शासन देशमा, सन्तान विदेशमा

अहिले दैनिक करिब २ हजार ५ सयभन्दा बढी युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने गरेका विवरण बाहिर आएका छन् । रोजगारी, शिक्षा तथा अन्य उद्देश्यले युवाहरू बिदेसिएका जनाइएको छ । गत आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी रहेको देखिएको छ भने गत वर्ष १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । मुलुकमा युवाहरूको खडेरी पर्दै गएकामा सबैभन्दा बढी चिन्ता भने मुलुकका शासकवर्गले देखाउने गरेका देखिन्छन् ।

प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मन्त्री, सांसद, मन्त्रालयका सचिव, सहसचिव आदिले यस विषयलाई चासो दिएजस्तो गरेर अभिव्यक्तिहरू प्रकट गरेका हुन्छन् । प्रतिनिधिसभाको बैठकदेखि राष्ट्रिय सभाको बैठकसम्म, सभा सम्मेलनका भाषणदेखि चिया चौतारीका छलफलसम्म उनीहरूले यसैलाई प्रमुख मुद्दा बनाएको पाइन्छ । तर, वास्तविकता भने फरक छ । मुलुकका शासकवर्गले युवाहरूलाई मुलुकभित्रै रोक्नुपर्ने अभिव्यक्ति प्रकट गरे पनि धेरैले आफ्ना सन्तानलाई विदेशमै व्यवस्थापन गरिसकेका देखिएको छ भने कति यही प्रक्रियामा अगाडि बढिरहेका पाइएको छ । आफूले मुलुकभित्र शासन गर्ने तर आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन भन्दै विदेशमा पठाउने गरेका उदाहरणहरू प्रशस्तै छन् ।

केही समयपहिले नेकपा माओवादी केन्द्रका एक वरिष्ठ नेताले आफ्नी छोरीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको फोटो भाइरल भएको थियो । छोरीलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका पठाउने क्रममा उनको फोटो अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको थियो । मुलुकमा जनवादी शिक्षाको परिकल्पना गर्दै १० वर्षे सशस्त्र जनयुद्धकालमा होमिएका नेताहरू नै आफ्ना सन्तानको शिक्षा विदेशमा गराउन तल्लीन भएको देखेर धेरैले आलोचनासमेत गरेका थिए । अर्कोतर्फ, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भन्दै कार्यकर्तालाई नारा लगाउन सिकाउने नेताहरूको अमेरिकामोह देखेर आमजनता ससंकितसमेत भएका थिए । यिनै नेताले केही समय नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।

‘अमेरिकी साम्राज्यवाद मूर्दावाद’को नारा लगाउँदै सत्तासीन भएकाको अमेरिकामोह देखेर आमजनता तीनछक परेका छन्

नेपालमा राजनीतिक दलहरूको समझदारीमा अर्थात् मिलेमतोमा जतिपटक सरकार परिवर्तन भए पनि जोजो प्रधानमन्त्री, मन्त्री वा सांसद भए पनि जनताको एउटा मात्र आशा हुन्छ, मुलुकका शासकवर्गले आफ्ना समस्याहरूको सुनुवाइ गरून् । आफूले चुनेका सांसद शिक्षामन्त्री भएका बखत मुलुकमा अब शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनेछ भन्ने आशा गरेका हुन्छन् । सबैको शिक्षामा सरल र सुलभ पहुँच पुग्नेछ । गरिखाने शिक्षाको सुरूवात हुनेछ र मुलुकभित्रै रोजगारीका अवसरहरू सिर्जना हुनेछन् । युवाहरू बिदेसिनेक्रम घट्दै जानेछ । यी र यस्तै आशाका साथ अगाडि बढिरहेका बखत शिक्षामन्त्रीका छोराछोरी नै बिदेसिएको खबर सुनिन्छ भने त्यसभन्दा ठूलो घात के हुनसक्छ होला ? जनताका छोराछोरीको भविष्य बनाउने भन्दै शिक्षामन्त्रीजस्तो जिम्मेवारी पदमा आसीन मन्त्रीकै सन्तानले यहाँ भविष्य नदेखेर बिदेसिएपछि अरूबाट आशा गर्ने ठाउँ नै रहेन ।

सामाजिक सञ्जालमा आफ्नो नातिको फोटो राख्दै ‘मेरो नाति बौद्ध स्तुपाअगाडि तर नेपालमा होइन’ भन्दै आफूलाई गौरवान्वित महसुस गर्ने कुनै साधारण व्यक्ति नभई नेपाल सरकारका पूर्वरक्षामन्त्री हुन् । आफ्ना सन्तान पनि विदेशमा छन् भन्ने सन्देश दिनका लागि उनले सामाजिक सञ्जालको सहयोग लिएको हुनुपर्छ । नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेताका रूपमा परिचित उनी धेरैपटक मुलुकको शासकीय पदमा आसीन थिए । अझै पनि मुलुकलाई कसरी आर्थिक एवं सामाजिक रूपमा सुरक्षित राख्न सकिन्छ भनेर प्रवचनसमेत उनले दिने गर्छन् । तथापि, आफ्नै सन्तान यहाँ सुरक्षित छैनन् भन्ने आँकलन गरेर बेलैमा विदेश पलायन गराएको हुनुपर्छ । यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । मुलुकका अधिकांश शासकका सन्तानहरू अहिले विदेशमा छन् । मुलुककै राष्ट्रपतिका सन्तान मुलुकमा छैनन् । पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री आदिका सबैजसो सन्तानहरू विदेश पलायन भएका विवरणहरू प्रकाशित भएका छन् ।

केही दिनपहिले मुलुकका एक जना चर्चित नेताको देहावसान भएको खबर आयो । देहावसानको खबरले सबैलाई स्तब्ध बनायो । मुलुकले एउटा सच्चा र होनहार नेता गुमाएको भन्दै धेरैले समवेदनासमेत प्रकट गरे । यसैबीच, सो घटना सोमबार राति भएकाले मृत शरीरको अन्तिम संस्कार मंगलबार वा बढीमा बुधबारसम्म हुने धेरैको अनुमान थियो । यता, सरकारले समेत अन्तिम संस्कारको दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, अन्तिम संस्कार हुने दिन भने टुंगो लाग्न सकेको थिएन । यसको प्रमुख कारण मृतक चर्चित नेताका छोराहरू विदेशमा थिए ।

उनीहरू स्वदेश आउन समय लाग्ने भएकाले अन्तिम संस्कारको दिन टुंगो लागेको थिएन । शवले करिब तीन दिनसम्म सन्तानहरू कुरिरह्यो । यसपछि बिहीबार मात्र अन्तिम संस्कार सम्पन्न भयो । एक जना शालीन नेता जसले मुलुकको वर्तमान संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आज मुलुकले उनलाई गुमाएको छ । यसमा सबैको सहानुभूति छँदै छ । तथापि, करिब ५० वर्षको राजनीतिक जीवनमा मन्त्री, सभामुख, राष्ट्रिय सभा सदस्यजस्ता प्रमुख पदमा आसीन व्यक्तिका सन्तानहरू नै मुलुकमा टिक्न सकेका छैनन् भने अन्यको अवस्था के होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

मुलुकको शासन प्रणालीमा प्रत्यक्ष रूपमा देखिने राजनीतिक नेतृत्व मात्र नभई अप्रत्यक्ष रूपमा प्रभाव पार्ने अन्य व्यक्तिहरूका सन्तानसमेत विदेश पलायन भइरहेका देखिन्छन् । मुलुकको शासन व्यवस्थामा गहिरो प्रभाव पार्ने निजामती प्रशासनका उच्च पदस्थ कर्मचारी मुख्य सचिव, सचिव, सहसचिवदेखि तल्लो तहसम्मका कर्मचारीका सन्तानहरूसमेत मुलुकभित्र छैनन् । केही दिनपहिले बहालवाला गृहसचिवले आफ्नी छोरीलाई विदेश पठाउन लागेको समाचार बाहिर आएको थियो । अहिले बहालवाला मात्र नभई अवकाशप्राप्त अधिकांश पूर्वसचिव, सहसचिवहरू विदेशमा रहेका आफ्ना सन्तानहरूसँग रमाइरहेका तस्बिरहरू सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका देखिन्छन् । मुलुकका ठूला उद्योगपति, व्यापारी, व्यावसायिक घरानाका अधिकांश सदस्यहरू अहिले विदेशमा बसोबास गर्ने गरेका छन् । मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक नीति तथा कार्यकमहरू तर्जुमादेखि कार्यान्वयन गर्ने सम्मका अधिकारीहरूले आफ्ना सन्तानहरूलाई नै विदेश जान प्रेरित गरेको देखिन्छ । यसबाट आमसर्वसाधारण जनताको आशामा तुसारापात हुँदै छ ।

स्वदेशमा आफ्ना सन्तानसमेत बस्नयोग्य बनाउन नसक्ने नेता शासकीय पदमा आसीन भइरहने कुनै अधिकार छैन

आफ्नो मुलुकबाट श्रम स्वीकृति लिएर कामका लागि विदेश गएका सर्वसाधारण जनताका छोराछोरीले मुलुकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोगीको भूमिका खेलिरहेका देखिन्छ । मुलुकमा रोजगारीका अवसरहरू नहुँदा श्रमको उपयोगका लागिसमेत उनीहरू बिदेसिन बाध्य छन् । उनीहरूले विदेशमा श्रम बेचेर आर्जन गरेको आम्दानी घरमा पठाउने भएकाले यसले एकातिर घरपरिवारलाई सहज भएको छ भने अर्कोतर्फ मुलुकले प्राप्त गर्ने रेमिट्यान्समा समेत वृद्धि हुँदै गएको छ । अहिले मुलुकको अर्थतन्त्रको मुख्य टेको नै रेमिट्यान्स बनेको छ । अर्कोतर्फ, शासकका सन्तानहरू बिदेसिँदा भने मुलुकलाई घाटा हुने गरेको छ । एक त शासकका सन्तानहरूले मुलुकभित्रै पनि विभिन्न सरकारी कोटा अर्थात् छात्रवृत्तिमा सरकारको लगानीमा पठनपाठन गरेका हुन्छन् ।

सरकारको ठूलो लगानीमा बनेका डाक्टर, इन्जिनियर, वैज्ञानिकजस्ता दक्ष जनशक्ति पलायन हुँदा मुलुकलाई ठूलो क्षति हुने देखिन्छ । यसैगरी, उनीहरू विदेश जाँदा अध्ययनका लागि भन्दै ठूलो धनराशि लिएर जाने गर्छन् । गत आर्थिक वर्षमा मात्र वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ । यसको मुख्य कारण शासक वर्गका सन्तानहरू बिदेसिनु नै हो । उनीहरूले विदेशमा कमाएको दक्षता तथा दौलतसमेत आफ्नो मुलुकमा नल्याउने हुँदा यसबाट मुलुकलाई हानीबाहेक अरू केही हुने देखिँदैन ।

आमसर्वसाधारण जनताका समस्याहरूको सम्बोधन गर्दै मुलुकलाई समृद्धिको बाटोतर्फ डो¥याउने आश्वासन दिलाएर विभिन्न आन्दोलन गरियो । हजारौं नागरिकले आफ्नो ज्यान गुमाए । तर पनि अहिलेसम्म मुलुकले असल नेतृत्व पाउन सकेको देखिँदैन । मुलुकलाई स्वीट्जरल्यान्ड बनाउने सपना देखाएका शासकहरू आफ्ना सन्तानलाई स्वीट्जरल्यान्ड पठाउन मात्र सफल देखिए । जनतालाई धोका दिने अनि उनीहरूको भावनामा खेल्ने नेतृत्वले अब विश्राम लिने बेला आइसकेको छ । उनीहरूले कि त मुलुकलाई आफ्ना सन्तानहरूसमेत बस्नयोग्य बनाउन सक्नुप¥यो, होइन भने राज्यकोषको अर्बौं रुपैयाँ दोहन गर्दै शासकीय पदमा आसीन भइरहने कुनै अधिकार छैन । जसले आफ्नै सन्तानको भविष्य यहाँ नदेखेर विदेश पठाएका छन्, उनीहरूले आमनागरिकका छोराछोरीको भविष्यमाथि खेल्ने कुनै अधिकार रहँदैन । मुलुकको नेतृत्व अब युवावर्गले लिनुपर्ने आवश्यकता देखिएको छ । जसलाई राष्ट्रप्रति प्रेम छ, सम्मान छ । जससँग मुलुक बनाउने हुटहुटी छ । जससँग जोशजाँगर र दूरदर्शी योजना छन् । जसलाई देश–विदेशको ज्ञान छ । जसले आफ्नो मात्र नभई सम्पूर्ण युवाको भविष्य यही मुलुकमा सुनिश्चित छ भनेर विश्वास दिलाउन सक्छन् । त्यस्ता युवाहरूको समूहले मुलुकको बागडोर समात्न अब अबेर गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद