जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरको सौन्दर्यीकरण अभियानमा जुटेका युवाले मुख्यमन्त्रीको पोस्टर (होर्डिङ बोर्ड) हटाएका छन् । मासका अध्यक्ष सरोज मिश्रको नेतृत्वमा मन्दिर पुगेका युवाले पूर्वतर्फको द्वारनजिक रहेको पोस्टर हटाएका छन् । पोस्टर हटाइरहेका बेला स्थानीयवासीले ताली बजाएर यो कार्यको स्वागत गरेका थिए ।
दुई साताअघि जानकी मन्दिरको अगाडि रहेको पार्कमा लगाइएको करेसाबारी हटाइएको थियो । करेसाबारीमा रहेको तरकारी हटाएपछि युवाले फूलको बोट लगाएका थिए । मन्दिरको प्रागंणमा रहेको पोस्टरले महत्व र सौन्दर्यतामा आँच आएको बताउँदै पोस्टर हटाउन मधेस सरकारलाई आग्रह गरेको थिए । तर, उनीहरू हटाउन नआएपछि बाध्य भएर हटाइएको मासका अध्यक्ष सरोज मिश्रले बताए ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको विभिन्न ठाउँमा आफ्नो पोस्टर लगाएका छन् । यसअघिका मुख्यमन्त्री लालबाबु राउतले पनि विभिन्न ठाउँमा पोस्टर लगाएका थिए । जसको कडा आलोचना भइरहेको थियो । त्यस्ता आलोचना गर्नेमा वर्तमान मुख्यमन्त्री पनि थिए । तर, मुख्यमन्त्री यादवले पोस्टर राख्ने पूर्वमन्त्रीको अभियानलाई निरन्तरता दिएका छन् । मन्दिरका प्रांगणमा रहेका हिरो मोटरसाइकलका पोस्टर (होर्डिङ बोर्ड) पनि हटाइएको छ ।
‘एकातिर मन्दिरको सौन्दर्यीकरणका बाधकलाई हटाइने कार्य हामीले गरिरहेका छौं भने विगतका दिनमा मन्दिरमा गुणस्तरीय टाइल्स लगाइएकाले अख्तियारले कारबाही गर्नुपर्छ भनेर दबाब पनि दिइरहेका छौं,’ मिश्रले भने ।
मन्दिरको प्रागंगमा मधेस सरकारले टाइल्स लगाएको छ । सो टाइल्सको गुणस्तरीयतालाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ । अख्तियारको टोलीले पनि सो स्थलको निरीक्षण गरेको छ ।






