वेदको भेद

वेदलाई हिन्दु शास्त्रको जननी मानिन्छ । वेद मूलतः चार प्रकारका छन् । जीवनका कर्म नै यी चारवेदबीचको भेद हो । सबैभन्दा पुरानो वेद अर्थात् ऋग्वेद ज्ञान शास्त्र हो । ऋग्वेदको सारमा ‘मनुर्भव’ अर्थात् ‘मान्छे बन’ भन्ने कुरा केन्द्रमा छ । यसमा भगवान वा राक्षसको कुनै पनि स्थान छैन । छ त केवल मानव, जीव, वनस्पति र प्राकृतिक शक्ति ! ऋग्वेदका अनुसार मानव जीवन अति सुन्दर र अनुपम छ किनकि मृत्यु अवश्यंभावी छ । यो मूलतः आमाले गर्भधारणदेखि शिशुसम्म गर्ने ममतामयी वात्सल्यको भूमिकामा आधारित छ । ऋग्वेदका मण्डल र ऋचाहरू यिनै जीवन र जगत्का वरिपरि फन्को मारिरहन्छन् । ऋग्वेद अध्ययनको गहिराइमा आदिदेखि अन्त्यसम्म सिंगो सौर्यमण्डलका ग्रह झैं मण्डल र चन्द्रमा झैं ऋचाले आफंैमा परिभ्रमण र जीवन र जगत्को अविश्राम परिक्रमण गरिरहेका पाइन्छन् ।

वेदमा भगवान् वा राक्षसको कुनै पनि स्थान छैन

यिनैको गति, यति र लयमा मानिसभित्र आत्मिक रूपमा उत्पन्न हुने अहंकार बाल्यकालदेखि नै विजारोपण हुन नदिन यत्नप्रयत्न गरिरहेको पाइन्छ । ऋग्वेदको सार पञ्चमहाभूत तत्वको ज्ञान र शिक्षादीक्षा घनिष्ठ रूपमा जोडिएको पाइन्छ । यसमा वर्णित सञ्जीवनी बुटी र सोमरस मानवको रसाइरहने लोभी ग्रन्थीका चित्ताकर्षण स्रोत रहेका छन् ।

यजुर्वेद कर्मशास्त्र हो । अर्थात् मनुष्यले गर्ने काम यसमा सविस्तार दिइएको छ । यज्ञ र युद्धलाई सत्कर्मका रूपमा प्रस्तुत गरिएको छ । यज्ञ र युद्ध असल कार्यका लागि गरिने कर्मका रूपमा परिभाषित गरिएको छ । यज्ञ कार्यमा गुरु र बाबुको भूमिका सबैभन्दा माथि छ । ज्ञान, सुरवीरता, पराक्रम, प्रतिज्ञा, प्रतिबद्धता र कार्यसिद्धिमा निरन्तरता आदिलाई कर्म मानिएको छ । सही कर्मका लागि बलिदानलाई सर्वश्रेष्ठ कोटीमा राखिएको छ ।

सामवेदमा संगीत, साथीसंगी, प्रेम र गृहस्थ जीवनलाई सुन्दर र कलात्मक ढंगले उनिएको छ । यसका मण्डल र ऋचामा मानिसका राग र अनुराग माधुर्य अभिव्यक्तिका रूपमा माला झैं उनिएका छन् । ती निकै सुन्दर, स्पर्शी, कोमल, अनुभूत हुनेगरी राखिएका छन् । जीवनलाई रसमय, ग्राह्य र अविस्मरणीय बनाउन खोजिएको छ । यसमा मानवको आत्मिक रूपान्तरणमा जोड दिइएको छ ।

अथर्व वेदमा मानिसको शरीररूपी अस्तित्व र जगत्बीचको तादाम्यता अभिव्यक्त गर्न खोजिएको छ । यसबीचमा उत्पन्न विसंगति, रोग, ग्रन्थी, अर्थ संकलन, अपचलन, प्रयोग, दुरुपयोग आदिको अद्वितीय वर्णन छ । औषधी तथा तान्त्रिक कर्म हरेक मण्डलमा भेटिन्छन् ।

सार्थक जन्म, सही कर्म, आनन्दित जीवन र रोगरहित शरीर र अत्याचाररहित जगत्को उन्नयन, रक्षा र गुणात्मक निरन्तरता चारवटै वेदको साझा सार हो ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल