काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा अधिकांश विषय पुरानै दोहोरिएर आएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मंगलबार नेपाल–चीनको संयुक्त वक्तव्यमा नयाँ कुरा समावेश भएको पाइँदैन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिलिमे–रसुवागढी २ सय २० केभी प्रसारणलाइन र सन् २०२५ भ्रमण वर्ष मनाउनेबाहेक अरू नयाँ सहमति भएनन् ।
प्रधानमन्त्री दाहालकै भ्रमणका क्रममा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा दुई मुलुकबिच रहेका पारम्परिक सीमा व्यापार बिन्दुहरूलाई पनि पुनः खोल्ने समझदारी भएको जनाइएको छ । चिलिमे–रसुवागढी २ सय २० केभी प्रसारणलाइन निर्माण गर्न दुई मुलुक सहमत भएका छन् । यसबाट त्रिशूलीमा उत्पादित विद्युत् चीन निर्यात गर्न सहज हुनेछ । संयुक्त कार्यान्वयन संयन्त्रले जलविद्युत्, वायु ऊर्जा, सौर्य ऊर्जा, बायोमास र हाइड्रोजनमा सहकार्य गर्ने बताइएको छ । किमान्थांकाबाट ४ सय केभीको प्रसारणलाइन बनाउने विषयमा चीन सकारात्मक भएन । सो विषय दुईपक्षीय भेटवार्तामा पनि प्रधानमन्त्री दाहालले आफ्नो प्रस्ताव पेस गर्न सकेनन् ।
त्यस्तै, लिजी–नेचुङ बन्दरगाह र झाङ्मु–खासा सर्वसाधारणका लागि खोलिएकामा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ । २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका भोटेकोशीको बाढीसँगै कोरोना कालमा बेलाबेला खुल्ने र बन्द हुने भइरह्यो । सो अवधिमा सामान आयात भए पनि आउजाउ भने बन्द थियो ।
त्यस्तै, छेन्ताङ–किमाथांका र रिवु–ओलाङ्चुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ । यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबिच छलफल भएको छ । ‘दुवै पक्ष भूपरिवेष्ठितबाट नेपाललाई भूजडित मुलुक बनाउनका लागि यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर भएका सहयोग लागू गर्न सहमत भएका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ ।
टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन पनि नेपाल र चीन सहमत भएका छन् । सो आयोजनाले नेपाल–चीन सम्पर्कमा नयाँ आयाम थप्ने पनि दुवै मुलुकले जनाएका छन् । त्यस्तै, काठमाडौं चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ ।
त्यस्तै, जिलोङ÷केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको भन्दै चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।
नेपालले चीनलाई एक जोडी गैंडा दिने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । दुई मुलुकबिचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ । नेपालले उपहारका रूपमा अमेरिका, भारत, बेलायत, जर्मनी र चीनलाई गैंडा दिँदै आएको छ ।
नेपालबाट भैंसीको मासु आयात गर्न चीन सकारात्मक देखिएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नेपाललाई भैंसीको मासु निर्यात गर्न स्वीकृति दिने प्रक्रियालाई तीव्रता दिने जनाएको हो ।
नेपाल र चीनबिच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई मार्ग थप गर्ने सहमति भएको छ । दुई मुलुकका प्रधानमन्त्रीबिच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको बताउँदै उडानका लागि सहजीकरण गर्ने सहमति भएको हो । तर, पोखरा विमानस्थलमा चिनियाँ एक्जिम बैंकको ऋणलाई अनुदानमा बदल्न नेपालले प्रयास गर्ने बताइए पनि सहमति हुन सकेन । चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान मात्रै हुँदै आएका छन् । अन्तर्राष्ट्रिय उडान थप गर्ने वातावरणका लागि चीन र नेपालबिच सहमति भएको छ ।