काठमाडौं । गायनसम्बन्धी बालबालिकाको भारतीय रियालिटी सो ‘जी–टिभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्सन डोना लामाले नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छन् । उनीको यही ६ असोजमा ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा प्रस्तुति हुने आयोजक साधना कला केन्द्रले जनाएको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटका क्रममा यी बालगायिका जेट्सनले भनिन्, ‘म नेपाल आउन उत्साहित छु । यो कन्सर्टमा मैले १२ वटा नेपाली गीत र १२ वटा हिन्दी गीत गाउनेछु ।’ आपूmलाई १२ वटा हिन्दी गीत र १२ वटा नेपाली गीत गाउने सर्तमा जी–टिभीले यो कन्सर्टका लागि अनुमति दिएको पनि उनले बताएकी छन् ।
आयोजक साधना कला केन्द्रका अध्यक्ष एवं संगीतकार मिलन मोक्तानका अनुसार नेपालमा रहेका बालबालिकाको सहयोगको लागि ‘जेट्सन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ गर्न लागिएको हो ।
पत्रकार भेटघाटका क्रममा मोक्तानले भने, ‘काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ हामीले यो कन्सर्ट गर्न लागेका हौं । बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकालाई विद्यालय जान समस्या भएको पायौं ।’ उनले अगाडि थपे,‘ह्वीलचेयरमा उनीहरू विद्यालय जान सक्ने अवस्था देखिएन । यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरूलाई गाडी अथवा भ्यान किन्न सहयोग गर्ने छौं ।’ कार्यक्रममा नेपाली अपांग बालबालिकाले पनि आफ्नो प्रस्तुति दिने उनले बताए ।
यो कन्सर्टका लागि जी–टिभीलाई ६ लाख भारतीय रुपैयाँ तिरेर अनुमति लिएको पनि मोक्तानले बताए । कन्सर्टमा नेपालकै १० जना संगीतवादकको प्रत्यक्ष बादनमा उनले गीत प्रस्तुत गर्नेछिन्, ‘उनले १२ वटा हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरू गाउनेछिन्’, मिलनले भने ।
बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुसीको कुरा भएको बताए ।