कुलक्ष्मीको आराधना नगरौं

तिहारले छोपिसकेको छ । आजबाट पञ्चक सुरु भयो । आज यमराजका दूत मानिने कागको पूजा गरिँदै छ भने भोलि कुकुर तिहार मनाइँदै छ । भोलि साँझचाहिँ धनधान्यकी देवी माता लक्ष्मीको हर्षोल्लासका साथ दीपावली गरेर आराधना गरिँदै छ । गोरु, गोबर्धन अनि भाइटीका छँदै छ । नेवार सम्प्रदायले नेपाल सम्वत् फेरिने अवसरमा नयाँवर्ष मनाउँछन् भने आफ्नो शरीर पूजा गरेर आत्मशुद्धीको उपक्रम पनि गर्छन् । वास्तवमै तिहार सुख, हर्ष, स्नेह र कृतज्ञताको चरम अभिव्यक्ति हो भन्दा फरक नपर्ला । मूलतः यस चाँडमा धनधान्यकी देवी माता महालक्ष्मीको आराधना गरिन्छ ।

लक्ष्मीका आठ रूप अर्थात् आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी (राज्यलक्ष्मी), सन्तानलक्ष्मी, वीरलक्ष्मी, भाग्यलक्ष्मी, विजयलक्ष्मी (जयलक्ष्मी) र विद्यालक्ष्मी (ज्ञानलक्ष्मी) को आराधनालाई अष्टलक्ष्मी पूजा भनिन्छ । सनातनीहरूले निरञ्जन निराकार परमात्माको साकार रूप त्रिदेव अर्थात् सृष्टिकर्ताका रूपमा ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ताका रूपमा महेश्वर (महादेव)लाई मान्छन् । यी त्रिदेवका शक्तिका रूपमा तीन देवीको आराधना गरिन्छ । ब्रह् माकी शक्ति महासरस्वती, विष्णुकी शक्ति महालक्ष्मी र महेश्वरकी शक्ति महाकाली दुर्गा हुन् । नवरात्रि अर्थात् दसैंमा यिनै महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना हुन्छ । तिहारमा लक्ष्मी पूजा भनिँदा फगत लक्ष्मीको मात्र आराधना हुन्छ भन्ने भ्रम सिर्जना हुन्छ । तर, ध्यान दिएर हेर्ने हो भने माथि उल्लिखित अष्टलक्ष्मीका विभिन्न आठ रूपको आराधना गर्दा यिनै त्रिदेवका स्त्रीशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना भइरहेको हुन्छ । सरसर्ती हेर्दा दसैं पूजामा तान्त्रिक पूजा आराधनाको प्रधानता पाइन्छ भने तिहार पूजामा सात्विक विधिले प्रमुखता पाएको देखिन्छ । त्यसैकारण तिहारमा शान्त र सौम्य प्रक्रिया देखिन्छ । काठमाडौं उपत्यकामा त तिहारको लक्ष्मी पूजामा समेत तान्त्रिक परम्पराले यथेष्ट स्थान पाएको छ । म आफू आध्यात्मिक पक्षको वा शास्त्रीय विधिको ज्ञाता होइन । एक सामान्य जिज्ञासुका नाताले लागेको कुरोसम्म उल्लेख गरेको हुँ । विद्वान् ज्ञाताहरूबाट यस सम्बन्धमा थप व्याख्या हुने छ भन्ने आशा गरेको छु ।

यस आलेखमा अष्टलक्ष्मीको सविस्तार व्याख्या गर्ने हैसियत पनि म राख्दिनँ । लक्ष्मी माताको आराधनाका सन्दर्भमा केही विद्वतवर्गबाट सुनेको र थोरै आफ्नै विवेकले बुझेनुसार केही भन्दै छु । यो ‘विद्वत टिप्पणी’ होइन, मेरो आफ् नो बुझाइ मात्र हो । सहमत वा असहमत हुने हक सबैमा सुरक्षित छ ।

सामान्य जनमानसले मन्त्र पढ्दै अष्टलक्ष्मीको पूजा आफै गर्छन् वा पण्डितजीले लाए अह्राएनुसार यन्त्रवत भएर गर्छन् । तर, आमबुझाइ के छ भने माता लक्ष्मी धनधान्यकी देवी हुन् र उनको उपासना गरियो भने धनधान्यको वर्षा हुन्छ । यो सोचाइ गलतै पनि होइन । धनलक्ष्मी र धान्यलक्ष्मी रूपमा माता लक्ष्मी धनधान्यकी अधिष्ठात्री नै हुन् । तर के धनलक्ष्मी र धान्यलक्ष्मीको कृपा भएर पुग्छ त ? धनलक्ष्मीको अपार कृपादृष्टि रहेर पनि भोगलक्ष्मीको आशीर्वाद रहेन भने के हुन्छ ? आरोग्यलक्ष्मी माताको क्रूर दृष्टि भयो भने त धनलक्ष्मीले वर्षा गरेको धन भोग गर्ने क्षमता नै हुँदैन ।

हाम्रै ’round रहेका अनि समाजले गन्यमान्यका रूपमा स्विकारेका कैयन् पात्रहरू हेरौं त । कुनैबेला ‘स्पेसल नम्बर वान’ का दुईचार घुड्काका लागि मरिहत्ते गर्थे । काठमाडौंको कुनाकाप्चातिरका निम्न कोटीका भट्टीमा निम्न कोटीका मदिरा ‘वासः’ एक गिलास र दुई टुक्रा पिरो आलुमा चित्त बुझाउनुपर्ने अवस्था थियो । भोग गर्ने लिप्सा थियो र शारीरिक क्षमता पनि थियो, तर दुर्भाग्य ! धनलक्ष्मीको दृष्टि थिएन । जीवनको उत्तराद्र्धमा धनलक्ष्मीको कृपादृष्टि भयो ! अपार धनसम्पत्तिको प्राप्ति भयो । भोग गर्ने लालसा त छँदै थियो, अब साधन पनि भयो । तर, अब यो के अनौठो ! भोग गर्नै नसक्ने भयो । शरीरले धान्नै सकेन । मिर्गौला बिग्रँदा केही खानै नमिल्ने भो । कतै यसो जाउँ भने पनि नमिल्ने ! धनलक्ष्मीको त आगमन भयो भोगलक्ष्मी रुष्ट भइन् !

हाम्रै ’round अर्को पात्र होला । ध्यान दिएर हेरौं । जीवनको ५० वर्ष कट्दा नकट्दै कडा मुटुको व्यथा लाग्यो । अनायासै इहलीला नै समाप्त भयो । भोगको कुरो त लिप्सा मात्रै रह्यो । यहाँ त भोगलक्ष्मी माता अत्यन्तै क्रुद्ध देखिइन् । धनलक्ष्मी माताबाट प्राप्त धनको उपयोग गरेर भगवान् धन्वन्तरीको प्रसाद औषधि सेवन गरेरै भए पनि जीवन भोग्ने लालसासमेत पूर्ण भएन । भोगलक्ष्मी माता चरम क्रुद्ध देखिइन् ! यस्ता व्यक्तिले राज्यलक्ष्मीलाई कजाएको समेत देखिन्छ, तर भोगलक्ष्मीको भने पटक्कै आशीर्वाद भएन ।

लक्ष्मीका आठ रूप अर्थात् आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी (राज्यलक्ष्मी), सन्तानलक्ष्मी, वीरलक्ष्मी, भाग्यलक्ष्मी, विजयलक्ष्मी (जयलक्ष्मी) र विद्यालक्ष्मी (ज्ञानलक्ष्मी) को आराधनालाई अष्टलक्ष्मी पूजा भनिन्छ

अर्को पात्र भेटिएला । जीवनको उत्तराद्र्धमा धनलक्ष्मी र राज्यलक्ष्मी दुवैलाई कजाउन सफल ! शरीर पनि हृष्टपुष्ट ! तर, जवान सन्तानको इहलोक यात्रा अनायासै समाप्त हुन्छ । जीवनसाथीको साथ पनि छुट्छ । जीवनसाथी र सन्तान यस लोकमा रहे पनि दूराचारी र भ्रष्ट निस्कन्छन् । कसैको त ‘कूलदीपक’ सन्तानकै हातबाट आफ्नो र समूर्ण कूलको विनाश अनि अन्त्यमा स्वहत्याको समेत उदाहरण हामी भेट्छौं । अब यस्ता ‘सफल’ व्यक्तिले के भोग गर्ने कस्तो भोग गर्ने ? यो त भोगलक्ष्मी माताको कठोरतम कुदृष्टि हो । यहाँ भोगलक्ष्मीको मात्र होइन सन्तानलक्ष्मीको समेत कृपा नरहेको स्पष्ट हुन्छ । सन्तानलक्ष्मीको कृपा नरहेपछि स्वयं आफू मातृ वात्सल्यबाट विमुख हुनसक्छ, सन्तानहीन हुनसक्छ, सन्तान भएर पनि कुसन्तान हुनसक्छ वा अल्पायु सन्तान हुनसक्छ । सन्तानलक्ष्मीको कृपा नरहनु भनेको भोगलक्ष्मी स्वतः विमुख हुनु हो ।

माता धनलक्ष्मी, धान्यलक्ष्मी, भोगलक्ष्मी र सन्तानलक्ष्मीलाई बैकुण्ठाधिपति भगवान् विष्णुकी शक्ति मान्न सकिन्छ । यी विभिन्न रूपका देवीहरूमध्ये कुनै एकको वा त्यसभन्दा बढीको कृपा रहेन भने जीवन कष्टकर रहन्छ । यस्तो किन हुन्छ त ? माताका यी विभिन्न रूपहरू किन विमुख हुन्छन् त ?

देवाधिदेव महादेवकी शक्ति माता दुर्गा अर्थात् महाकाली पराक्रमकी अधिष्ठात्री देवी हुन् । मेरो विचारमा अष्टलक्ष्मीमध्येकी एक जयलक्ष्मी (विजयलक्ष्मी) र वीरलक्ष्मीको आराधना भनेको तिनै माता महाकालीको आराधना हो । जयलक्ष्मी माताको आशीर्वाद भएन भने पराक्रम हुनैसक्दैन । भइहाले पनि त्यो पराक्रम कुपराक्रम हुन्छ । धनलक्ष्मी, धान्यलक्ष्मी, भोगलक्ष्मी र सन्तानलक्ष्मी विभिन्न कारणले विमुख हुन सक्छिन् ।

कतिपय अवस्थामा त पूर्वजन्मका पापका कारण वा प्रारब्धको पापको परिणामस्वरूप पनि यी माताहरू कुपित भएका हुनसक्छन् । यस जन्मको कुकर्म त छँदै छ । जे जस्तो भए पनि सत्कर्म वा सत्पराक्रमले जयलक्ष्मी माता खुसी हुन्छिन् भन्ने मेरो विश्वास हो । जयलक्ष्मी माताको कृपा रह्यो भने धनलक्ष्मीदेखि सन्तानलक्ष्मीसम्मका लक्ष्मीका स्वरूपहरू खुसी रहन्छन् ।

अर्को शब्दमा भन्ने हो भने सत्कर्म र सत्पराक्रमबाट अत्यन्तै प्रतिकूल परिस्थितिलाई पनि अनुकूल बनाउन सकिन्छ । तर, पराक्रम भएर पनि आसूरी प्रवृत्तिको पराक्रम भयो भने त्यो कुकर्म हुन पुग्छ र अन्ततः जयलक्ष्मी विमुख हुन्छिन् । जयलक्ष्मी विमुख भएपछि अहिलेसम्म उल्लेख भएका कुनै पनि माताहरू अनुकूल हुँदैनन् !

अब आउँछ प्रश्न सत्पराक्रम र सत्कर्म कसरी हुन्छ त ? यो चाहिँ सृष्टिकर्ता ब्रह्माकी शक्ति विद्याकी अधिष्ठात्री देवी महासरस्वतीको आशीर्वादबाट सम्भव छ । विद्यालक्ष्मी (ज्ञानलक्ष्मी) भनेको तिनै माता महासरस्वती हुन् । शुद्धमनले माता ज्ञानलक्ष्मीको आराधना गरियो भने सद्ज्ञान प्राप्त हुन्छ । सद्ज्ञानले सत्कर्म र सत्पराक्रमतर्फ डो¥याउँछ । अनि, धनलक्ष्मी पर्यन्त देवीहरूको कृपा प्राप्त हुन्छ । यदि यी देवीहरू कुनै पूर्वजन्म वा त्यस्तै अदृश्य कारणले कुपित रहेछन् भने पनि शान्त हुन्छन् र जीवन सुखदायी हुन्छ ।

तर, ज्ञान आर्जन गर्दा पनि नियतिले वा कुमतिले गर्दा कुविद्या हाँसिल हुन जान्छ । कुविद्याले गर्दा व्यक्ति आसुरी प्रकृतिको कुपराक्रममा उद्यत हुनपुग्छ । कुपराक्रमले प्राप्त भइहाले पनि दुष्ट धन नै प्राप्त हुन्छ । दुष्ट धन भोग्य हुनै सक्दैन । कुपराक्रमबाट प्राप्त राज्यलक्ष्मी पनि दुष्ट प्रकृतिकै हुन्छिन् र त्यसकारण स्थीर हुन सक्दिनन् । यो सब भनेको कुलक्ष्मीको आराधना हो । कुलक्ष्मी स्थीर र सुखदायी हुनै सक्दिनन् ।

अन्ततः आदिलक्ष्मी महालक्ष्मी माताको कृपाले महामाया मोक्षलक्ष्मीको शरणागत हुनु नै जीवनको उद्देश्य हुनुपर्छ । मोक्षलक्ष्मीको उपासना भनेको महाकाली, महालक्ष्मी र महासरस्वतीको सम्पूर्ण स्वरूपको आराधना हो । कुविद्याबाट सुरू हुँदै कुपराक्रम अनि भोगहीनता र सन्तान सुखमा कमी हुनु भनेको कुलक्ष्मीको आराधनाले गर्दा हो । थोरै सजग रहौं र कुलक्ष्मीको आराधनाबाट बचौं ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ