‘परिवर्तनका संवाहक’ किशोर किशोरीले तय भएका ३ बाल विवाह रोके

जुम्ला जुम्लाको सिंजा क्षेत्रका किशोर किशोरीले तय भएका ३ वटा बालविवाह रोक्न सफल भएका छन् । आत्म सम्मानका लागि सहकार्य ‘क्याड’ नेपालको बालविवाह मुक्त गाउँ बनाउने अभियानमा जोडिएका किशोर किशोरीले हुन लागेका तिन वटा बालविवाह रोक्न सफल भएका हुन् ।

अभियानमा जोडिएका किशोर किशोरीलाई परिवर्तनका संवाहक नाम दिइएको छ । क्याड नेपालले २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा बालबिवाह तथा छाउपडी प्रथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा हिमा गाउँपालिकामा २ र कनकासुन्दरी गाउँपालिका १ गरि ३ वटा बालविवाह किशोर किशोरीको सक्रियतामा रोकिएको क्याड नेपालका कार्यक्रम संयोजक अजय महराले बताएका छन् ।

जुम्लाका आठै स्थानीय तहमा जटिल समस्याका रुपमा रहेको बालविवाह रोक्नका लागि सिंजा क्षेत्रका तिनै पालिकाका किशोर किशोरी, बाल अधिकार समिति, जनप्रतिनिधि जुटेको कार्यक्रम संयोजक महराले बताएका छन् । ‘भविष्यनै अन्धकार बनाउने प्रमुख कारक बालविवाह नै भएकोले यसलाई रोक्न सबै किशोर किशोरी एक जुट भएका छौं, प्रहरी, जनप्रतिनिधि, बाल अधिकार समिति सबैको पहलमा हिमामा तय भएका २ वटा बालविवाह रोक्न सफल भएका छौं ।’ हिमा गाउँपालिकाकि किशोरी बिमु परियारले भनिन् ।

पहिले अशिक्षाका कारण बालबिवाह भएपनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै बिवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि गाउँमा बालबिवाह रोक्ने अभियान चलाइएको कनकासुन्दरी ४ का वडा सदस्य सिंहराज सार्कीले बताए ।

‘किशोर किशोरीमा मोवाईल फोनको प्रयोगले समस्या निम्त्याएको छ, अहिले चेतना अभिवृद्धि हुदै छ, । आत्म सम्मानका लागि सहाकार्य (क्याड) नेपालले बालविवाह मुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटक पटक बालबिवाहका असर, कानुनी सजाय, उपयुक्त समयमा विवाह गर्दाका फाइदाका ’boutमा तालिम दिएर सचेत बनाएको छ । बालविबाह रोक्न निगरानी समिति बनाएर प्रतिबद्ध भएर जुटेका छौं ।’ उनले भने ।

बालबिवाह गर्नेलाई वडाको सार्वजानिक सेवाबाट बञ्चित गर्नेदेखि बिवाहनै बहिस्कार गर्ने संस्कारको विकास भएको छ । कनकासुन्दरी गाउँपालिका वडा नं ४, ५ र ६ का दर्जनौ बस्तीलाई बालबिवाह मुक्त बनाउन स्थानीय जुटेका छन् ।

टोलटोलमा बालबिवाह तथा छाउपडी न्यूनीकरणका लागि अन्तरसंबाद तथा अन्तरक्रिया समेत भएको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेर बहादुर रोकायाले बताए । विगतको तुलना छाउपडी कम भएपनि बढ्दो बालबिवाहलाई रोक्न स्थानीयहरू लागि परेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३