पारिश्रमिक कटौतीमा रोनाल्डो राजी

रोम । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वमा यसको ठूलो प्रभाव परेको छ । यसले विश्व अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्ने निश्चित छ । त्यसबाट विश्वको खेलकुद गतिविधि पनि अछुतो रहने छैन । विश्व फुटबलमा तहल्का मच्चाइरहेका क्लबहरू प्रायोजकमार्फत नै धानिइरहेका छन् । अब विश्व अर्थतन्त्रमा देखिने प्रभाव फुटबलमा पनि देखिन सक्नेछ । फुटबल रोकिएपछि क्लबहरूको आम्दानीमा प्रत्यक्ष असर परेको छ ।

क्लबहरूले मोटो रकममा अनुबन्ध गरेका खेलाडीको पारिश्रमिक कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस विषयमा स्पेनिस क्लब बार्सिलोनाको ‘डे«सिङ रुम’ नै विभाजित बनेको खबर स्पेनिस सञ्चार माध्यममा छाएको थियो । केही खेलाडी पारिश्रमिक कटौतीमा राजी देखिँदा केही खेलाडी यसको विपक्षमा उभिएका थिए । त्यसैले बार्सिलोनाले यस विषयमा निर्णय लिन सकेको छैन ।

इटालीयन क्लब युभेन्टसले पनि खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा सुपर स्टार क्रिस्टियानो रोनाल्डो पनि आफ्नो पारिश्रमिक कटौतीका लागि राजी भएका छन् । युभेन्ट्सबाट लिने पारिश्रमिकमध्ये रोनाल्डोको ३.८ युरो मिलियन कटौती हुने बताइएको छ । युभेन्टसका कप्तान जर्जियो चिलियनी र पोर्चुगिज सुपर स्टारबीचको छलफलपछि पारिश्रमिक कटौतीमा सहमति बनेको थियो । रोनाल्डोले वार्षिक रूपमा ३१ मिलियन युरो पारिश्रमिक लिँदै आएका छन् ।

रोनाल्डो मात्र होइन क्लबका अन्य खेलाडीले चार महिनाको पारिश्रमिक कटौतीका लागि तयार भएको छ । पोर्चुगलका स्टार रोनाल्डोसहितका सहकर्मी र प्रशिक्षक मौरिसियो सार्रीले मार्च, अप्रिल, मे र जुनमा प्राप्त गर्ने मासिक तलब बराबरको रकम छाड्न सहमती जनाएका छन् । खेलाडीले चार महिनाको पारिश्रमिक छाड्ने सहमति भएसँगै क्लबलाई झन्डै ८० मिलियन पाउन्ड राहत मिलेको छ ।

कोरोनाको महामारीबाट प्रभावित क्लबलाई आर्थिक सहयोग गर्न खेलाडीहरू चार महिनाको तलब छाड्न सहमत भएको युभेन्ट्सले जनाएको छ । ‘क्लब सबै खेलाडीलाई तथा प्रशिक्षकले कठिन समयमा दिएको साथका लागि धन्यवाद दिन्छ ।’ युभेन्ट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । युरोपका मुख्य क्लबहरूले खेलाडीको तलबमा कटौती गरेका छन् । जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमन्डका खेलाडीले समेत तलब कटौतीको प्रस्तावमा सहमति जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा