अर्बुद रोग आज संसारभरिमा दिनहुँ बढ्दो स्वास्थ्य समस्याका रूपमा देखापर्न थालेको छ । यो समस्या औद्योगीकृत मुलुकहरूमा मात्र सीमित छैन । मान्छेको बढ्दैगएको औसत आयु, बढ्दो सहरीकरण एवं औद्योगीकरण तथा खाद्य परिकार र जीवन शैलीमा आएका नयाँनयाँ परिवर्तन नै यो रोग फैलिनुको मुख्य कारणका रूपमा रहेको देखिन्छ । तर, समयमै अलि विचार पु¥याउनसके हामी यो भयावह संख्यालाई निकै हदसम्म तल झार्न सक्छौं । यसैगरी, हामीले हाम्रा दैनिक उपभोगका खाद्य परिकारहरू पनि अलि राम्रोसँग निरीक्षण अनि परीक्षण गरेर मात्र खाने गरेको भए कम्तीमा पनि ३३ प्रतिशतसम्म त यो रोग कम गर्न सकिन्छ । कुनै खास कारणले गर्दा मानव शरीरका कोषहरूको अस्वाभाविक वृद्धि हुन गएमा त्यसले क्यान्सरको रूप लिन्छ, जुन नसर्ने रोगहरूमध्ये सबैभन्दा खतरनाक रोग हो ।
यसरी कोषहरूको असन्तुलित वृद्धिले गर्दा शरीरको अन्य अंगमा दबाब पर्नाले शरीरका अन्य स्वस्थ कोषहरूलाई चाहिने पोषणयुक्त तŒवको अभाव हुनगई तिनीहरू कमजोर हुँदै जान्छन् भने रोगग्रस्त कोषहरू शरीरको एक अंगबाट फैलिँदै अन्य भागमा पनि पुग्छन् । यसरी यी क्यान्सरयुक्त कोषहरू श्वासप्रश्वास प्रणालीका अंगहरू, रक्तसञ्चार प्रणालीका अंगहरू, पाचन प्रणालीका अंगहरू र मस्तिष्क केन्द्रसम्म पुगेपछि प्रत्येक प्रणालीको बाटोमा अवरोध उत्पन्न भई व्यक्तिको मृत्यु हुन्छ । क्यान्सर रोग जुनसुकै जनजाति, जुनसुकै उमेर, समूह तथा शरीरको जुनसुकै भागमा र तन्तुमा हुनसक्छ । यसलाई मुख्यतया दुई भागमा बाँड्न सकिन्छ ः कडा ट्युमर र ल्युकेइमियास तथा लिम्फोमास ।
स्तन क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्येको दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो भने पहिलो सबैभन्दा बढी हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा क्यान्सरको वास्तविक तथ्यांक थाहा नभए तापनि मुलुकको प्रमुख अस्पतालका तथ्यांकले यस कुराको पुष्टि गर्छ । तर, वर्तमान अवस्थामा जुन तीव्रताका साथ स्तन क्यान्सरको वृद्धि भइराखेको छ र त्यसअनुसार निकट भविष्यमा स्तन क्यान्सरले महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थान ओगट्ने सम्भावना देखिन्छ । आजको वर्तमान विश्वमा सबैभन्दा बढी अनुसन्धान भइराखेको क्यान्सर पनि स्तन क्यान्सर नै हो । जसअनुसार स्तन क्यान्सरलाई रोकथाम अथवा विभिन्न उपचार पद्धतिद्वारा निको पार्न सकिन्छ ।
अर्बुदरोग शरीरको कोष या कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि, यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो फैलिन्छ र अन्ततः यस रोग मृत्युको कारण नै बन्न पुग्छ । मानव शरीर अरबौं कोषिकाहरूबाट बनेको हुन्छ । सामान्यतः तिनीहरू उमेरसँगै स्वाभाविक र नियमति किसिमले बढ्छन् । जब शरीरमा प्रवेश गर्न सुरू गर्छ, तब शरीरका कोषिकाहरू गुणात्मक संख्यामा अस्वाभाविक किसिमले बढ्छन् र एक किसिमको गिर्खा या ट्युमर बन्छ ।
शरीरका अंगप्रत्यंगका कोषहरू वा कोषिकाहरू अनियन्त्रित र असामञ्जस्य रूपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगहरूमध्येको सबैभन्दा डरलाग्दो र प्राणघातक रोग हो, क्यान्सर । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । अर्बुदरोग उपचार गर्न सकिने एक दुःख हो, जुन पुरूषमा प्रायजसोको उपचार हुन्छ र महिलामा झन सुरुमै पत्ता लगाउन सकिन्छ । त्यसैगरी, विकिरणमा एक्सरे, अल्ट्राभाइलेट किरण, भाइरस माइबिभी, एचपिभी, एचएसभी–१, सिएमआई, भेरिसेला जोस्टर आदि पर्छन् । अनि पोषणको कमीमा भिटामिन ए, ई र सी, खनिज तत्व, फलामजस्ता तामा र म्यागजिन आदि पर्छन् । असुरक्षित यौन व्यवहारले पनि यसमा प्रभाव पार्छ । हर्मोनमा स्ट्रोजेन र टिएसएच तथा वंशाणुगत कारणले पनि भूमिका निर्वाह गरिरहेको हुन्छ ।
स्तन क्यान्सरका ’boutमा वर्तमान विश्वमा सबैभन्दा बढी अनुसन्धान भइरहेको छ
अर्बुद रोगका कोषिकाहरू रक्तनलीहरूमा बढ्छन् र रगतकै माध्यमबाट शरीरका अन्य भागहरूमा फैलन्छन् । अर्बुदरोगका कोषिकाहरू शरीरका अंग या तन्तुहरूबाट निस्कने एक किसिमको रंगहीन क्षार (लिम्फ) बाट प्रवेश गर्छन् र लिम्फ ग्लान्डतिर प्रवाहित हुन्छन् । अर्बुदरोगका कोषिकाहरू सोझै शरीरका एक तन्तुबाट सँगैको अर्को तन्तुमा सरेर पनि बढ्छन् ।
क्यान्सर रोगका लक्षणहरूमा निम्न कुरा पर्छन् । स्तनमा कडा गाँठागुँठी आउनु, शरीरमा भएका कोठीमा परिवर्तन आउनु, पाचन प्रणाली तथा दिसा गर्ने बानीमा परिवर्तन आउनु । लामो समयसम्म खोकी लाग्नु वा स्वर नराम्रो हुनु । मासिक श्राव हुँदा वा अन्य समयमा बढी रक्तस्राव हुनु । कुनै सुनिएको वा घाउ भएको ठाउँ लामो समयसम्म उपचार गर्दा पनि निको नहुनु । बिनाकारण तौल घट्दै जानु । कुनै प्राकृतिक प्वालबाट रक्तस्राव हुनु । कोषहरूको असामान्य किसिमले वृद्धि हुनु । दिशा या पिसाबको आदतमा परिवर्तन आउनु । स्तन या शरीरको अन्य भागमा गिर्खा देखिनु । निल्नमा असजिलोपन महसुस हुनु । मुसा, कोठीमा या दागमा अस्वाभाविक चिर्चिराहट हुनु । घाँटीमा खसखस या स्वरमा धोद्रोपना आउनु स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु । स्वास्नी मानिसको दुवै स्तन समान नभई आकार र बनोटमा फरक देखापर्नु । स्तन सुन्निएर कडा भई दुख्न थाल्नु । स्तनको मुन्टाबाट रगत अथवा फोहोर पदार्थ आउनु आदि हुन् ।
मानिसले सुर्ती विभिन्न रूपमा प्रयोग गर्ने गर्छन् । सुतीको प्रयोगले धुम्रपान तथा चपाउने जसबाट फोक्सो, स्वरयन्त्र, कण्ठ, मुख, खानानली, मुत्रथैली, प्यान्क्रियाज तथा मिर्गौलामा क्यान्सर रोग लाग्ने गर्छ । बढी मात्रामा मद्यपान गर्नाले खानानली तथा कलेजोको क्यान्सर बनाउँदछ । पथ्यसम्बन्धी तत्वहरू पनि क्यान्सर रोगका कारक तत्वका रूपमा लिइन्छ । जस्तैः सुकुटी माछा पेटको क्यान्सरसँग सम्बन्धित छ । त्यस्तै रेसादार खानेकुरा खानाले आन्द्राको क्यान्सर, गाईको मासु उपभोग गर्नाले पनि आन्द्रा–भुँडीको क्यान्सर हुन्छ भने बढी चिल्लो खानाले स्तनको क्यान्सर हुन्छ । व्यावसायिक कारणहरूबाट पनि क्यान्सर लाग्ने सम्भावना रहन्छ । विभिन्न व्यवसायहरूमा कार्य गर्दा त्यहाँबाट निस्केको धुलो, धुवाँ तथा विषाक्त पदार्थहरूले गर्दा क्यान्सर रोग हुनसक्छ । जस्तैः कोवाल्ट–६०, फोस्फोरस–३२ ले गर्दा क्यान्सर हुन्छ । त्यस्तै, एस्वेस्टोसिसले गर्दा फोक्सोको क्यान्सर हुन्छ भने क्याडमिअमले गर्दा फोक्सोमा संक्रमण भई क्यान्सर हुनसक्छ ।
सुर्ती निरन्तर खानाले ओठ, मुखभित्र मात्र नभई शरीरका सबैजसो अंगको कमलो सतह (झिल्ली)लाई निरन्तर प्रभाव पारेर क्यान्सर उत्पन्न हुनसक्छ । सुर्तीजन्य पदार्थका साथै नियमित, बढी मात्रामा एवं लामो समयदेखिको मद्यपानले पनि मुखको क्यान्सरको जोखिम बढाउँछ । धुमपान र मद्यपानले मुखको क्यान्सर १५ गुणा बढाउँछ । मद्यपानका कारण मुखभित्रको तह सुक्खा बनाई क्यान्सर गराउनसक्ने तत्वलाई छिटो असर गराउन मद्दत पुग्छ । मद्यपानले कलेजोलाई असर गरी रोगसँग लड्नसक्ने क्षमता पनि कमजोर पार्छ । मुखको क्यान्सर भएकामध्ये ४० प्रतिशतले धुमपान र मद्यपान दुवै गर्ने गरेका पाइएको छ । एचपिभी–१६ र १८ का साथै भेरिसेला जोस्टरलगायतका भाइरल संक्रमणले पनि मुखको क्यान्सर हुने जोखिम रहन्छ । यसैगरी खानामा आइरन, जिङ्क, तामा र म्यागजिनजस्ता कतिपय लवण तथा खनिज पदार्थको कमीले पनि मुखको क्यान्सर हुनसक्छ । लामो समयदेखिको सुपारी खाने बानी, तिखा दाँत, नमिलेका दाँत, भाँचिएका दाँत, फोहोर मुख, बढी चिल्लो तथा मसलादार खाना पिरो एवं धेरै नुनिलो खानाले मुखमा घाउ गराउने, च¥याउनेगरी मुखभित्रका कमलो भित्री तहलाई विस्तारै क्यान्सर हुने खालको कोषमा परिणत गर्ने देखिएको छ । सूर्यको परावैजनी किरण तथा रेडियो विकिरणको सामीप्यताका कारण पनि मुखको क्यान्सर हुनसक्छ ।
घाउ खटिराबाट बायोप्सी (मासु जाँच) वा मुखको श्राव (¥याल)मा क्यान्सरको कोष छ छैन पत्ता लगाई क्यान्सरको निदान गर्न सकिन्छ । क्यान्सर मुख्यतः स्क्वामस सेल कार्सिनोमा खालको हुने भए पनि उपचारको सही छनोटका लागि कुन चरणको थाहा पाउन जरुरी हुन्छ । त्यसो भएर निदानको क्रममा स्टेजिङ पनि गर्नुपर्ने हुन्छ । मुखको क्यान्सर अन्यत्र वा खाद्यनलीमा फैलिएको भए इन्डोस्कोपी एवं श्वासनलीमा फैलिएको आशंका भए ब्रोङ्कोस्कोपी, छातीको एक्सरे गराउनुपर्ने हुन्छ ।
मद्यपानका कारण मुखभित्रको तह सुक्खा हुनजाँदा क्यान्सर हुने सम्भावना निकै बढेर जान्छ
पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने एक मात्र स्त्रीरोगको क्यान्सर हो । हाम्रो मुलुक दक्षिणपूर्वी एसियाली क्षेत्रमा पाठेघरको मुखको क्यान्सरबाट उच्च मृत्युदर हुनेमा पर्छ । पाठेघरको मुखको क्यान्सर धेरै जनामा हुने रोग हो, जुन ह्युमन प्यापिलोमा भाइरस (एचपिभी), मुख्यतया स्ट्रेन १६ र १८ का कारण हुने गर्छ । यो भाइरस संक्रामकजस्तै हुन्छ । एचपिभी संक्रमण मुख्यतया यौनसम्पर्कका कारण हुन्छ । कहिलेकाहीँ दुईवटा जननांगको स्पर्श, जननांग–छाला वा छाला–छाला सम्पर्कले गर्दा पनि हुनसक्छ अर्थात् यौनसम्पर्कबिना नै पनि हुनसक्छ ।
१६ वर्ष हुनुअघि यौन गतिविधिमा लाग्नु, यद्यपि पाठेघरको मुखको क्यान्सर औसत ४७ वर्षको उमेरमा हुनेगर्छ । उमेरअनुसार यस क्यान्सरको जोखिम दुईपटक बढी हुने गर्छ, ३५ देखि ३९ वर्ष र ६० देखि ६४ वर्षमा । एकभन्दा बढी बच्चा जन्माउनु । धेरै यौन साझेदार हुनु । १० वर्षभन्दा लामो समयसम्म गर्भनिरोधक चक्कीहरू लिनु । धूम्रपान गर्नु । शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनु । सरुवा यौनरोग हुनु (एसटिडी) । तेस्रो लिंगी हुनु । पारिवारिक इतिहासमा कसैलाई पाठेघरको क्यान्सर वा अन्य क्यान्सर हुनु आदि यसका कारण हुन् ।
पाठेघरको मुखको प्रारम्भिक क्यान्सर सामान्यतया लक्षणविहीन हुन्छ । २० प्रतिशत बिरामीमा रोग पत्ता लाग्दासमेत लक्षण नै नदेखिने हुन्छ । तसर्थ, पीडितहरूमध्ये धेरैजसो प्रायः अन्तिम चरणमा अस्पताल पुग्ने हुन्छन् । योनीबाट असामान्य रक्तस्राव हुनु यसको महŒवपूर्ण लक्षण हो । रोगको बढोत्तरीसँगै असामान्य रक्तस्रावको लक्षण लगभग ८० देखि ९० प्रतिशत बिरामीमा हुनसक्छ । ग्लोबल क्यान्सर अब्जर्भेटरी ‘ग्लोबोकान’का अनुसार, यस रोगको उपचार प्रायः हुनसक्छ । तैपनि, यसले विश्वभर लाखौं महिलालाई मारिरहेको छ । सन् २०१८ मा यस रोगका अनुमानित ५ लाख ६९ हजार ८ सय ४७ नयाँ केस भेटिए र विश्वभर ३ लाख ११ हजार ३ सय ६५ जनाको मृत्यु भयो । विश्वव्यापी रूपमा क्यान्सरसम्बद्ध महिला मृत्युको मुख्य कारक पाठेघरको मुखको क्यान्सर नै हो ।
सन् २०१९ मा गरिएको एक सर्वेक्षणअनुसार नेपालमा धुम्रपान गर्नेहरूमा निम्न आय भएका व्यक्तिहरू नै अग्रस्थानमा छन् । जसलाई दिनभरि मजदुरी गरेर बिहान साँझ छाक टार्न हम्मेहम्मे पर्छ । अब सोच्नुस्, उनीहरूलाई यदि क्यान्सरजस्तो घातक रोग लागेको खण्डमा उपचार कसरी गर्छन् होला ? जसको परिवार उनैसँग आश्रित छ भने उनीहरूको हालत के हुन्छ ? पछि पछुताएर उपचारपश्चात् निको हुने रोग होइन यो । राम्रो उपचार पाए वा अगाडिको स्टेजमा थाहा पाएको खण्डमा मात्र निको हुन्छ यो रोग । तर, के त्यसका लागि निम्न आय भएका व्यक्तिहरूले क्यान्सरको लडाइँ लड्न सक्छन् त ? सरकारले विपन्न नागरिक कोषबाट दिने १ लाख त छेउ टुप्पो पनि हुँदैन । भक्तपुर क्यान्सर अस्पतालमा गरिएको सर्वेक्षणमा ८ सय ६५ मध्ये ७ सय ८५ ले उपचार खर्च जुटाउन ऋण लिएका थिए । जसमा ४ सय ८५ जनाले आफूसँग भएको सम्पत्तिसमेत बेच्न बाध्य भएका पाइएको थियो । यसरी क्यान्सर लागेको खण्डमा यसले व्यक्तिको सम्पत्ति मात्र नास गर्दैन, व्यक्तिलाई सामाजिक र मानसिक तवरले पनि उत्तिकै कमजोर बनाउँछ ।
यसरी क्यान्सरलगायत दीर्घकालीन रोगका कारण बिरामी र उसको परिवारमा तनाव, चिन्ता, उदासीनता थप्ने गर्छ । क्यान्सरका उपचाररत बिरामीहरू दुर्बलताका कारण पेसामा संलग्न हुनसक्दैनन् साथै दीर्घकालीन रोग भएका बिरामीको आत्मविश्वास र आत्मबल कम हुने र उपचारका क्रममा हुने अनवरत तनावका कारण मनोवैज्ञानिक जोखिम ज्यादा रहने देखिएको छ । यस्ता मानसिक र मनोवैज्ञानिक तनाव नेपालका विपन्न वर्गका बिरामीहरूमा अझै प्रगाढ देखिन्छ । अझै उनीहरू विभिन्न लाञ्छनासहितका जोखिमपूर्ण सामाजिक वातावरणका पीडित भएका पाइएको छ । यस्ता रोगको उपचारमा हुने बृहत् खर्चका कारण परिवारको जीवनका विभिन्न पाटोहरूलाई असर गर्छ ।






