काठमाडौं । संगीत महर्षि नातिकाजी श्रेष्ठलाई उनकै गीत संगीतबाट स्रष्टाले सम्झिएका छन् । नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानद्वारा मंगलबार साँझ नाचघरमा आयोजित ‘नातिकाजी संगीत श्रवण साँझ’मा विभिन्न कलाकारले नाजिकाजीद्वारा स्वर तथा संगीतबद्ध गीतहरू गायर उनलाई सम्झिएका हुन् । करिब तीन घण्टा नाचघर नाजिकाजी संगीतमय भयो ।
नातिकाजी स्मृति समाजका अध्यक्ष तथा वरिष्ट संगीतकार शम्भुजीत बासकोटाको सभापतित्वमा सम्पन्न सो सांगीतिक साँझमा नातिकाजीका डेढ दर्जन गीत अग्रजदेखि नयाँ पुस्तासम्मका गायक गायिकाले कार्यक्रममा प्रस्तुत गरे ।
अमूल कार्की ढलीको संगीत संयोजन तथा परिचालनमा सम्पन्न सो सांगीतिक साँझमा प्रत्यक्ष वाद्यवादनमा कलाकारले गीत प्रस्तुत गरे । ओम हरहर महादेव गीतमा समूह गायनसँगै सो सांगीतिक साँझ सुरु भएको हो ।
त्यसपछि निशा देशार, प्रश्ना शाक्य, धर्म मुनिकारलगायतले नेपाल भाषामा सझ्याँ टिकी झ्याँ प्रस्तुत गरे । यसपछि अमूल कार्की ढलीले शुभकामना गीतको धुन प्रस्तुत गरे । समारोहमा मञ्जु थापाले कालीपारे दाइ कति राम्रो, पूजा देवकोटा, सुप्रिम मल्लले हासौं खेलौं रोदीमा बसेर, माण्डवी त्रिपाठीले पहाड बसी गीत प्रस्तुत गरे ।
यसपछि नातिकाजीद्वारा संगीतबद्ध चलचित्रका गीतहरू विभिन्न कलाकारले प्रस्तुत गरे । जसमा गायिका प्रश्ना शाक्यले फुलको थुँगा, रामकृष्ण ढकालले लुक लुक लाग्यो मलाई र कस्तुरीमा बास आउँछ, अनु चौधरीले वनमा फुल्यो फूलैफूल गीत प्रस्तुत गरेर सो साँझलाई संगीतमय तुल्याए ।
समारोहमा लोकगीततर्फ आनन्द कार्कीले पर लैजाउ फुलहरू, सुरेश लामाले सपना भुलाई सारा, सञ्जय तुम्रुकले आजै र राति, देवीका बन्दनाले उकाली ओरालीमा, रचना रिमालले यस्तो पनि हुँदो रैछ गीत गाउँदै दर्शकलाई मुग्ध तुल्याए ।
यस्तै, सोही क्रममा निशा देशारले रानी तलाउ किनारा, विकास राणाले तिमीले त होइन, वेनिशा पौडेलले तिमी आउँछौ भन्ने, स्मिता दाहालले तिमीलाई देखेर र शिव परियारले मर्न बरु गाह्रो हुन्न गीत प्रस्तुत गर्दै कार्यक्रमलाई संगीतमय बनाए ।
समारोहमा मेचु धिमालले नेपाली हामी रहन्छांै कहाँ र अन्त्यमा कलाकारको समूहले यो नेपाली शिर उचाली गीत प्रस्तुत गर्दै सो सांगीतिक साँझ सम्पन्न गरे ।
नातिकाजी स्मृति समाजका अध्यक्ष तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले नेपाली संगीतमा नातिकाजीको योगदान’bout प्रकाश पार्दै नयाँ पुस्तामा उनको सिर्जनालाई पुस्तान्तरण गर्न यो सांगीतिक कार्यक्रम आयोजना गरिएको बताए ।






