मकवानपुर । समाजमा हुने आपराधिक गवितिधि नियन्त्रण तथा नियमनका लागि प्रहरी, प्रशासन र अभियानकर्मी लागि परिरहेको भए पनि अपराधको तथ्यांक संख्या भने घट्न सकेको छैन । स्वयं व्यक्ति वा संस्थाको सानातिना त्रुटिका कारणसमेत ठुलाठुला आपराधिक गतिविधि हुने गरेका छन् ।
बाग्मती प्रदेशमा आपराधिक घटना बढ्दो क्रममा रहेको प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आर्थिक वर्ष २०७८–७९ को तुलनामा २०७९–८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार २०७८–७९ मा ४ हजार ४ सय ५ वटा आपराधिक मुद्दा दर्ता भएकोमा २०७९–८० मा बढेर ४ हजार ६ सय ७९ वटा पुगेको छ । २०७८–७९ मा प्रदेशभर कर्तव्य ज्यानसम्बन्धी ५८ वटा मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष ४३ वटा भएको छ ।
तथ्यांकअनुसार ज्यान मार्ने उद्योगसम्बन्धी अपराध आर्थिक वर्ष २०७८–७९ मा ११३ वटा दर्ता भएका छन् । यो शीर्षकमा अघिल्लो आर्थिक वर्षमा ६८ वटा दर्ता भएका थिए । बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीका अनुसार २०७८–७९ मा प्रदेशमा लागूऔषधसम्बन्धी ३ सय ४३ वटा मुद्दा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७९–८० मा ३ सय ६३ वटा मुद्दा दर्ता भएका थिए । बाग्मती प्रदेशमा आर्थिक वर्ष २०७८–७९ मा जबरजस्ती करणीसम्बन्धी मुद्दा २ सय ६५ वटा र करणी उद्योगसम्बन्धी ६८ वटा मुद्दा दर्ता भएको देखिन्छ । यी शीर्षकमा आर्थिक वर्ष ०७९–८० मा क्रमशः जबरजस्ती करणीसम्बन्धी २ सय ६४ वटा र करणी उद्योगसम्बन्धी ६३ वटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा ९ सय २ वटा आत्महत्याको मुद्दा दर्ता हुँदा अघिल्लो आर्थिक वर्ष बढेर ९ सय ४० वटा पुगेको छ ।
आर्थिक वर्ष २०७८–७९ को तुलनामा गत आर्थिक वर्ष २०७९–८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढ्नुमा प्रहरी सक्रियताको कारण रहेको प्रदेश प्रहरीको दाबी छ । ‘आपराधिक घटना हुन नदिन प्रहरीले आफ्नो सक्रियता बढाइरहेकै छ, कतिपय घटना प्रहरीको सक्रियतापछि तथ्यांकमा बढी देखिने र घटना नै बढेको जस्तो लाग्ने हुन्छ,’ बाग्मती प्रदेश प्रहरी प्रवक्ता रेग्मीले भने, ‘अपराध बढ्न नदिन प्रहरीसँगै समुदायको पनि उत्तिकै भूमिका रहने गर्छ ।’
यस्तै, बाग्मती प्रदेश प्रहरी प्रमुख (प्रहरी नायब महानिरीक्षक) किरण राणाले पछिल्लो समय लागूऔषध दुव्र्यसन ठुलो समस्याका रूपमा देखापरेको बताइन् ।
‘लागूऔषध उत्पादन, सेवन र बिक्रीवितरणमै रोक लगाउन बाग्मती प्रदेश अघि बढिरहेको छ,’ उनले भनिन्, ‘यो हामी सबैका लागि चुनौतीको विषय हो ।’
फरार अपराधी पक्राउ, सबै किसिमको तस्करी नियन्त्रण, लागूऔषध खेती, बिक्री वितरण, ओसारपसार र प्रयोगविरुद्ध विशेष अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन् । ‘हामीले गाँजाको विकल्पमा कफी खेती प्रोत्साहन गर्दै आएका छौं, स्थानीय सरकारका तर्फबाट पनि राम्रो प्रतिक्रिया पाएका छौं,’ रानाले भनिन् ।
यसैबीच बाग्मती प्रदेश प्रहरी कार्यालयले चालू आर्थिक वर्षका लागि सञ्चालन गरिने कार्यक्रमको प्राथमिकीकरण गरेको छ । प्रहरी सेवाप्रवाह प्रभावकारी बनाउन जिल्ला प्रहरी कर्याालय मकवानपुरबाट सुरु गरिएको स्मार्ट कन्ट्रोल रुम अवधारणा चालू आर्थिक वर्षमा चितवन, नुवाकोट र काभ्रेमा समेत सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसैगरी, चालू आवमै जनचेतनामूलक कार्यक्रम सञ्चालनको परम्परागत शैलीलाई परिवर्तन गरी सचेतना आवश्यक पर्ने वर्ग, क्षेत्रको पहिचान गर्न जिल्लागत पाँच वर्षको अपराधको गहन विश्लेषण गरी वास्तविक कार्यक्रम सञ्चालनका लागि योजना तयार गरिएको छ ।
चितवन र मकवानपुर जिल्लास्थित बढ्दो अवैध गाँजा–अफिम खेती विस्थापित गरी कृषकलाई कृषि–नगदे बालीतर्फ आकर्षित गर्न पहिलो चरणमा चितवनको राप्ती नगरपालिका र मकवानपुर जिल्लाको राक्सिराङ स्थितमा सरोकारवाला निकाय र स्थानीय तहसँगको समन्वयमा ३५ हजार थान कफीका बिरुवा वृक्षरोपण गरिएको साथै चालू आवमा थप ५ लाख कफीका बिरुवा हस्तान्तरण गर्नेगरी मास्के मल्टिप्रपोज एग्रिकल्चर एन्ड रिसर्च प्रालि चितवन र स्थानीय तहसँग सम्झौताको तयारी भइरहेको डिआइजी रानाले बताइन् ।
यसैगरी, फरार अपराधी पक्राउमा तीव्रता दिने, सबै किसिमको तस्करी नियन्त्रणमा प्रहरी फोर्सलाई अझै चुस्त पारिने, गम्भीर एवं जघन्य पुराना पेन्डिङ मुद्दा सफल अनुसन्धानमा जोड दिने, अवैध प्राकृतिक स्रोतसाधन दोहनलाई पूर्णरूपमा निषेध गर्ने, लागू औषधको खेती, बिक्री वितरण, ओसारपसार र प्रयोगविरुद्ध विशेष अभियान सञ्चालन गरिने योजना बनाइएको छ ।
यसैगरी, प्रहरी जनशक्ति सुदृढीकरण एवं शुन्य सहनशिलताको नीति अवलम्बन गर्ने, प्रहरी कर्मचारीको आचरण व्यवहारमा सुधार गर्ने, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन प्रहरी उत्प्रेरणाका गतिविधि सञ्चालन लक्ष्य लिइएको छ ।