल मात्र भएनन् अपितु बढी नै सक्रिय भए । आज दलित समुदाय तुलनात्मक रूपमा ‘म पनि मानिस हुँ’ भन्न सक्ने अवस्थामा पुगेको छ । मानव अधिकारजस्ता विषयमा आफ्नो पनि हक स्थापित होस् भन्ने आवाज उठाउन जान्ने भएको छ । महिलामा पनि तुलनात्मक रूपमा निकै सजगता र सचेतना बढेको देखिन्छ । समग्र राष्ट्रको दृष्टिले हेर्दा थोरै मात्र भए पनि यो सामाजिक परिवर्तन अत्यन्तै महत्वपूर्ण छ । सामान्य अवस्थामा यसखाले परिवर्तन आउन अत्यन्तै कठिन थियो, ठूलै मेहनतको आवश्यकता पथ्र्याे ।

सीता दाहाल पुष्पकमल दाहालकी पत्नी मात्र थिइनन् । उनी माओवादी जनयुद्धका सक्रिय अग्रपंक्तिकी व्यक्ति थिइन् । गणतन्त्र स्थापनाजस्तो राजनीतिक कोसेढुंगा र दलित एवं महिला उत्थानजस्तो अत्यन्तै महत्वपूर्ण सामाजिक परिवर्तनका अग्रपंक्तिका व्यक्तित्व सीता दाहाल त्यस आन्दोलनका मुख्य कमान्डर प्रचण्डकी अनन्य सहयोगी पनि थिइन् †
सीता दाहाललाई भगवानले आफूमा समाहित गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी