शम्भुजित बास्कोटा : जसले निरन्तर तीन दशक नेपाली चलचित्र संगीतमा राज गरे

नेपाली संगीत क्षेत्रमा ‘मेलोडी राजा’को रूपमा वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको परिचय बनेको छ । २०३० को दशकबाट उनले सुगम संगीत सिर्जनासँगै सांगीतिक यात्रा सुरु गरेका थिए । हालसम्म उनले चलचित्र र अन्य विधा गरेर करिब तीन हजार गीतमा संगीत सिर्जना गरिसकेका छन् । २०४१ सालमा निर्मित चलचित्र के घर के डेराबाट बास्कोटाले संगीतकारका रूपमा चलचित्र यात्रा सुरु गरे । त्यसपछि हालसम्म बास्कोटाले ३६९ वटा चलचित्रमा संगीत सिर्जना गरिसकेका छन् । उनले संगीत गरेको नयाँ चलचित्र जय हो को नयाँ गीत जोमसोमको डाँडैमा… यसै साता रिलिज भएको हो । यो गीत यति बेला रुचाइएको छ । शम्भुजित ती संगीतकार हुन् । जसले तीन दशकसम्म नेपाली चलचित्र संगीतमा एकछत्र राज गरे । विदेशी फिल्म संगीतको प्रभावलाई नेपाली चलचित्रको संगीतमार्फत निर्माल पार्न अविरल योगदान दिए । नेपाली चलचित्रको संगीतलाई अन्तर्राष्ट्रिय उचाइमा पु-याए । यसरी नेपालमा सबैभन्दा बढी चलचित्रमा गुणस्तीय संगीत सिर्जना गर्ने यिनै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँग राजधानी दैनिकका डब्बु क्षेत्रीद्वारा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

२०३० को दशकमा यहाँले संगीत सिर्जना सुरु गर्दा नेपाली संगीतको अवस्था कस्तो थियो ?
जति बेला म नेपाली संगीत सिर्जनामा आएको थिएँ । त्यतिबेला मभन्दा अग्रज संगीतकारज्यू सिर्जना आइरहेका थिए । तर, त्यतिबेला नेपालीमा भारतीय संगीतको प्रभाव थियो । त्यतिबेला भारतमा फिल्मी गीत तथा सुगम संगीतको निकै राम्रो अवस्था थियो । भारतीय संगीत निकै विकसित भएको थियो । हाम्रा अग्रज पनि नेपाली संगीतलाई माथि उठाउने कार्यमा लागिरहनुभएको थियो । तैपनि हाम्रो उत्पादनका तुलनामा भारतीय उत्पादन उत्कृष्ट थिए । भारतीय गीतको बजार अन्तर्राष्ट्रिय थियो । हाम्रो लिपि, संस्कृति, भाषासँगै हिन्दी भाषा नजिक भएकाले पनि त्यो समय भारतीय गीतको दबदबा नेपालमा हुनु अस्वाभाविक थिएन । नेपाली गीत बज्ने एउटा मात्र माध्यम त्यतिबेला रेडियो नेपाल थियो । त्यसैले यहाँ रेडियो सिलोङमा नेपालीसँगै हिन्दी गीत सुन्ने चलन थियो । नेपालमा भारतीय चलचित्र पनि त्यतिबेला त्यत्तिकै आउँथ्यो । ती हरेक फिल्ममा गीत हुने हुँदा फिल्मका माध्यमबाट पनि भारतीय फिल्मी गीतको प्रभाव त्यत्तिकै थियो ।

भारतीय संगीतको त्यो प्रभावलाई घटाउन यहाँले कस्तो संघर्ष गर्नुप-यो ?
प्रतिस्पर्धा त अवस्वथ हुन्थ्यो । अहिले पनि छ । तथापि हामीभन्दा अग्रज संगीतिक स्रष्टाले एकसे एक गीत ल्याएर स्वदेशी गीत सुन्ने बानी बिस्तारै नेपाली स्रोतामा बसाउन थाल्नु भएको थियो । सोही क्रममा नेपाली संगीतमा हाम्रो पुस्ता आयो । नेपाली संगीतले विश्वमा भएका नेपाली भाषीको मन जित्नुपर्छ र स्रोतालाई अमिट छाप छोड्ने सक्ने गीत हामीले ल्याउनुपर्छ भन्ने कुरामा हामी केन्द्रित भयौं । मलगायत हामी समकालीन संगीतकारले नेपाली स्रोताको रुचिलाई ध्यानमा राखेर गुणस्तीय, माधुर्य, मौलिक र सुगम संगीत सिर्जना गर्दै अघि बढ्यौं । युद्ध जित्न एउटा पल्टनले तयारी गरे झैं हामीले लामो साधना, खोजबाट मेहनत गरेर संगीत सिर्जना गर्दै गयौं । हामीले एउटा गीत सिर्जना गर्दा त्यसको शब्द, संगीत र स्वर गरी तीनवटै पक्षलाई महŒव दियौं । फलस्वरूप नेपाली संगीतको बजार विस्तारमा हामीले उत्पादकलाई प्रेरित गर्दै रेडियोको विकल्पका रूपमा क्यासेट चक्का उत्पादनसँगै बजारको विस्तारमा पनि साथ दियौं । यही क्रममा रेडियोमा नेपाली गीतको फरमाइस पठाएर मन परेका गीत सुन्ने क्रम बढ्यो । घरमै क्यासेट प्लेयरबाट पनि नेपाली गीत सुन्ने चलन फस्टाउँदै गयो ।

एउटा चलचित्रका लागि आवश्यक गीत रेकर्ड गर्न त्यतिबेला भारतमा कति समय लाग्थ्यो ?
मैले पहिलोपटक संगीत गरेको चलचित्र के घर के डेराको गीत कलकत्तामा रेकर्ड गरिएको थियो । त्यतिबेला निकै ठुलो टोली कलकत्ता गएको थियो । त्यसपछि मैले चेलीबेटी, अधिकार देखि विभिन्न चलचित्रको गीत मुम्बईमै रेकर्ड गर्न थालें । चलचित्रका गीतहरू सबै यहीं कम्पोज गरेर तयार पारी सम्बन्धित फिल्मका निर्माता एवं निर्देशक, गायकका गायिकालाई म मुम्बई जान्थें । आर्थिक हिसाबले पनि हामीले चाँडै काम सक्नुपथ्र्यो । त्यसैले हामी साता दश दिनमै सबै गीत तयार गरेर नेपाल फर्कन्थ्यौं । त्यतिबेला एउटा चलचित्रमा ५÷६ वटा गीत हुन्थ्यो । मैले प्याकेजमा एउटा चलचित्रको गीत रेकर्डका लागि ५÷६ लाख रुपैयाँमा सबै जिम्मा लिन्थें ।

नेपालमा भारतीय फिल्मी गीतको दबदबा र प्रभाव घटाउन त निकै समय लाग्यो नि हैन ?
लाग्यो नि । तर, पनि हामी क्रमबद्ध रूपमा एकपछि अर्को गर्दै नेपाली बजारमा हिट गीतहरू ल्याउँदै गयौं । सुगम संगीतलाई अझ गुणस्तीय बनाउन हामीले छिमेकी मुलुकका गुणस्तीय स्टुडियोमा नेपाली संगीत रेकर्ड गर्यौं । जतिबेला नेपालमा भारतीय सिनेमाको संगीतको दबदबा अत्याधिक थियो । सोही क्रममा चलचित्र के घर के डराबाट म संगीतकारका रूपमा नेपाली चलचित्रमा आएको थिएँ । भारतीय कलाकारको स्वरमा भारतीय फिल्म गीत रुचाइरहेका हाम्रो दर्शक स्रोतालाई हामीले तिनै चर्चित भारतीय कलाकारकै स्वरमा नेपाली चलचित्रका गीत दिन थयौं । यस्ता गीतलाई नेपाली दर्शकले निकै उत्साहका साथ ग्रहण गर्नुभयो । उहाँले नेपाली फिल्मका गीत पनि त्यत्तिकै सुन्न थाल्नुभयो । किनकि हामीले मुम्बईका स्टुडियोमा गएर नेपाली चलचित्रका मेलोडी गीत गुणस्तरीय रूपमा सिर्जना गरेर बजारमा ल्यायौं । त्यसका लािग हाम्रा नेपाली चलचित्रका निर्माता निर्देशक पनि धन्यवादका पात्र हुनुहुन्छ । यसरी बिस्तारै नेपाली चलचित्रका गीततर्फ दर्शक स्रोताको आकर्षकण बढ्दै गयो । नेपाली रेडियो टेलिभिजनमा पनि नेपाली गीतको प्रसारणमा महत्व दिएपछि हाम्रो चलचित्रका गीतसंगीतले छिमेकी फिल्मको संगीतिक दबदबालाई घटाउँदै गयो ।

यसरी नेपाली चलचित्रका गीत त्यतिबेला भारतमा रेकर्ड गर्नु कत्तिको उपयुक्त थियो त ?
उनीहरूसँग गुणस्तरका रूपमा पनि प्रतिस्पर्धा गर्न हामीले सोही गुणस्तरको गीत ल्याउनु आवश्यक थियो । नेपालमा त्यतिबेला राम्रा स्टुडियो नहुनुले पनि यसको विकल्प अरू थिएन । त्यहाँका प्रविधि पनि सिक्ने अवसर हामीले पायौं । नेपाली चलचित्रको गीतले बजार लिएपछि हामीले अब नेपालमै गीतसंगीत रेकर्ड गर्नुपर्छ भन्ने निर्णयका साथ चलचित्र अल्लारेको रातो टीका निधारमा…बाट मैले यहाँ फिल्मी गीत रेकर्ड गर्न थालें ।

त्यस समयमा धेरै भारतीय कलाकारसँग यहाँले काम गर्नुभयो । कोसँग चाहिं चाहेर पनि काम गर्न पाउनुभएन ?
हो, मैले त्यतिबेलाका अधिकांश सफल र लोकप्रिय भारतीय गायक गायिकासँग काम गरें । महेन्द्र कपुर जस्तो दिग्गज कलाकारको स्वरमा मैले नेपाली चलचित्रका लागि गीत रेकर्ड गर्ने अवसर पाएँ । त्यतिबेलाका चर्चित कलाकार कुमार सानु, सुरेश वाडकर, अलका याज्ञनी, साधना सरगम जस्ता कैयौं कलाकारको स्वरमा नेपाली चलचित्रका गीत रेकर्ड गरें । लता मंगेस्करज्यूसँग गीत रेकर्ड गर्ने ठूलो चाहना थियो । हामीले चलचित्र पे्रेम पिण्डको गीत उहाँको स्वरमा रेकर्ड गर्ने भनेर तयारी पनि गर्याैं । हामीले चाहेको बेला उहाँको समय प्याक थियो र पछि उहाँलाई कुर्नसक्ने अवस्थामा हामी भएनौं । उहाँबाहेक त्यतिबेलाका सबैसँग मैले नेपाली चलचित्रका गीत रेकर्ड गरें ।

त्यतिबेला फिल्म भारतीय कलाकारलाई नै गीत रेकर्ड गराउनुको कारण के थियो ?
मैले अघि नै भने नि । एक त भारतीय कलाकारमार्फत नेपाली गीत पस्केर नेपाली स्रोतामा नेपाली गीत सुन्ने बानी बसाउनु थियो । अर्कातर्फ हामीले अनुरोध गर्दा उहाँहरूले नेपाली गीत हाम्रो बजेटमा गाउनु हुन्थ्यो । नेपालबाट कलाकार लगेर त्यहाँ राखेर गीत रेकर्ड गराउनभन्दा भारतीय कलाकारको स्वरमा रेकर्ड गराउँदा सस्तो पर्ने भएकाले पनि केही हदसम्म त्यसो गरिएको थियो । तथापि, मैले नेपाली कलाकारलाई पनि त्यतिबेला गीत रेकर्डका लागि मुम्बई लैजाने कार्यमा महत्व दिएँ । सोही क्रममा प्रकाश श्रेष्ठ, आनन्द कार्की, देविका बन्दना, सपना श्री, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई जस्ता थुप्रै कलाकारलाई नियमित रूपमा नेपालबाट मुम्बई लगेर मैले नेपाली चलचित्रका गीत रेकर्ड गराएँ ।

अनि नेपालमा गीत रेकर्ड गर्न सुरुमा कत्तिको असहज भयो त ?
त्यतिबेला हामीले चलचित्र विकास कम्पनीको स्टुडियोबाट गीत रेकर्ड सुरु गर्यौं । चलचित्र प्रेमपिण्डको एउटा गीत हामीले बालाजुको स्टुडियोमा रेकर्ड गर्याैं । त्यो गीत निकै राम्रो बन्यो । त्यतिबेला दीप तुलाधारको सिम्फोनिक स्टुडियो, म्युजिक नेपालको स्टुडियो, तथा प्रदीप उपाध्ययको स्टुडियोले पनि गुणस्तीय रेकर्डिङ सुरु गरिसकेको थियो । भारतको टेकनिक हामीले सबै सिकेका थियौं । सुरुमा निर्माताले केही असहज माने पनि हामीले बिस्तारै नेपाली चलचित्रका गीत नेपालमै रेकर्ड गर्न थाल्यौं । त्यसपछि नेपालमै अन्तर्राष्ट्रिय स्तरका डिजिटल रेकर्डिङ स्टुडियो खुलेपछि यहीं गीतहरू एक सय एक राम्रा बन्न थाले । राम्रा गीतका कारण चलचित्रको बजार पनि माथि उठ्यो । नेपाली चलचित्रका कलाकार र गायक गायिकाको स्टारडम पनि त्यत्तिकै बढ्यो । संगीतले करोडौंको व्यापार नियमित रूपमा गर्न थाल्यो । त्यसपछि नेपाली चलचित्रको गीत रेकर्ड गर्न मुम्बई जानेक्रम अन्त्य भयो ।

तपाईंले यति धेरै गीतमा संगीत गर्नुभएको छ । यहाँका कैयौं गीत टिकटकलगायत अन्य सामाजिक सञ्जालमा दैनिक भाइरल हुन्छन् । यहाँले रोयल्टी त निकै राम्रो पाउनुहुन्छ होला नि ?
नदी बगेजस्तै मैले संगीत सिर्जना निरन्तर गरिरहेको छु । मेरा गीतहरू जताततै बज्छन् । तर, रोयल्टीको कुरा नगरौं । जबसम्म राष्ट्रले कुनै पनि क्षेत्रलाई सम्मानित दृष्टिकोणले संरक्षण दिन सक्दैन, स्रष्टालाई उसको बौद्धिक अधिकारको संरक्षण गर्दैन । उनीहरूको सिर्जनाको उच्च सम्मान गर्दैन । कडा कानुन जबसम्म बन्दैन । सही सिस्टम जबसम्म बस्दैन । तबसम्म रोयल्टीको सपना देख्नु बेकार जस्तो लाग्छ ।

तपाइको प्रतिक्रिया
(Visited 634 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह किन पुगे भक्तपुर ?