काठमाडौं । प्रभु जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पा क्लब कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले एनआईबीएल फ्रेन्ड्स क्लबलाई तथा शेर्पाले च्यासल युथ क्लबलाई पराजित गर्दै सफलता हात पारेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको फ्रेन्ड्सलाई १–० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
६२औं मिनेटमा फोडे फोफानाले गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो । त्यसपछि फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो । ब्राजिली साउलो डी अक्विनोले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । यस नतिजासँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले पुलिसलाई पछि पार्दै पाँचौं स्थानमा उक्लन सफल भएको हो । जावलाखेलको ११ खेलबाट १८ अंक पुगेको छ । पुलिसको ११ खेलबाट १७ अंक छ । फ्रेन्ड्स १४ अंक जोडेर नवौं स्थानमा छ ।
त्यसअघि च्यासल युथ क्लबलाई ३–२ ले हराउँदै यति हिमालयन शेर्पाले रेलिगेसन सम्भावनालाई लगभग टारेको छ । लिगमा दोस्रो जित हासिल गर्दै हिमालयन शेर्पा ११औं स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा शेर्पालाई जित दिलाउन विजय श्रेष्ठले २ र त्रिदेव गुरुङले १ गोल गरे । च्यासलका दुवै गोल हायतो वकिनाले गरे । २८औं मिनेटमा विजयले गोल गदैै शेर्पालाई अघि बढाए । त्रिदेवले ३३औं मिनेटमा गोल गरे । वाकिनोले ३७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा शेर्पा २–१ ले अगाडि रह्यो । ५०औं मिनेटमा विजयको दोस्रो गोलबाट शेर्पा अग्रता लियो । वाकिनोले ८९औं मिनेटमा गोल गर्दै अन्तर घटाए पनि हार टरेन ।