पत्रकार जगत्को अत्यन्त ज्यादा महत्व छ । उनीहरूको योगदानबाट ठुलाठुला अपराधपूर्ण घटनाको उजागर भएर अपराधी दण्डित भएका छन् । पत्रकारिता पेसा आफंैमा अत्यन्त जोखिमयुक्त छ । सबै प्रकारका अपराधको खोजमूलक अनुसन्धान गर्नेदेखि देशमा सुशासन कायम गर्न र विश्व शान्ति कायम गर्न समेत ठुलो योगदान पत्रकारले गरेका छन् । पत्रकारिता पेसागत मूल्यमान्यताभन्दा बाहिर पुगेका उदाहरण समेत प्रशस्त छन् । पत्रकारिताबाट आदर्श र राष्ट्रप्रेमी पदाधिकारीको सामाजिक प्रतिष्ठा धुमिल बनाएका पनि छन् । नीति कार्यान्वयन गर्नेदेखि न्याय सम्पादनलगायतका कार्यान्वयन गर्ने निकायलाई गलत सूचना प्रवाहित गरेर राष्ट्रविरुद्ध अपराधमा समेत पत्रकार संलग्न भएका दृष्टान्त दिन सकिन्छ । त्यसैले पत्रकारिता पेसा जोखिमपूर्ण छ र इमानदार नहुँदा समाज नै प्रदूषित बनाई प्रत्युत्पादक समेत बनेका छन् । तसर्थ, पत्रकारिता पेसालाई मर्यादित बनाउदै पत्रकार हरूको भौतिक, मानसिक र पेसागत सुरक्षा गर्नैपर्ने अवस्थाबाट आधुनिक पत्रकारिता गुज्रिरहेको छ ।
विश्वभर पत्रकारिता पेसा अवलम्बन गरिरहेका ठुलै संख्यामा मारिएका, जबरजस्ती वेपत्ता बनाइएका र समाचारको सम्प्रेसण गर्दाको अवस्थामा हिंसाबाट पीडित बनेका छन् । पत्रकारिताले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध आवाज बुलन्द गराइ दिँदा अपराधीको निसानामा पत्रकार परिरहेका छन् । पटकपटक शारीरिक आक्रमणमा पत्रकार परिरहँदा यस’boutमा विश्वको चासो बढी राखेको थियो । सन् २००९ मा ३२ जना पत्रकारको हत्या भयो । फिलिपिन्समा घटेको यो हत्यालाई नर संहारका नामले सम्बोधन गरिन्छ । यो घटनापश्चात् विश्वभर कार्यरत पत्रकारको पेसा नै जोखिममा रहेको स्पष्ट भयो । यस घटनाले विश्व संस्थाको समेत ध्यानाकर्षण गर्न सफल भयो । यस घटनाबाट प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताका लागि काम गरिरहेका संघसंस्थाले ठुलै आवाज दिन सफल भए । यसलाई संयुक्त राष्ट्रसंघले सुन्न करै लाग्यो । २ नोभेम्बर, २०१३ का दिन पत्रकारिताविरुद्ध हुने सबै प्रकारका अपराधको अन्त्य गर्नेगरी दिवसकै रूपमा ग्रहण गरेको स्थिति छ । तर, पनि पत्रकार आधुनिक समयमा समेत जोखिमको सामना गर्दै आफ्नो पेसागत धर्मको निर्वाह गरिरहेका छन् ।
खोजमूलक पत्रकारिताबाट मात्र अब्बल पत्रकारिता गर्न सकिन्छ । यस प्रकारको पत्रकारिता गर्दा संकटग्रस्त स्थानमा आफ्नो शारीरिक जोखिमसमेतको सामना गर्नुपर्छ । ठुलाठुला द्वन्द्वरत स्थानमा पत्रकारको पहुँच हुनु जरुरी छ । नेपालमै १० वर्षे द्वन्द्व कालमा नेपालका पत्रकारले आफ्नो ज्यानसम्म पनि गुमाउनुपरेको यथार्थता हामीलाई अवगत छ । वर्तमान समयमा इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धको समाचार सम्प्रेषण गर्न खटिएका विभिन्न देशका पत्रकारले आफ्नो ज्यान गुमाएका छन् । त्यहाँ युद्धको नियम उल्लंघन भइरहेको, ठुलो संख्यामा बच्चा र आमनागरिकको हत्या भइरहेको समाचार आफ्नो जिउज्यानको जोखिम मोलेर पत्रकारले विश्वमा समाचार संप्रेषित गरिरहेका छन् । अक्टोबर सातबाट प्रारम्भ भएको यो युद्धमा ३१ जना पत्रकार मारिएको समाचार आइरहेको छ ।
मारिने पत्रकारमा प्यालेस्टाइन २६, इजरायली ४ र लेबनानी १ छन् । यो सूचना पत्रकारको संरक्षणका लागि गठित समिति (सीपीजे)ले अक्टोबरको अन्त्यसम्मको प्रकाशित गरेको हो । मानव अधिकारको हनन हुन नदिन मानव अधिकारको संरक्षणमा कार्य गर्नेले यस प्रकारका युद्धग्रस्त क्षेत्रमा काम गरिरहेका हुन्छन् । मानव अधिकारको संरक्षणमा कार्य गर्नेमा अग्रपंक्तिमा मानव अधिकारवादीका रूपमा पत्रकार देखिएका छन् । सर्वसाधारणलाई द्वन्द्वरत पक्षको ज्यादतीको सूचना सम्प्रेषण गर्ने क्रममा अवरोध सिर्जना हुन्छन् । ¥याली, विरोध कार्यक्रम, हिंसा आदिको घटना घट्दा पत्रकार नै अग्रपंक्तिमा रहेर आफ्नो पेसागत धर्मको निर्वाह गरिरहेका हुन्छन् । उनीहरूलाई त्यस प्रकारको ज्यादतीका घटना सम्प्रेषण गर्न अवरोध सिर्जना हुने गर्दछ । लोभलालचमा फसाउनेदेखि शारीरिक आक्रमणसम्मको धम्कीको सामना पत्रकारले गरिरहनुपरेको हुन्छ ।
मारिएका पत्रकारका ’boutमा अध्ययन गर्ने युनेस्कोको पर्यवेक्षकका अनुसार विश्वमै सन् १९९३ देखि हालका दिनसम्म आइपुग्दा १६२६ जना पत्रकार कार्यरत अवस्थामा मारिएका छन् । सन् २०२३ मा मात्रै ४५ जना पत्रकार मारिएका प्रतिवेदन सार्वजनिक गरेको छ । गतवर्ष ६८ जना पत्रकारको हत्या भएको छ । गाँजामा भइरहेको हालको युद्धमा पत्रकारलाई आफ्नो कर्तव्य निर्वाह गर्न धेरै प्रकारका चुनौतीको सामना गर्नु परिरहेको छ । यस क्षेत्रमा हताहत हुने आमनिहत्था नागरिकदेखि युद्धमा संलग्न भएकाको संख्या १० हजारभन्दा बढी रहेको सूचना सम्प्रेषण भइरहेको छ । पत्रकारले आफ्नो अधिकारको सदूपयोग गर्दै सूचनाको सम्प्रेषण गर्न कठिनाइ भोगेका छन् । किनकि, यस क्षेत्रमा इन्टरनेट, दूरसञ्चारलगायतका आधारशीला ध्वस्त भइरहेकाले रिपोर्टिङ गर्न असहज भइरहेको छ ।
अपराधको खोजमूलक अनुसन्धान गर्नेदेखि देशमा सुशासन तथा शान्ति कायम गर्न पत्रकारले योगदान गरेका छन्
यस कारणले गर्दा त्यहाँका समाचार यथा समयमा सम्प्रेषण भई यथार्थ सूचना प्राप्त गर्न गराउन असहज अवस्था छ । विश्वभरका जनताको सूचान हक हनन हुने स्थिति छ । यस्तै, प्रकारका कठिनाइ युक्रेन–रुस आक्रमण जारी रहँदा पनि उत्पन्न भइरहेको छ । अपराधकर्म गर्दै समाजलाई प्रदूषित बनाइरहेका अपराधीसँग लिइने सूचनादेखि गृहयुद्ध, आतंकवादी गतिविधि घटिरहँदा अग्रपंक्तिमा उभिने पत्रकारले भोगिरहेका समस्या आफंैमा कहालीलाग्दो छ ।
तर, पत्रकारहरू व्यक्ति र संस्थाको लोकप्रियता समाप्त पारिदिन, चरित्रहत्या गर्न लागिपर्दा पत्रकारप्रति हेर्ने जनताको नजर नकारात्मक बन्दै गएको छ । हालै सामाजिक अभियन्ता तारा बराल र पूर्वप्रहरी अधिकृतबीच व्यक्तिगत सम्बन्धको विषयलाई लिएर सूचना सम्प्रेषण गरिरहेका पत्रकारमाथि भएको दुव्र्यवहारको उदाहरण नेपालमै देखिएको छ । व्यक्तिगत चरित्रका विषयले समाजलाई प्रभाव नपारेसम्म यस्ता विषय अपराध हुन सक्दैनन् । सबै व्यक्ति र पेसाकर्मीको व्यक्तिगत जीवन हुन्छ । त्यसलाई समाजमा उजागर गर्दा उनीहरूको अधिकारको हनन हुने अवस्था आइपर्छ । पत्रकारले संकलन गरेका प्रमाणहरू तथ्यमा आधारित नभई सम्प्रेषित गरिदिँदा र अपराध नियन्त्रण गर्ने निकायले यस्ता मामिलालाई पेस गर्नुपर्ने अवस्था बनाइदिँदा निर्दोष मानिस पनि समाजका दृष्टिमा अपराधी सावित भएका छन् । पूर्वमन्त्री तथा संसद जनार्दन शर्माजीले भूकम्प प्रभावित क्षेत्रमा पठाएको राहत सामग्री बीचैमा लुट्न लगाई आफ्नो निर्वाचन क्षेत्रमा पु¥याएको समाचार एक प्रतिष्ठित दैनिक समाचारपत्रले प्रकाशित गरिरहेको छ ।
यसको खण्डन जनार्दनले गरिरहेका छन् । यदि, दैनिक पत्रिकाको सूचना गलत सावित हुँदै गयो भने पनि उनको विगत पृष्ठभूमिका कारण पनि आमनागरिकसामु उनको मानमर्दन गर्दै प्रतिष्ठामा प्रश्न उठ्नेमा सन्देह रहँदैन । यदि सम्बन्धित क्षेत्रका उक्त पत्रिकाका प्रतिनिधिले तथ्यसहितको समाचार सम्प्रेषण गरिदिएको भए उक्त पत्रिकालाई जनताले अझै बढी सम्मान गरिदिने थिए । यदि यो समाचार गलत सावित भयो भने समाचार सम्प्रेषण गर्ने पत्रकारको पेसा जोखिममा पर्ने सम्भावना रहन्छ ।
पत्रकारमा राजनीतिमा आशक्ति देखाउने प्रवृत्ति छ । यदि आफ्नो राजनीतिक आस्थाका आधारमा पूर्वाग्रही भएर समाचार सम्प्रेषण हुन थाल्यो भने त्यस देश वा क्षेत्रको पत्रकारिताले जनविश्वास गुमाउन थाल्दछ । नेपालमा आफ्नो पेसा अवलम्बन गरिरहेका अधिकांश पत्रकार राजनीतिक आस्थाकै आधारमा पूर्वाग्रही समाचारहरू सम्प्रेषण गरिरहेको अवस्था समेत छ । समाचार समेत सबै राजनीतिक दलसँग आस्था राख्ने पत्रिका अध्ययन गरी त्यसको सार पत्ता लगाई पाठक स्वयंले समाचार सत्य, असत्य वा आंसिक सत्य के हो ? निष्कर्षमा पुग्नुपर्ने अवस्था पनि देखिएको छ । नेपालमा पत्रकार इमानदार समेत देखिएका छन् । एक वरिष्ठ राजनीतिज्ञले एक महिलाको यौन शोषण गरिरहेको समाचार सम्प्रेषण तथ्य समेतका आधारमा गरेकोमा उक्त राजनीतिज्ञउपर कारबाही चलेको थियो । उनले अदालतबाट अल्प अवधिमा सफाइ पाए । तर, जनता उनलाई दोषी देख्दै पत्रकारको सूचनालाई विश्वास गरिरहेका छन् । नेपालको १० बर्से द्वन्द्व कालमा पत्रकारमाथि भएको ज्यादतीका घटना पनि कम त्रासदीपूर्ण छैनन् ।
नेपालको फ्रिडम फोरमले यस सन्दर्भमा गरेको अध्ययन प्रशंसनीय छ । यस फोरमका अनुसार १० वर्षको अवधिमा १४ जना र सन् २००६ पश्चात् ९ जना पत्रकारको हत्या भएको स्थिति छ । द्वन्द्वरत पक्ष नै यत्तिखेर सरकारको नेतृत्वमा छ । अनुसन्धान गर्ने सरकारी निकायमा राजनीति व्याप्त छ । पत्रकार मारिएका स्पष्ट हुँदा समेत यसको निष्पक्ष छानबिन हुन सकेको छैन । अपराधीहरू समाजमा सम्मानका साथ हिंडिरहेका छन् । प्रायः सबैजसो अपराधी दण्डहीनताको संस्कृतिमा रमाइरहेका छन् । आफ्नो कर्तव्य निर्वाह गरिरहँदा पत्रकार मारिन्छन्, तर राज्य अपराधीलाई कानुनअनुसार दण्डित गर्न चाहँदैन ।
यसबाट स्वतन्त्ररूपमा कार्य गर्न पत्रकारलाई अत्यन्त असहज भएको छ । हत्या गरिएका पत्रकारका परिवारले न्यायका लागि आवाज उठाइरहेका छन् । पत्रकारको जीवन र अधिकारको कुनै मूल्य नभएको जस्तो व्यवहार सरकार र राज्यले गरिरहेको छ । केही घटनामा अपराधीलाई दण्डित गरिएको छ, केही केस अदालतमा विचाराधीन रहेको अवस्था समेत छ । केही केस सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने गरी राखिएको छ । तर, करिब ९० प्रतिशत अपराधीहरू अनुसन्धानमा समेत तानिएका छैनन् । यो अवस्थाले गर्दा देशको सूचनाको र अभिव्यक्तिको स्वतन्त्रतामै प्रश्न चिह्न खडा भएको छ ।
देशको राजनीतिले पत्रकारको सहयोग पाइरहेको छ । राजनीतिज्ञले सहयोग लिइरहेका छन् । सहयोग लिने क्रममा प्रेस स्वतन्त्रताको नारा र अभिव्यक्ति प्रशस्त दिने गर्दछन् । तर, सरकारमा पुगे र राज्य शक्ति आर्जन गरिसकेपश्चात् पत्रकारमाथि नै ज्यादती गरिरहेका घटनासमेत प्रसस्त छन् । संक्रमणकालीन न्यायको पक्षसमेत छायामा परिरहेको छ । यसै विषयलाई लिएर संसदमा विवादास्पद विधेयक पनि दर्ता भएको छ । सबै प्रकारका अपराधलाई राजनैतिक आवरणमा आममाफी दिनेतर्फ सरकार लागेको छ । राजनीतिक स्वार्थका आधारमा अपराधलाई ढाकछोप गर्ने काम भइरहेको छ । यो विधेयक पारित हुने सम्भावना अत्यन्त न्यून छ । अन्तर्राष्ट्रिय कानुनका प्रावधान र मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ अनुसार नेपाल अघि बढ्न सकिरहेको छैन ।
यो देशका लागि सबैभन्दा ठुलो दुर्भाग्यको अवस्था हो । यिनै कारणले गर्दा विश्वमै प्रख्याति आर्जन गर्न सफल लोकतान्त्रिक व्यवस्था यसका पात्रको कारण असफल हुने अवस्थामा छ । सामान्य मेडिकल व्यवसायीको नेतृत्वमा राजनीतिक प्रणालीमाथि धावा बोली रहेको अवस्था छ । पुराना आन्दोलनकारी दल दिग्भ्रमित र रक्षात्मक बनेका छन् । सबै एकै स्थानमा उभिएर रोइलो गर्दै छन् । तर, पनि आफ्नो गल्ती स्वीकार गर्दै सुशासन र कानुनी राज्यको पक्षमा प्रतिबद्धता व्यक्त गर्न चाहेका छैनन् । यस अवस्थामा समाजका सबै पेसाकर्मी जस्तै पत्रकारसमेत आफ्नो कर्तव्य निर्वाह गर्दा आफंैलाई बलिवेदीमा चढाउनुपर्ने अवस्था वर्तमान अवस्थामा पनि विद्यमान छ । यसले निरन्तरता प्राप्त गरिरहने छ । आफंै कल्पना गरांै पत्रकारिता पेसा कति पवित्र र जोखिमयुक्त छ ?