नेपालको विकासको दर कम हुनुको पछाडि लगानीको स्तर कम हुनु एउटा मुख्य कारण रहेकोमा कुनै शंका छैन । नेपालमा पुँजीको लागानी सधंै नै कम रहँदै आएको छ । तर, अब श्रमको लगानीमा पनि तीव्र गिरावट हुने छाँटकाँट देखिँदै छ । श्रमको नेपालप्रतिको घट्दो आकर्षण’bout छुट्टै लेख लेखौंला । आज चाहिँ पुँजीको लगानीमा केन्द्रित हुन चाहन्छु । आजको लेखमा म नेपालमा उचित मात्रा र गुणस्तरको लगानी नहुनुका प्रमुख कारण’bout छोटो चर्चा गर्नेछु ।
कोही नेपालमा किन लगानी गरोस् भन्ने प्रश्नको उत्तर पाउन पहिला लगानी के हो र लगानी किन गरिन्छ भन्ने कुरा बुझ्नुपर्छ । लगानी भनेको मानिसले विशुद्ध नाफाको उद्देश्य राखेर आफ्नो सञ्चित पुँजी वा जीवनभरि कमाएको विश्वास र अचल सम्पत्ति धितोमा राखेर लिएको ऋण प्रयोग गरेर कुनै व्यवसाय वा उद्योगमा गरिने खर्च हो । लगानीको लक्ष्य मुनाफा हुनुमा कुनै खराबी छैन किनकि नाफाको लागि गरिने लगानीले नै रोजगारीको सिर्जना गर्छ, कर तिर्न सक्नेगरी आय गर्छ र निर्यातमा योगदान पु¥याएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन मद्दत गर्छ । मुख्य कुरा त मुनाफालाई लक्ष्य नबनाएको लगानी दिगो हुँदैन र उच्चतम उत्पादकत्व पनि प्राप्त हुँदैन । परोपकार र उपकार लगानीको उद्देश्य होइन र हुनु जरुरी पनि छैन । तर, लगानीले त्यस्तो कल्याणकारी उद्देश्य नराखीकनै मानिसलाई जीवनको अर्थ र माने दिने रोजगारी दिन सक्छ, समाजको कल्याण गर्न सक्छ, मानिसलाई आफ्नो कल्याण आफैं गर्न सक्षम बनाउन सक्छ र अरूलाई मद्दत गर्न योग्य बनाउन सक्छ । रोजीरोटी दिन सक्छ, समृद्धिको बाटो र जीवनमा एउटा अर्थपूर्ण उद्देश्य र लक्ष्य दिन सक्छ ।
नेपालमा लगानी कम हुनुको पहिलो कारण त लगानी र लगानीकर्ता (पुँजीपति)प्रति रहेको आम तर नितान्त गलत र नकारात्मक अवधारणा हो । पहिलो कुरा त नेपालको संविधानले नै नेपाल समाजवाद उन्मुख भनेर घोषणा गरेको छ, जुन लगानीको वातावरण थप बिगार्न सजिलै प्रयोग हुन सक्छ । समाजवादमा निजी लगानीलाई दुरुत्साहन गरिनु कुनै अनौठो मानिँदैन । फेरि नेपालमा नाफा, पुँजी, व्यापार आदि कुरालाई अत्यन्तै नकारात्मक दृष्टिले हेर्ने गरिन्छ । धनी र पुँजीपति भन्नासाथ हामी ठग, शोषक, अत्याचारी, विलाशी, दलाल आदि कुरा सम्झिन्छौं । नाफा र ब्याजलाई हामी स्वतः ज्यालाभन्दा अनैतिक आय भनेर बुझ्छौं । आय कसरी गरिन्छ, त्यो नैतिकताको मापदण्ड हुन सक्दैन । ज्यालामा पनि त्यतिकै अनैतिकता हुन सक्छ भने नाफाम त्यत्तिकै नैतिकता हुन सक्छ । विदेशी लगानीलाई निकृष्ट गाली गर्नु हामीलाई राष्ट्रियता लाग्छ । विदेशीको कुरा छोडौं, हामीले लगानीको जातीयकरण पनि गरिसकेका छौं । मारवाडी समुदायले गरेको लगानी गाली गर्नु पनि अब देशप्रेम भएको छ । यस्तो अवस्थामा विदेशी त के, स्वदेशी लगानी पनि नेपालमा किन कसैले गरोस् ? नेपालमा लगानी गर्दा उचित व्यवहार समाजले गर्दैन भने संसारमा अरू हजार ठाउँमा गएर लगानी किन नगर्ने ? लगानीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्न संसारभरि प्रतिस्पर्धा नै छ । पहिलो कुरा त हामीले के बुझ्नु जरुरी छ भने पुँजीको राष्ट्रियता हुँदैन न त यसको कुनै धर्म नै हुन्छ न जात । जसरी पानी जता ओरालो त्यतै बग्छ, जता नाफाको सम्भावना हुन्छ लगानी पनि त्यतै जान्छ । हाम्रो चाहना वा नैतिक मान्यता वा राष्ट्रियतासँग यसको गोरु बेचेको पनि साइनो छैन । जुन देशमा बाह्य लगानीको लागि राम्रो वातावरण हुँदैन, त्यो देशमा स्वदेशी लगानीका लागि वातावरण राम्रो हुने कुरै आउँदैन । भएको स्वदेशी लगानी पनि बाध्यतामा मात्र भएको हुन्छ । स्वदेशी लगानी पनि मौका मिल्नासाथ पलायन हुन तयार भएर बसेको हुन्छ । यसरी बाध्यतामा भएको लगानीको उत्पादकत्व र प्रतिफल दुवै न्यून हुन जान्छ ।
उचित मुनाफाको सम्भावना नहुनु पनि लगानीको वातावरण राम्रो नहुनुको प्रमुख कारण हो । लगानीकर्ताको मुनाफा भनेको वस्तु वा सेवा बिक्री गरेर आउने आयमा लागत घटाएपछि प्राप्त हुने बाँकी रकम हो । मुनाफा बढ्न कि त बिक्री आय बढ्नुपर्छ कि त उत्पादन लागत घट्नुपर्छ । भौगोलिक कारणले ठुलो बजारमा पहुँचको कमी एकातिर छ भने उच्च लागतको कारणले बजारमा प्रतिस्पर्धा गर्ने क्षमता पनि कमजोर छ । केके हो त नेपालमा लगानीको मुनाफा कम हुनुका कारण ? मुख्य चार कारणमा केन्द्रित रहौं ।
कर लगानी कर्ताहरूका लागि एक किसिमको लागत नै हो । लगानी कर्ताले लगानी गर्नुभन्दा पहिला हेर्ने पहिलो सूचक नै यही यो । जति बढी करको दर हुन्छ, त्यति लागत बढ्छ र बजारमा प्रतिस्पर्धा गर्ने क्षमता कमजोर हुन्छ । औसतमा नेपालको कुल आयमा करको हिस्सा २० प्रतिशत हुने गरेको छ । भारतमा यो दर १२ प्रतिशत, चीनमा ९ प्रतिशत र बंगलादेशमा ८ प्रतिशत रहेको छ । नेपालमा यो दर सन् २००० तिर केवल ९ प्रतिशत रहेको थियो । यस्तो कर लागत दोब्बर भएको ठाउँमा कोही किन लगानी गरोस् ? रक्सौल वा बंगलादेशको कुनै ठाउँमा नगरेर, नेपालको वीरगन्जमा कोही किन लगानी गरोस् ? करको दर एकातिर छ भने नेपालको कर प्रणाली संसारकै जटिलतम कर प्रणालीमा पर्छ भन्ने कुरा अर्कोतिर छ । यसले पनि उत्पादन लागत नै बढाउने हो । विश्व बैंकको ‘इज अफ डुइङ् बिजनेस’ रिपोर्टका अनुसार नेपालमा कर औसतमा वर्षको ४६ पटक ३ सय ७७ घण्टा लगाएर तिर्नुपर्छ । दक्षिण एसियामा यो जम्मा २६ पटक २ सय ७३ दिन लगाएर तिर्नुपर्छ । अर्थात् नेपालमा १०० घण्टा बढी समय कर तिर्न लगानी कर्ताले खर्च गर्नुपर्छ । विश्वको उत्कृष्ट कर प्रणाली भएका देशमा त जम्मा दुई÷तीनपटक ५० घण्टा खर्चेर यो काम गर्न सकिन्छ । यस्तो उच्च कर, यस्तो जटिल र खर्चिलो प्रणाली भएको स्थानमा कोही किन लगानी गरोस् ? यो करको दर र प्रणालीमा आमुल परिवर्तन नगरी नेपालमा लगानीको वातावरण हालको भन्दा राम्रो हुनै सक्दैन । हाम्रो घिस्रिने विकासको दर कायम नै रहिरहनेछ ।
कर तिर्दा हुने जटिलतासँग जोडिएको अर्को विषय भ्रष्टाचार हो । नेपाल भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचीको ११०औं स्थानमा रहेको कुरा त चर्चित नै छ । भ्रष्टाचारले पनि अन्ततः उत्पादन लागत बढाउने काम नै गर्छ । लगानीकर्तासँगको अनौपचारिक छलफलमा कुल आयको ३० प्रतिशतसम्म भ्रष्टाचारमा खर्च हुने गरेको बताउँछन् । भ्रष्टाचार उच्च भएको ठाउँमा उच्च गुणस्तरको लगानी पनि आकर्षित हुँदैन नै । न्यून गुणस्तरको लगानीले रोजगारी पनि कम सिर्जना गर्छ, राजस्वमा पनि कम योगदान गर्छ र कालो धनलाई पनि प्रोत्साहन गर्छ । यस्तो उच्च लागत अनि भविष्यमा कानुनी झमेला (जसले फेरि पनि लागत नै बढाउने हो) भएको ठाउँमा कोही किन लगानी गरोस् ?
नेपालमा उत्पादन लागत उच्च हुनुको अर्को कारण नेपालको भौगोलिक स्थिति र यसैसँग सम्बन्धित न्यून गुणस्तरको पूर्वाधार हो । कुनै पनि देशको आफ्नो सीमा हुन्छ, इतिहास र भूगोलले निर्धारण गरिदिएको । नेपाललाई पनि इतिहासले जटिल भौगोलिक अवस्थिति र भूपरिवेष्ठितता दिएको छ । सामान्यतया यातायात खर्च कुल लागतको १० प्रतिशत हुने गर्छ । भूगोलको जटिलताले गर्दा नेपालमा यातायात पूर्वाधारको निर्माण लागत र मर्मतसम्भार खर्च उच्च हुन्छ । राम्रै पूर्वाधार बने पनि उकालोओरालो र घुम्तीले गर्दा यातायात खर्च उच्च हुन जान्छ । अनुसन्धानले जमिनबाट गरिने यातायात पानीबाट गरिनेभन्दा १० गुणासम्म महँगो हुन सक्ने कुरा देखाएको छ । हवाइ मार्गबाट गरिने यातायात त झन् महँगो हुने गर्छ । नेपालका लागि जल यातायातको खासै सम्भावना नभएको त स्पष्ट नै छ । अब कुनै लगानीकर्ताले उद्योग कलकत्तामा नखोलेर किन नेपालमा खोल्ने’bout सोचोस् त ? गरुंगोे सामान आयात गरेर, गरुंगै सामान विदेशमा नै निर्यात गर्दा उत्पादन लागत उच्च त हुन्छ नै । हाम्रो लगानीको सम्भावना हलुका र उच्च मूल्य भएका समान (जस्तै सफ्टवेयर निर्यात)मा हुन सक्छ ।
नेपालले यहाँ गर्न सक्ने भनेको आफ्नो पूर्वाधारको गुणस्तर बढाएर, उद्योग व्यवसायको यातायात लागत कम गर्ने नै हो । राजमार्गहरूका सामान्य लाग्ने खाल्टाखुल्टी मात्र निर्मुल पार्न सके पनि लागत निकै कम हुन सक्छ । सुरुङ मार्ग र बाटो सिधा पार्ने लागत त अति उच्च हुन्छ, जुन तत्काल यथेष्ट मात्रामा नेपालले गर्न सक्दैन । यस्तो अवस्थामा नेपालले करको र भ्रष्टाचारको लागत कम गर्ने कोसिस गर्नु कति महत्वपूर्ण छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।
अन्त्यमा नेपालले सहजै गर्न सक्ने तर निकै विवादित नीतिको प्रभाव’bout केन्द्रित रहौं । भारतसँगको स्थिर विनिमय दरको कारणले नेपालको वास्तविक विनिमय दर अति उच्च हुनुले पनि नेपालमा निर्यातजन्य लगानी धेरै हुन सकेको छैन । नेपालको मौद्रिक नीतिको सम्पूर्ण ध्यान भारतसँगको विनिमय दर स्थिर राख्नमा केन्द्रित रहने गरेको छ । एकातिर मुद्रास्फीति नियन्त्रण गर्नुपर्ने हाम्रो मौद्रिक नीतिलाई यसले कमजोर पार्छ भने अर्कोतिर यसले आयातलाई अस्वाभाविक रूपमा प्रोत्साहन र निर्यातलाई त्यतिकै मात्रामा दुरुत्साहन गर्छ । बजारले विनिमय दर निर्धारण गथ्र्याे भने नेपालको हालको स्तरको व्यापार घाटा हुन सम्भव नै छैन । हो मूल्यमा स्थिरता कायम गर्न भने नेपाललाई गाह्रो पर्न सक्छ । पूर्ण बजार स्वचालित विनिमय व्यवस्थामा जान तत्काल नसकिए पनि, नेपालले आफ्नो आयात र निर्यातलाई हेरेर विनिमय दरलाई विस्तारै समायोजन गर्दै लानु नेपालमा लगानीको वातावरण सुधार्ने एउटा राम्रो उपाय हुन सक्छ । यो काम नेपालले मुद्रास्फीति कम भएको अवसर पारेर थोरैथोरै गरेर गर्न सक्छ । यसले निर्यात र सम्बन्धित लगानीलाई निकै टेवा पुग्ने देखिन्छ ।