शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

काठमाडौं । सर्वसाधारण जनता र व्यापारीले अर्थतन्त्र सकस अवस्थामा रहेको महसुस गरिरहँदा मुलुकको शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा देखिएको छ । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भयो भने शोधानान्तर बचतमा हुन्छ ।

चालू खाता वैदेशिक मुद्राको कारोबारको एउटा विवरण हो, जसमा व्यापार, रेमिट्यान्स, ट्रान्सफरलगायतको आम्दानी र खर्चको रकम समावेश गरिएको हुन्छ । यसलाई मुलुकको अर्थतन्त्रको सबलता मापन गर्ने एउटा सूचकका रूपमा हेरिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा देखिएको छ ।

यसैगरी, चालू खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ । चालू खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालू प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालू खाता सन्तुलन हो । भदौ महिनामा पुँजीगत ट्रान्सफर ४१ दशमलव ७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको थियो । भदौ मसान्तमा सरकारका विभिन्न खातामा १ खर्ब ९२ अर्ब ५ करोड नगद मौज्दात रहेको छ ।

२०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रहेको थियो । सरकारको खातामा मौज्दात रहेकै कारणले बजारमा अर्थतन्त्र शिथिल भएको हो । सरकारले नगद प्रवाह नगरेकै कारण सर्वसाधारणसँग पैसा नभएको अर्थविद्हरूको भनाइ छ ।

चालू आवको पहिलो दुई महिना साउन र भदौमा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन् । अहिले मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३ दशमलव ९ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ६ अर्ब ५२ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ९३ अर्ब ५९ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ७ प्रतिशत रहेको छ ।

चालू आवको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२ दशमलव ६ महिनाको वस्तु आयात र १० दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । गत भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २९ दशमलव ७, ८६ र २६ दशमलव २ प्रतिशत रहेको छ ।

पछिल्लो दुई महिनामा आयात ५ दशमलव १ प्रतिशतले, निर्यात ७ दशमलव ८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४ दशमलव ७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा ८ दशमलव १९ प्रतिशतले मूल्यवृद्धि भएको छ । सरकारले बजेट वक्तव्यमार्फत महँगी ६ दशमलव ५ प्रतिशत कायम राख्ने दाबी गरेको थियो । साउनमा पनि मूल्यवृद्धि ७ दशमलव ५२ रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवको दुई महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ८ दशमलव १९ प्रतिशत पुगेको हो । भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ९९ प्रतिशत पुगेको छ ।

भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५ दशमलव ४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७ दशमलव ८६ प्रतिशत, तरकारीको १४ दशमलव ५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२ दशमलव ६० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा मात्र करिब १ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

चालू आवको पहिलो दुई महिनाभित्रमा २ खर्ब २८ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा रेमिट्यान्स २२ दशमलव १ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । साउन मसान्तसम्ममा १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकनुसार चालू आवको पहिलो दुई महिनामा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ बिदेसिएको छ । गत वर्ष सोही अवधिसम्ममा १२ अर्ब ७६ करोड रुपैयाँ बिदेसिएको थियो । साउन र भदौमा खुद सेवा आय २५ अर्ब ३४ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १९ अर्ब २६ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५३ दशमलव ९ प्रतिशतले वृद्धि भई ९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ अर्ब ७ करोड रहेको थियो । दुई महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ७६ दशमलव ५ प्रतिशतले वृद्धि भई ३५ अर्ब ६० करोड पुगेको छ ।

यसमध्ये शिक्षातर्पmको व्यय २३ अर्ब ३३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २० अर्ब १६ करोड रहेकामा शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोेड रहेको थियो ।

१४ बैंकको ब्याजदर घट्यो, चारले स्थिर राख्दा दुईले बढाए
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर घटाएका छन् भने दुईवटा बैंकले बढाएका छन् । चार बैंकले भने कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । मंगलबार बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार सिद्धार्थ बैंक, माछापुच्छ«े बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका हुन् ।

नेपाल एसबीआई बैंक र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । विगतमा नेपाल बैंकर्स संघले ब्याजदर निर्धारण गर्दै आएकामा गत साउनदेखि बैंकले नै ब्याजदर निर्धारण गर्न थालेका हुन् । कात्तिकका लागि एभरेस्ट बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ ।

नबिल बैंकले भने व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १० दशमलव शून्य १ प्रतिशत र संस्थागततर्फ ८ दशमलव शून्य १ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसैगरी, प्रभु बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंकले भने व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आईमई बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ ।

कृषि विकास बैंकले व्यक्तिगततर्फ ९ दशमलव ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ७६ प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंकले व्यक्तिगततर्फ १० दशमलव शून्य १ प्रतिशत र संस्थागततर्फ ८ दशमलव शून्य १ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९ दशमलव ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९६ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसैगरी, हिमालयन बैंकले व्यक्तिगततर्फ ११ दशमलव शून्यशून्य ३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव शून्यशून्य ३ प्रतिशत ब्याजदर तोकेको छ । एनआईसी एसिया बैंकले व्यक्तिगततर्फ ११ दशमलव शून्यशून्य ३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव शून्यशून्य ३ प्रतिशत ब्याजदर तोकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन