काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित ‘अनेसास कविता महोत्सव २०२३’ मा अमेरिकाको भर्जिनिया निवासी कवि जगन्नाथ पौडेल सर्वोत्कृष्ट भएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यस प्रतियोगिता आयोजना गर्दै आएको छ । यो तेस्रो संस्करण हो ।
अनेसासका अध्यक्ष गोवर्धन पुजाका अनुसार यस महोत्सवका लागि प्रतियोगितामा विश्वबाट ३ सय एकवटा कविता प्राप्त भएका थिए । ती सबै कवितालाई उछिन्दै पौडेलको कविता सर्वोत्कृष्ट भएको हो ।
सो प्रतियोगितामा ललितपुरका ऋषभदेव घिमिरे द्वितीय र न्यु जर्सी अमेरिका निवासी आनन्द श्रेष्ठ, कास्कीका मदन घिमिरे र सिन्धुपाल्चोकका सुमन शिरिषका कविता तृतीय भएका छन् । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपालको निर्णायक समितिले विजेता घोषित गरेका हुन् ।
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा अनेसास बीओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरे । सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका ’boutमा कार्यक्रममा चर्चा गरे ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेले राष्ट्रकविको योगदानको चर्चा गरे । कार्यक्रममा अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए ।
१ सय एक जना कविले कविता वाचन गरेका सो समारोह भर्चुअल माध्यम (जुम)बाट सञ्चालन गरिएको थियो । करिब ५ घण्टा चलेको सो कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी, नेत्रबन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।