धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ब्यक्तिगतरुपमा झण्डै १० लाख बराबरको शैक्षिक सामग्री दिएका छन् । मेयर हमालले उपमहानगरबाट एक वर्षभरीमा पाउने पारिश्रमिक र त्यसमा केही रकम थपेर शैक्षिक सामग्री खरिद गरेर १७ सामुदायिक विद्यालयका ३ हजार ४८९ जना आर्थिक अवस्था कमजोर भएका छात्रछात्रालाई बिहीबार शैक्षिक सामग्री दिएका हुन् ।
शैक्षिक सत्र २०७९ मा कक्षा ८ को अन्तिम परीक्षामा धनगढीका १७ वटा सामुदायिक विद्यालयको शून्य नतिजा आएको थियो । मेयर हमालले शून्य नतिजा आएका ती विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रत्येक छात्रछात्रालाई कापी, पेन्सिल, कटर र इरेजरलगायतका सामग्री दिएका हुन् ।

मेयर हमालले उपमहानगरबाट २०८० सालको हालसम्मको सेवा सुविधाबाट प्राप्त रकम र त्यसमा झण्डै १ लाख थप गरेर ९ लाख ९२ हजार ६२० रुपैयाँका शैक्षिक सामग्री सम्बन्धित विद्यालयलाई उपलब्ध गराएको बताए ।
यसरी शैक्षिक सामग्री पाउनेमा सरस्वती आधारभूत विद्यालय धनगढी १ का ३४२, नवज्योति आवि धनगढी १३ का ३३५, जनता राष्ट्रिय मावि धनगढी १३ का ७४, भैरवबाबा आवि धनगढी ६ का १२६, सरस्वती आवि धनगढी ९ का १६५, शिव मावि धनगढी ७ का २०८ जना विद्यार्थी रहेका छन् ।
त्यसैगरी, भानु मावि धनगढी १७ का ४०६,, सज्जन मावि धनगढी १७ का २७५, दिपेन्द्र चारपाते मावि धनगढी १६ का ८४, शिवशंकर आवि धनगढी १७ का ६७, सिद्धार्थ आवि धनगढी १४ का १४७,, खप्तडी आवि धनगढी १८ का ३८, इन्द्रोलय आवि धनगढी १८ का १८७, फूलबारी आवि धनगढी १९ का ३४३, नवदुर्गा आवि धनगढी १२ का २३८, दुर्गा आवि धनगढी १२ का १३६, र जनकल्याण मावि धनगढी १० का ३१८ विद्यार्थी रहेका छन् ।
शैक्षिक सामाग्री सहयोग गर्दै मेयर हमालले विद्यालयका शिक्षकहरुलाई अध्यापनमा मात्र ध्यान दिन निर्देशन दिएका छन् । उनले विद्यालयका पूर्वाधार, शैक्षिक सामाग्री, टेबुल, बेन्चहरु उपमहानगरपालिकाले उपलब्ध गराउने बताउदै शिक्षकहरुले आफ्नो विषयवस्तु राम्रोसँग पढाएर राम्रो नतिजा देखाउनुपर्ने बताए ।
धनगढी उपमहानगरपालिकाले आगामी दिनमा नगरभित्र रहेका छात्रा र दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसँगै विद्यालयका पोशाकसमेत उपलब्ध गर्ने जनाएको छ ।