काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ ।
माओवादी केन्द्रले यसअघि नै पार्टी एकीकरणका लागि भन्दै एकीकरण पछि पार्टीको नाममा रहेको ‘माओवादी केन्द्र’ हटाउन सहमत भइसकेको छ । सो’bout माओवादी केन्द्रले पार्टीभित्र छलफल समेत थालिसकेको छ ।
नाम ‘समाजवादी’ राख्ने सहमति
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच अविश्वासको वातावरण बनेकाले पार्टी एकीकरणमा ढिलाइ हुँदै आएको थियो । अहिले दुवै नेताबीच सम्बन्ध सुधार हुँदै गएपछि पार्टी एकीकरणका लागि सहज बनेको नेताहरू बताउँछन् ।
माओवादी केन्द्र र नेसपाले पार्टी एकीकरणका लागि गठन गरेको वार्ता समितिको गतसाता बसेको बैठकले पार्टी एकता संयोजन समिति गठन गर्दै एकीकरणलाई टुंगोमा पु-याउने सहमति गरेको थियो । सोही सहमतिअनुसार दुवै पार्टीका शीर्ष नेताले संयोजन समिति गठन गर्दै छिट्टै नै एकीकरणको घोषणा गर्ने तयारीमा जुटेका छन् ।
माओवादी केन्द्रले गठन गरेको वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाले गठन गरेको वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठले पार्टी एकतालाई छिट्टै नै टुंगो लगाउने बताए । संयोजन समिति गठन गरेर एकीकरण गर्ने’bout सुझाव आफूहरूले पार्टी शीर्ष नेतालाई दिएको उनीहरूको भनाइ छ ।
दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरूप अगाडि बढ्ने बताइएको छ ।
वार्ता समितिको सुझावकै आधारमा नेसपाले समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष भट्टराईको नेतृत्वमा एकता समायोजन समिति समेत गठन गरिसकेको छ । माओवादी केन्द्रलगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिसँग एकता÷ध्रुवीकरण गर्न समिति बनाउने निर्णय भएको हो । सो समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह समेत रहेका छन् ।
नेसपाका सहअध्यक्ष श्रेष्ठले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष भट्टराईबीच अविश्वास अन्त्य भइसकेको बताउँदै अब छिट्टै नै पार्टी एकीकरण हुने बताए । बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले अविश्वासको अन्त्य भएकाले छिट्टै दुई पार्टीको एकता हुने वातावरण बनेको बताए । दुई नेताबीच कुनै पनि प्रकारको असमझदारी अहिले नभएको उनले बताए ।
‘प्रचण्ड या बाबुराम, उहाँहरूले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढंगबाट बोध गरिराख्नुभएको छ, अब अलगअलग बसेर होइन, एकताबद्ध भएर जानुपर्छ, जुन निष्कर्षमा पुग्नुभएको छ, सिंगो दुईवटा पार्टी पंक्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मूर्तरूप दिन्छ । यो प्रक्रिया पछाडि फर्किंदैन, अगाडि बढ्छ,’ उनले भने ।
क्रान्तिकारी शक्ति छिन्नभिन्न नभई एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेतामा भएको श्रेष्ठको भनाइ छ । एकताबद्ध भएर जाने निष्कर्षमा दुवै नेता पुगेकाले अब एकता प्रक्रियामा विलम्ब नहुने उनले बताए । एकता प्रक्रिया कुनै पनि बहानामा पछाडि नफर्किने ठोकुवा उनको छ ।
‘माओवादी केन्द्र पनि रूपान्तरित हुने र नेपाल समाजवादी पार्टी पनि रूपान्तरित हुने नयाँ आधारमा, नयाँ एकता, नयाँ परिवेशमा नयाँ सोच र चेतनासहितको एकता आजको आवश्यकता हो’ श्रेष्ठले भने, ‘त्यो आवश्यकता दुईवटै पार्टी र दुईवटै पार्टीका शीर्ष नेताले बोध गरिसकेको हुनाले यो प्रक्रिया अगाडि बढेको छ ।’
अहिले प्रतिगामी शक्ति एकताबद्ध हुँदै गइरहेको भन्दै श्रेष्ठले सो कुरा अग्रगामी शक्तिले चिन्ता गर्नुपर्ने विषय भएको बताए । नेपालबाट अब संघीयता र गणतन्त्रलाई कसैले हटाउन नसक्ने उनको भनाइ छ ।






