न्योन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले अहिले विश्वभर सबै खाले खेल गतिविधि गतिविधि ठप्प छ । यसबाट विश्वमा बढी रुचाइने वा बढी हेरिने फुटबल पनि अछुतो रहन सकेको छैन । विश्वकै चर्चित खेल फुटबल यसरी रोकिँदा सबैतिर अन्योल बढेको छ । अहिले फुटबलप्रेमीको चासो कोरोना त्रास कहिले रोकिएला अनि फेरि फुटबल कहिले सुरु होला भन्ने छ ।
विश्वमै चर्चित लिगहरू इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग, स्पेनको स्पेनिस ला लिगा, जर्मनको बुन्डेस लिगा, फ्रान्सको फ्रेन्च लिग वान र इटालीको इटालियन सिरी ‘ए’सँगै युरोपको क्लब फुटबलको चर्चित प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग अप्रिल ३० सम्मका लागि स्थगित छन् । टोकियो ओलम्पिक, युरोकप, कोपा अमेरिका कपजस्ता महादेशीय फुटबल अर्को वर्षलाई सारिएको छ ।
त्यसो त यो सिजनको उत्तरार्धमा रहेको फुटबल कहिले सुरु होला ? भनिहाल्ने स्थिति बनेको छैन । खेलाडीले खेल्न र दर्शकले हेर्न पाएका छैनन् । खेलाडीहरू सेल्फ क्वारेन्टाइनमा रहँदै आफंैलाई फिट राखे पनि खेल सुचारु भएपछि उनीको प्रदर्शन कस्तो हुने हो, त्यो पनि हेर्न बाँकी छ । लिग सुचारु हुने वा नहुने अन्योल चलिरहँदा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)का अध्यक्ष अलेक्जेन्डर सेफरिनले कोरोनाले गर्दा यो सिजन नै अन्त्य हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
उनले जुनको अन्तिमसम्म पनि खेल सुरु हुन नसके यो सिजनको फुटबल सकिने सम्भावना रहेको बताएका छन् । ‘कोरोना भाइरसको कारण युरोपसँगै अन्य महादेशको सबै लिग स्थगित छ । यदि हामीले फेरि सुरुवात गर्न सकेनौ भने सिजन सम्भवतः सकिनेछ,’ सेफेरिनले भने, ‘युरोपको मुख्य फुटबल लिगमा अहिले ९ देखि १२ राउन्डको खेल बाँकी छ । इंग्ल्यान्डमा अप्रिल ३० सम्मका लागि फुटबल स्थगित छ । तर, त्यो मितिमा फुटबल फेरि सुरु हुन्छ वा हुँदैन भन्न सक्ने अवस्था पनि छैन ।
यस्तै, अध्यक्ष सेफरिनले युरोपेली फुटबलका विषयमा आफ्नो तीनवटा योजना मेको मध्यतिर सिजन सुरु गर्ने, जुनमा सुरु गर्ने वा जुनको अन्तिममा सुरु गर्ने रहेको बताए । अध्यक्ष सेफरिनले बाँकी रहेको खेलहरू युरोपभर क्लोज डोरमा खेलाउने विकल्प रहेको समेत थपे । ‘क्लोज डोरमा सबै खेल खेलाउने सोच्नु पनि कठिन विषय हो तर हामीलाई अहिलेसम्म थाहा छैन कि खेलहरू दर्शकसहित सुरु हुन्छ वा हुँदैन । यदि कुनै अल्टरनेटिभ नभए च्याम्पियनसिप सक्नुको विकल्प नै छैन,’ सेफरिनले भने, ‘युरो कप सारिएको छ । हरेक आपतकाल हाम्रो पनि आपतकाल हो । हरेक क्लब हाम्रो पनि क्लब हो ।
अब लिग, क्लब र खेलाडीहरूको प्रतिनिधिसँग भिडियो कन्फरेन्स गरी निर्णयमा पुग्दै एकता र एकताको उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ,’ उनले अहिलेको मत भिन्नताको बाबजुत पनि फिफा अध्यक्ष जियानी इनफान्टिोसँग छलफल भइरहेको बताउँदै व्यक्तिगत चासो र असहमति बिर्सनु महत्वपूर्ण रहेको थपे ।






