लमजुङ । महिला फुटबल खेलाडी साम्बाका रुपमा पहिचान बनाउन सफल सावित्रा भण्डारीलाई जन्म गाउँमा भव्य रुपमा सम्मान गरिएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका– ९ स्थित दिव्य ज्योति युवा क्लबको आयोजनामा सो सम्मान गरिएको हो ।
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा उनले सम्बालाई दोसल्ला, सम्मानपत्र तथा सोही वडाका अध्यक्ष हरिश्चन्द्र थापा, क्बलका अध्यक्ष परशुराम थापालगायतले माला पहिराएर साम्बालाई सम्मान गरिको थियो । सोही वडाको सिम्पानी गाउँमा जन्मएर फुटबल खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनिन र गाउँ, जिल्ला तथा देशलाई चिनाउन सफल भएकी फुटबल खेलाडी साबित्रा भण्डारी ‘साम्बा’लाई भब्य सम्मान गरेको आयोजक क्बलका सचिव रञ्जना राउतले बताइन् ।
उनका अनुसार ‘अनुशासन, पर्यटन प्रबद्र्धन र सामाजिक सद्भाव सहित स्वास्थ्यको लागि खेलकुद’ नाराका साथ आयोजनागरिएको खेलकुदको समापनका अवसरमा साम्बालाई सम्मान गरिएको हो ।
सम्मान ग्रहणपछि साम्बाले आफ्नो बाल्यकालको स्मरण गर्दै आफू पनिगाउँ यस्तै स–साना खेलमैदान तथा खेतका गह्राहरूमा खेलेर आजको स्थान हासिल गर्न सकेको हुँदा भाइ–बहिनीहरूलाई खेलकुदमा उत्साहपूर्वक भाग लिन र त्यस्तो वातावरण बनाइदिनु सम्बद्ध पक्ष तथा अभिभावकवर्गलाई अनुरोध गरिन् ।
सो अवसरमा फुटबल, पुरुष तथा महिला भलिबल प्रतियोगिता, १९ वर्ष कम उमेरका लागि कुर्सी चाल, घैटो फुटाई, केटा र कटीको छट्टाछु्ट्टै बेलुन फुटाई प्रतियोगिता समेत गरिएको आयोजक क्बलकी सचिव रञ्जना राउतले जानकारी दिइन् । उनका अनुसार भलिबल प्रतियोगितामा–७ टिम र महिला भलिबल प्रतियोगितामा ४ टिम तथा पुरुषतर्फ टोल नं. ६ प्रथम र टोल नं. ५ द्वितीय हुन सफल भएको छ । विजेता टोलीलाई पुरुषतर्फ पहिलो र दोस्रो हुने टिमलाई क्रमशः २० हजार र १० हजार र महिलातर्फ पहिलो हुने र दोस्रो हुने टिमलाई क्रमशः चार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । फुटबल प्रतियोगितातर्फ पहिलो हुने टिमलाई दुईहजार पाँच सय रुपैयाँ पुरस्कार वितरण गरिएको उनको भनाइ छ ।
क्लबका अध्यक्ष परशुराम थापाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विशेष अतिथि वडा नं. ९ का अध्यक्ष हरिश्चन्द्र थापा, अतिथिहरू कार्यपालिका सदस्य मधुमाया बगाले, वडाका जनप्रतिनिधिहरू, पूर्ववडाध्यक्ष नारायणबहादुर थापा, माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजना सरोकार तथा समन्वय समिति अध्यक्ष नन्दराज तामाङ, खुदी जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिका अध्यक्ष रामबहादुर थापालगायत खेलप्रेमी दर्शक र टोलबासीहरूको सहभागिता थियो ।






