काठमाडौं । अग्रज अभिनेता प्रकाश पाठक हामीमाझ रहेनन् । उनको ७९ वर्षको उमेरमा मँगलबार बिहान ५ बजेतिर ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो । उनी क्यान्सर पीडित थिए । उनको खानानलीमा चौथो चरणको क्यान्सर भएको ६ महिनाअघि पुष्टि भएको थियो । सोही क्यान्सरले उनको ज्यान लिएको परिवारजनले जनाएका छन् ।
मँगलबार मध्यान्नमा उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनलाई छोराले दागवत्ति दिएका थिए । पाठकका श्रीमती, एक छोरा र एक छोरी छन् ।
दाहसँस्कार अघि उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । चलचित्र कलाकार संघको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
उनको निधनप्रति नेपाल चलचित्र कलाकार संघ दुःखी भएको संघका अध्यक्ष मोहन निरौलाले शोक मन्तव्यका क्रममा बतए । सो क्रममा कलाकार संघका सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायत विभिन्न चलचित्रकर्मीहरुले उनको पार्थिव शरीरमा फुलगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रकाश पाठकको जन्म २००१ सालमा विराटनगरमा भएको थियो । २०४०को दशकबाट उनी नेपाली चलचित्रमा अभिनेताको रुपमा उदाएका थिए । प्रकाश पाठकले करिब तीन दशक नेपाली चलचित्रमा योगदान दिएका थिए । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धनलगायतका थुप्रै चलचित्र तथा विभिन्न टेली चलचित्रमा उनले अभिनय गरेका थिए ।






